विष्णुकुमार आले , अर्घाखाँची ।
अर्घाखाँची पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो। समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ।
वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि २३ किलोमिटर टाढा मालारानी गाउँपालिकामा पर्दछ। तर मालारानी मन्दिरमा आन्तरिक तथा बाहृय पर्यटक भित्राउने उदेश्यले सदरमुकाम सन्धिखर्कबाट १४ किलोमिटर छोटो बाटो मालारानी पुग्न सकिने गरि नयाँ मोटरबाटो निर्माण भैरहेको छ ।
मालारानी ३ र ६ वडाको सीमाक्षेत्रमा अवस्थित मालारानी मन्दिरमा भगवानको पूजाआजा र दर्शन गर्दा मानवीय मनोकांक्षा पूरा हुने विश्वासका साथ श्रदालुहरुले बोका, राँगा, कुभिण्डो आदिको बलीसमेत चढाउने चलन रहेको छ।
मालारानी नाम र महत्व
किवंदन्तीअनुसार प्राचिन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला माला असाध्यै राम्री सुन्दर भएकाले उनलाई सबैले रानिको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको धार्मिक मान्यता छ। मालारानी मन्दिरमा वडादशैँको त्रयोदशीका दिन ठूलो मेला लाग्दै आएको छ।
स्थानीयका अनुसार त्रयोदशीको मध्यरातमा मालारानीको आश्रयस्थलबाट स्वतस् स्फुर्त बाजा बजेको आवाज सुन्न पाइन्छ। मन्दिरमा दशैंको नवदुर्गा भरी र चैतेदशैमा अष्टमी, नवमीमा बिशेष मेला लाग्ने गर्दछ। मन्दिरमा महाकाली, शिव महादेव, हनुमानका मुर्तीहरु राखिएको छ ।
त्यतिबेला राजाकी भान्जी मालाले आफूलाई शुद्द पानी पिउनका लागि सृष्टि गरेको पानीलाई ‘मनचिन्ते पानी’ भनिन्थ्यो। अहिलेको मालारानी मन्दिर छेउमै लालीगुराँसको ठूलो रुखको फेदमा एउटा टोड्कोमा रहेको छ ‘मनचिन्ते पानी’ शीरमा लगाउनाले मनमा शान्ति मिल्ने, मनले सोचेका कुरा पुग्ने, ब्यापार राम्रो हुदै जाने स्थानिय जनार्दन खनाल बताउँछन्।
मन्दिरबाट चारैतिर हिमालय पर्वतको हिमश्रृङखला देख्न पाईन्छ। अर्को अच्चमको कुरा त के छ भने, रुखको टोड्कोमा रहेको यो पानी कहिल्यै रित्तिदैन् सुक्दैन। पानी छुँदा मात्रै पनि मनले चिताएको पुग्ने हुनाले टोड्काको पानीलाई मनचिन्ते पानी भनिएको मालारानीका स्थानीय समाजसेवी जनार्दन खनालको भनाई छ । पर्यटकहरुलाई बस्न खानकोे रामो व्यवस्थापनका लागी मन्दिर नजिकै गोईली र कुनाखर्कमा होमस्टे निर्माण गरीने खनालले बताए। मन्दिरमा पुग्न छोटो सडकमा पर्ने बाईको बरमकोटामा पुल निर्माणको काम भैरहेको बताए।
खासगरी शिवरात्रीको दिन र दशैंको समयमा यस मालारानीमा भक्तजनहरुको ठूलो घुँइचो लाग्ने गर्दछ। मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका अलवा मालारानी मन्दिर वरपरको मनमोहक दृश्यले जोकोहीलाई स्वर्गीय आनन्द दिन्छ। पर्यटकिय सम्भावना बोकेको भएपनि अर्घाखाँची जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको मालारानीको विकास तथा प्रचारप्रसार भने हुन सकिरहेको छैन्।
मालारानी मन्दिर वरिपरीको लेकमा टिमुर ,चिराईतो ,सिन्कौली ,अम्रीसो जस्ता जडिबुटी पाईने भएकाले पनि पर्यटकलाई अझ आक्रषण बनाएको छ । स्थानिय ९३ बर्षिय मणिराम बन्जाडे भन्छन्, ‘मनचिन्तेपानीको महत्व धेरै छ, हामीले जान्दाखेरी केटाकेटी हुदा गुरासँको रुखको टोड्कोमा जति पानी देख्ने गर्थीम अहिले अब हामी बुढो भएर मर्ने बेला आयो तर टोड्को भित्र उत्ति पानी छ।’ यसको बेलैमा विकास हुन नसकेको देख्दा आफुलाई चित्त नबुझेको बताए
स्थानीय सरकारको चासो
स्थानिय तहमा जनप्रतिनिधी आउनु अघि मालारानी मन्दिरको अवस्था निकै दयनिय अवस्थामा थियो। तर जनप्रतिनिधी आएपछी आजभोली विस्तारै मन्दिरको अनुहार रुपरेखा फेरिन थालेको छ। मन्दिर निर्माणसँगै वरिपरीको परिसर , अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्रवचन हल निर्माण गरिएको तत्कालीन मालारानी गाँउपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए।
मन्दिर तथा वरिपरीको परिसर निर्माणका लागि पालीकाले २८ लाख बढि रकम खर्च गरिसकेको उनले बनाए। उनले यो आर्थिक वर्ष भित्र मालारानी मन्दिर हेर्न लायक हुने गरि विकास गरि आन्तरिक तथा बाह्य पर्यटनहरुको ध्यान मालारानी केन्द्रित गरिने बताए।
उनले सडक पीच, खानेपानी, मन्दिर वरिपरीको परिसर निर्माण, शौचालय, भवन, मन्दिरमा जाने सिढी निर्माणसँगै अन्य विकासका लागि साढे चार करोड खर्च हुदै गरेको उल्लेख गरे। गुरासँको रुखमा रहेको एक फिट गहिराई, एक फिट लम्बाई, एक फिट चौडाई रहेको टोड्कोमा रहेको पानी जति निकाल्ने गरे पनि नसकिने, नसुक्ने, नबग्ने मनचिन्ते पानीको महत्व धेरै रहेको आचार्यले बताए।
Leave a Reply