काठमाडौँ — टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परेपछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको हो ।
पर्यटकका लागि विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न निस्किएको पाँच जनाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेको यो पनडुब्बीमा पाँच यात्री सवार थिए । यसमा पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश समावेश थिए ।
पनडुब्बीमा यस घोषणासँगै पाँच दिन लामो खोज अभियान समाप्त भएको अमेरिकी तट रक्षक गार्डले बताएका छन् । रोयटर्सका अनुसार क्यानाडाली जहाजबाट खटाइएको रोबोट ड्राइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो । अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले भने ६.७ मिटरका टाइटनका पाँच वटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए ।
संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनिकको पर्यटक बोकेको पनडुब्बी गत आइतबार बिहान सम्पर्क विच्छेद हुन पुगेको थियो । समुन्द्रको गहिराइमा प्रवेश गरेको २ घण्टा ४५ मिनेटमा नै सम्पर्क विच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतबार देखी नै पाँच राष्ट्रका पनडुब्बी विज्ञहरूले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरू फेला परे पछि विस्फोट भएको पुष्टि भएको थियो ।
टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ । आजभन्दा ११२ वर्षअघिको एउटा चकमन्न रातमा अधिकांश यात्रु मस्त निद्रामा रहेका बेला अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि टाईटानिक जहाज डुबेको थियो । यो आफ्नो समयको सबैभन्दा ठुलो जहाज थियो ।
यसमा सवार २२०० यात्री र चालक दलका सदस्यमध्ये १५ सयभन्दा बढी मारिएका थिए । जुन जहाज १९८५ अर्थात ७३ वर्ष पछि पत्ता लागेको थियो । पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाज देखाउनका लागि पर्यटकहरू पठाउन थालिएको थियो । जसमध्येको कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु आठ दिनको यात्राका लागि साढे दुई लाख डलर अर्थात करिब तीन करोड २८ लाख रुपैयाँभन्दा बढीको टिकट किन्नुपर्ने हुन्छ ।