काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्मा दबाबमा देखिएका थिए । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।
आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गर्दै शर्माले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको र यसप्रकारका हजारौं छानबिन गर्न आफु तयार रहेको बताएका थिए । शर्माले आफूले नैतिकता नगुमाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई जवाफ फर्काएका छन्। मन्त्रीमा बस्ने र संसद्मा बोल्ने नैतिकता गुमाएको भन्दै एमाले सांसदहरुले उनलाई बहिष्कार गरेपछि शर्माले जवाफ फर्काएका हुन ।
उनले एमालेले आफ्नाविरुद्ध राजनीतिक पूर्वाग्रह देखाएको बताए। उनले आफ्नाविरुद्ध कथा बनाइएको दावी पनि गरे । एमाले सहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधबारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार गरेको थियो ।
आजै एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदले ११ सदस्यीय छानविन समिति गठन गरेको छ । १० दिन भित्र प्रतिवेदन बुझाउन समितिलाई संसदको निर्देशन छ । माओवादी केन्द्रभित्र पनि शर्माको राजीनामा माग गर्दै विरोधका आवाज उठेका थिए । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा नदिए पार्टी छाड्ने मनस्थितिमा केही नेता पुगेपछि पार्टी नेतृत्व समेत उनको राजीनामा माग्ने अवस्थामा पुगेको थियो ।
Leave a Reply