काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको दाम्पत्य जीवनमा धाँजा फाटेको छ । उनीहरू अब प्राविधिकरूपमा मात्रै पति-पत्नी छन् ।
दुवै आ-आफ्नो करिअरको ‘पिक’ मा रहेको बेला २०७४ सालमा शरद र निशाबीच विवाह भएको थियो । त्यसको एक वर्षपछि उनीहरूले पहिलो सन्तानका रूपमा पुत्रलाभ गरे । निशाले अमेरिकामा सन्तान जन्माएकी थिइन् ।
सुरूमा ठीकठाक चलिरहेको यो जोडीको दाम्पत्य सम्बन्धमा बिस्तारै दरार आउन थाल्यो । पतिसँग असमझदारी बढेपछि निशा माइतीघरमा बस्न थालिन् । २०७९ सालमा निशाले जिल्ला अदालत काठमाडौंमा अंश तथा मानाचामलको मुद्दा दायर गरिन् । त्यसको फैसला अदालतले गत मंसिर २८ गते सुनाएको थियो ।
निशाले आफ्नो निवेदनमा शरदबाट दुई तिहाइ (तीन भागको दुई भाग) अंश पाउनुपर्ने मागदाबी गरेकी थिइन् । शरदले एक तिहाइमात्रै अंश दिन तयार रहेको जवाफ दिएका थिए । अदालतले मझदारमा बसेर फैसला गर्दै शरदको सम्पत्तिबाट एक तिहाइ निशाले पाउने र अर्को एक तिहाई नाबालग बच्चाको लागि छुट्याउन भनेको छ । नाबालग छोराको अंश उनी साबालग नहुञ्जेल बाबु र आमा दुवैको संरक्षणमा रहने फैसला न्यायाधीश शिशिरराज पाण्डेले गरेका छन् ।
अदालतको फैसला कार्यान्वयन भइसकेको भने छैन । निशाले आफू अमेरिकाबाट भर्खरै नेपाल आएको हुँदा कार्यान्वयनमा ढिलाइ भएको बताइन् ।
‘फैसला हुँदा म अमेरिकामा थिएँ । केही दिनअघिमात्रै फर्केको हुँ । अब बल्ल कार्यान्वयनको प्रक्रियामा जाँदैछ,’ उनले भनिन् ।
स्मरणीय यो छ कि निशा र शरदबीच सम्बन्ध विच्छेद भएको छैन । निशाले सम्बन्धविच्छेदको मुद्दा नहालिकन अंश मुद्दा हालेकी हुन् । आफैं कमाउने हुँदा हुँदै श्रीमान्को सम्पत्तिमा लोभ देखाएको भनेर उनीप्रति विभिन्न नकारात्मक टिकाटिप्पणीहरू पनि भइरहेका छन् । यसमा निशाले चित्त दुखाइन् ।
उनी भन्छिन्, ‘विवाहपछि श्रीमान् र श्रीमतीसँग रहेको सम्पत्ति दुवैको साझा हुन्छ । दुवैले कमाएको पैसा पनि सगोलमा जान्छ । कुन कसले कमाएको हो भन्ने छुट्याउन सकिन्न । छुट्टिँदाखेरि त्यो आधा-आधा हुने हो । श्रीमान्को मात्र होइन, मेरो पनि आधा हुन्छ । त्यही कानूनी व्यवस्थाका आधारमा अदालतले फैसला सुनाएको छ । मैले सम्पत्तिमा लोभ गरेको भनेर व्याख्या गर्नु कानूनको अज्ञानता हो जस्तो लाग्छ ।’
आफ्नो एक मात्र सन्तानको भविष्यका लागि आफूहरूले सम्झौता गरेको निशा बताउँछिन् ।
‘बाबुको भविष्यको सुरक्षा र आर्थिक स्थायित्वको मात्रै मलाई चिन्ता हो । हामी पटकपटक छलफलमा बस्दा पनि बाबुलाई नै केन्द्रमा राखेका छौं । हामीलाई एक अर्काको सम्पत्ति चाहिएको छैन । शरदले पनि मेरो नलिने र मैले पनि शरदको नलिनेमा हामी क्लीयर नै छौं । त्यसैले अहिले जसको नाममा आए पनि पछि सबै बाबुकोमा जान्छ भन्ने समझदारी हो ।’
डिभोर्सको मुद्दा नहालिकन अंश मुद्दा हाल्नुको कारण प्रष्ट्याउँदै उनले भनिन्, ‘म र शरदमात्रै भएको भए यो मुद्दा नै जाँदैनथ्यो । तर, सन्तान भएपछि उसको चिन्ता हुन्छ । भोलि गए सन्तानको बिचल्ली त हुनु भएन नि ! हामी दुईजना अलग हुँदा उसलाई पर्न सक्ने मनोवैज्ञानिक असरबारे पनि हामी सचेत हुनुपर्छ । हामी आफ्नो अनभिज्ञतामा हिँडिरहँदाखेरि भोलि मलाई फ्याट्ट केही भयो भने छोराको अभिभारा कसले सम्हाल्छ ? एउटा सन्तानको आमा भएपछि यस्तो खालको जिम्मेवारीवोध हुँदो रहेछ । कुनै पनि अभिभावकले यो मोडसम्म आइपुग्दा के-के बितेको होला भन्ने सबैले महसुस गर्नसक्ने कुरा हो ।’
