२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

काठमाडौंमैँ बढ्न थाले सर्पदंशका बिरामी

काठमाडौं : गर्मी र बर्खासँगै तराईका साथै काठमाडौं उपत्यकामा सर्पदंशका बिरामीको संख्या बढेको छ।

 

 

पछिल्लो केही हप्तायता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १२ जना सम्म सर्पदंशका बिरामी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुग्छन्। अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अन्य मौसममा भन्दा असार र साउनमा सर्पदंशका बिरामी धेरै नै आउँछन्।

‘असार र साउन महिनामा सर्पदंशका बिरामी बढ्छन्। हाम्रो अस्पतालमा आउने काठमाडौं, ललितपुर, भक्तपुर आसपासका बिरामी हुन्। सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु नपर्ने भए पनि सर्पले टोकेर अलि गम्भीर खालका बिरामीलाई भने भर्ना नै गरेर उपचार गर्नुपर्छ’, उनले भने, ‘तराईका सर्प जस्तो उपत्यकाको सर्प त्यति विषालु त हुँदैनन्, तर जुन बिरामीको रगतमा सर्पको टोकाइबाट अलिक खराबी देखिन्छ। उनीहरूलाई भने १५ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्छ।’

सर्पदंशका बिरामी अझ बढ्दै जानेसमेत उनले बताए। काठमाडौं आसपासका पहाडी भेगमा देखिने सर्प तराई भेगमा देखिनेको तुलानामा कम विषालु हुने भए पनि सर्पले टोक्नासाथ स्वास्थ्य संस्थामा पुग्नुपर्ने समेत डा. पुनको भनाइ छ। ‘काठमाडौं उपत्यकासहित पहाडी भेगका सर्प तराईमा पाइने सर्पको तुलनामा कम विषालु हुन्छन्। तर टोकेको खण्डमा छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा पुग्नुपर्छ’, उनले भने।

तराईमा पाइने सर्पले टोक्यो भने छिटो मुटु, मस्तिष्क तथा मिर्गौलामा छिटो असर गर्छ भने पहाडी भेगमा पाइने सर्पको टोकाइले शरिरमा रगत जम्ने समस्या धेरै छिटो देखाउँछ। त्यसैले सकेसम्म छिटो चिकित्सको निगरानीमा उपचार गराउनु पर्छ। विषालु सर्पको टोकेका बिरामीलाई ‘एन्टी स्नेक भेनम’ इन्जेक्सन लगाएर उपचार गर्नुपर्ने समेत उनले बताए। ‘पहाडी भेगका सर्पले टोकेमा बिरामीलाई एन्टी स्नेक भेनम’ इन्जेक्सनको खासै प्रयोग गरिँदैन। तराईका सर्पदंशका बिरामीको लागि यो इन्जेक्सन प्राय: अनिवार्य हुन्छ। पहाडी भेगमा पाइने सर्पको टोकाइले शरिरमा रगत जम्ने समस्या धेरै छिटो हुने हुँदा सोही अनुसारको उपचार हुन्छ’, उनले भने।

बर्खामा सर्पदंशको जोखिम धेरै हुने भएकाले वरपरको घाँस झारपात काटेर सफा राख्न, घर वरपरका दुलो टाल्ने, राति टर्चलाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन र गोडा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन विज्ञ सुझाव दिन्छन्। यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्न र सधैँ झुल टाँगेर सुत्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भनेको छ। मन्त्रालयका स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तराई क्षेत्रमा विषालु सर्पको जोखिम धेरै हुने भएकाले सतर्कता अपनाउनु पर्ने बताउँछन्।

सर्पले टोकिहाले सम्भव भएसम्म जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्‍याउनु पर्छ। हालसम्म देशभर सर्पदंशका बिरामीको उपचारको लागि प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ इन्जेक्सन को हालसम्म अभाव नभएको मन्त्रालयका स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा.अधिकारीले बताए।  ‘अक्सर तराई क्षेत्रमा सर्पदंशका बिरामीको उपचारको लागि एन्टी स्नेक भेनम’ इन्जेक्सन अनिर्वाय हुन्छ’, उनले भने, ‘यो मौसममा सर्पदंशका बिरामी बढ्छन्।  सोही अनुसार हामीले एन्टी स्नेक भेनम इन्जेक्सन पठाएका छौँ। हालसम्म यो इन्जेक्सन अभाव भयो भन्ने सूचना आइपुगेको छैन।’

नेपालमा हरेक वर्ष सर्पदंशबाट ३० जनाभन्दा बढीको ज्यान जाने गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष झण्डै ५४ लाख मानिस सर्पको टोकाइबाट पीडित हुन्छन्। यसमध्ये ८१ हजार देखि एक लाख ३८ हजार जनासम्मको मृत्यु सर्पदंशबाट हुने अध्ययनले देखाउँछ। २७ लाख मानिसमा अंग काट्नुपर्ने वा अन्य शारीरिक समस्या देखापर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार