काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताएका छन् ।
नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उनको भनाइ छ । ‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा हामीलाई बाहिरको सहुलियतपूर्ण स्रोतको ठूलो आवश्यकता छ,’ काठमाडौँमा मंगलबार सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) को परिपुरण बैठक (आइडा-२१)को बैठकलाई सम्बोधन गर्दै उनले भने ।
विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले समावेशी आर्थिक विकासका लागि एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमितता, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको बताए ।
दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका लक्ष्य (एनडिसी) र दिगो पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको उनले उनले बताए । उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्ररूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उनले बताए ।
डिजिटलाइजेसन, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको प्रवर्द्धन, सीप विकासलाई जोड दिंदै रोजगारी सिर्जना गर्ने र समावेशिता प्रवर्द्धनलाई जोड दिंदै आएको उनले बताए ।
आइडा २१ बैठकले न्यून आय भएका मुलुकलाई आगामी तीन वर्षका लागि नीतिगत प्राथमिकताहरू र परिणामको खाकामा दाताहरू र ऋणीहरूबीच बलियो सहमति निर्माण गर्न सफल हुने प्रधानमन्त्रीले बताए । ‘नेपालसहित आइडिए प्राप्तकर्ता देशहरू यसको बृहत प्रभाव देख्न चाहन्छन् र हामी यी स्रोतहरूको महत्त्व पूर्ण क्षमतामा महसुस गर्न चाहन्छौं,’ उनले भने ।
नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्त्वपूर्ण भएको उनले बताए । विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्य योगदान हुँदा पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट असमानरूपमा प्रभावित भएको उनले बताए ।
विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीहरूजस्ता कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको उनले बताए ।
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग आईडाले वित्तीय श्रोत परिचालनका लागि दाता र लाभग्राही देशबीच मध्यस्थता गरिरहेको बताए । ‘यो बैठकले आईडाको श्रोत परिचालनका लागि मार्गदर्शन गर्नेछ । यो बैठकले अहिलेका लागि नभई अबको दशकका लागि कसरी योजनाबद्ध ढंगले अघि बढ्ने भन्ने तय गर्नेछु’, उनले भने ।
द्वारिका होटलका प्रबन्ध निर्देशक संगीता श्रेष्ठले कार्यक्रममा नेपालको भौगोलिक, साँस्कृतिक, पर्यावरणीय विशेषताका बारेमा जानकारी दिएकी थिइन् ।
मंगलवारदेखि शुरु बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसननबर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।