निशाले आज सामाजिक सञ्जालमार्फत पनि आफ्ना केही भनाइहरू राखेकी छन् । श्रीमान्सँगको मुद्दाबारे पहिलोपटक सार्वजनिकरूपमा उनले टिप्पणी गरेकी हुन् ।
श्रीमान् र श्रीमतीले एक-अर्काबाट एक पैसा पनि नलिने र दुवैको भाग सबै छोराको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अघि बढेको उनले जानकारी गराएकी छन् ।
निशाले नेपाली र अंग्रेजीमा लेखेको स्टाटस यस्तो छः
यो मुद्दा बहिर अएदेखि विभिन्न टिका टिप्पणी र गाली पनि खादै आएको हुँदा, मेरा केही कुरा-
१. कानूनमा आमा र बुवा दुईटैको सबै कुरा भाग लाग्ने व्यवस्था छ । मैले किन कानूनी उपचार लिनुपर्यो भन्ने कुरा व्यक्तिगत हो ।
२. मेरो छोराको बुवा र मैले एक अर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ ।
३. तसर्थ एक अर्काको धन सम्पत्तिमा दुईटैको नजर नरहेको कुरा छ ।
४. छोरा र छोरी लाई बराबर अंश दिने प्रावधान छ । तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा पनि नितान्त व्यक्तिगत हो ।
५. ‘leave in peace’ गरेपछि ‘Rest in peace’ । मर्नुअगाडि मेरो एकमात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा म ढुक्कसँग मर्न पकाउने मात्र होईन, यो कुरामा मलाई गर्व पनि छ ।
६. बाँकीका कुरा- कानून संशोधन भएर धेरै अगाडि आइसक्यो, कानूनी उपचार लिएर कुराहरू सुल्झाउने प्रवृत्तिलाई ‘normalize’ गरौं ।
समाजमा हानी नहुने गरी, आफ्नो सन्तानलाई राम्रो वातावरणमा हुर्काउन पाउनु सबै अभिभावकको कर्तव्य र स्वतन्त्रता पनि हो । यस विषयमा धेरै कुराहरू गर्न सकिन्छ । अरुको जुत्ता नलगाएसाम त्यो जुत्ताले दिने पीडाको (experience) हुँदैन । त्यसैले कृपया आफ्ना बालबालिका र नाति नातिननको भविष्यको लागि के-के गर्नुपर्छ निर्धक्क रूपमा गरौं र गर्न दिऊँ । अझ पनि कानूनमा संशोधन गर्नुपर्ने थुप्रै कुराहरू बाँकी छन । भएकै कुराहरू बुझेर, उपयोगमा नल्याएसम्म सामजिक रूपान्तरण धेरै सुस्त गतिमा अगाडि बढ्छ ।
विगतको दुई वर्ष मेरो लागि व्यक्तिगत रूपमा धेरै गाह्रो भएको छ । अब यो समाप्त भएकोमा म खुशी छु । बाबुलाई राम्ररी हेरचाह गरिएको छ । आमाबाबु दुवैको पूर्ण ध्यान र दुई शान्त वातावरणमा उसले अझै राम्रो हेरचाह पाउनेछ भन्न सायद आवश्यक छैन । एक सक्रिय र एक निष्क्रिय अभिभावकको विषाक्त वातावरणमा बच्चालाई एक्सपेज गर्नु आवश्यक छैन ।
बच्चा दुबैको माया र हेरचाहको हकदार हुन्छ । यदि परिवारलाई सँगै राख्ने हरेक प्रयास असफल भयो भने, तपाईँ टुट्नुअघि नै तपाईँको ऊर्जा सेलाउँदै गयो भने यदि सबैका लागि राम्रो हुन्छ भने नरकको बाटो रोज्नु परे पनि रोज्नुहोस् । यसले तपाईँलाई तोड्छ, तपाईँको सामु हजार प्रश्न खडा गर्छ र धेरै चीजहरूमा शंका उत्पन्न गर्छ तर तपाईँ बाँच्नु हुनेछ । तपाईंको बच्चाको मायाले तपाईंलाई राम्रो ठाउँमा तान्नेछ । यो मेरो अनुभव हो । परिवारको सपोर्ट लिएको छु । परम कृतज्ञता । मैले बालबालिकाको मनेपरामर्षादाताको सहयोग लिएको छु र अझै पनि लिईरहेको छु । मैले अँध्यारो दिनहरू पार गरें । मेरो मानसिक र भावनात्मक ठाउँहरू कम गरेँ । सबै कुरालाई प्राथमिकता दिएँ । कथित सुखी परिवारको मेरो मूल विश्वासमा काम गरें । धेरै भावनाहरू जस्तै धेरै तहहरूमा असफल हुनु र आमाबाबुहरूमा लाग्ने दोषहरूमा काम गरे । सबै गरे । यो सजिलो थिएन । तर, मैले छोडेको ठाउँबाट जिन्दगी उठाउन म तयार छु । काला दिनहरू र दु:खहरूका कारण नै जीवन सुन्दर छ । पहिलेभन्दा बलियो भएर सकारात्मकताले भरिएको नरम हृदय र दिमागको साथ अगाडि बढ्दै जानेछु मेरो उत्कृष्ट साथीसँगस् मेरो छोरा !