करौडको मह उद्योग सञ्चालनमा नआउँदै जिर्ण
अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका वाडनम्वर ७ मा रहेको मह उद्योग स्थापना भएपनि सञ्चालनमा आउन सकेको छैन ।
०६३÷६४ को बजेट वक्तव्यमार्फत सरकारले घोषणा गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ सानागाउँमा रहेको अर्घाखाँची मह उद्योग प्रा.लि आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवन पूर्ण रुपमा जीर्ण बन्दै गएको छ ।
अर्घाखाँचीमा मह उद्योग सञ्चालनको लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा १ करोड ५ लाखको लगानीमा भवन इक्युमेन्ट खरिद गरेपनि सञ्चालनमा नआउँदै उद्योग जिर्ण अवस्थामा पुगेको छ । मह उत्पादन कम्पनीको संरचना बनाउन बजेट छुट्टिएपनि अहिलेसम्म भवन मात्रै छ ।
करोडौं लगानीमा निर्माण गरिएको अर्घाखाँची मह उद्योग प्रा.लि. अहिले लथालिङ्ग अवस्थामा छ । तत्कालिन समयमा उद्योग वाणिज्य संघ अर्घाखाँची मार्फत सञ्चालन गर्ने गरि योजना सुरु गरि सर्वसाधारणमार्फत सेयर सदस्य बापत रकम उठाए पनि त्यसको अहिले कुनै हिसाव किताव समेत खोज्दा उपलव्ध हुन सकेको छैन् ।
तत्कालिन समयका मह उद्योग प्रा.लि.उपभोक्ता समितिका अध्यक्ष तथा तत्कालिन उद्योग वाणिज्य संघ अर्घाखाँचीका सचिवालय सदस्य लक्ष्मण कँडेलले, ‘जिल्लामा कच्चा पदार्थको अभावले मह उत्पादन हुन नसकेको,सञ्चालनमा ल्याउनको लागि स्थानीय सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन प्रयत्न भइरहेको दावी गरे ।’ जिल्लाको धनचौर,धारापानी,जुकेना,जलुके लगायतका वडाहरुमा उल्लेखिनिय रुपमा किसानहरु मौरी पालन गरिरहेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुराबहादुर केसीले उद्योग स्थापना भएपनि भवन बनाउने निकायले सरकारलाई हस्तान्तरण नगर्नु तथा निर्माण गर्ने निकायले सञ्चालनमा ल्याउन नसक्नु कारण खोज्नु पर्ने बताए ।
तत्कालिन अवस्थामा भवन निर्माण गर्दा ४८ लाख ५६ हजार ५ सय ६२ रुपैयाँ बराबरको भवन निर्माण भएको उद्योग नजिक राखिएको सूचना बोर्डमा लेखिएको छ । १ करोड ८ लाख ४३ हजार ४ सय ३८ रुपैयाँ मेसिनरी औजार र अन्य कामका लागि रकम खर्च भएको देखिन्छ ।
उद्योगभित्र मेसिनरी औजार, केही खाली बोतल र मौरीघार यत्रतत्र बेवारिसे अवस्थामा रहेका छन् अर्घाखाँची जिल्ला मौरी पालक किसानहरुका लागि अति उत्तम जिल्लाको रुपमा लिने गरिन्छ । यस जिल्लाका धेरै ठाउँहरुमा मौरी चरण क्षेत्र भएकोले पनि मह उत्पादन गर्ने जिल्लाको रुपमा परिचित छ ।
अर्घाखाँचीका ६ स्थानीय पालिकामध्ये शितगंगा नगरपालिकामा बाहिर जिल्लाबाट समेत मह उत्पादन गर्न अर्थात् मौरी चरणका लागि व्यवसायिक किसानहरु मौरीका हजारौं गोला लिएर आउने गर्छन् ।
करौडको मह उद्योग सञ्चालनमा नआउँदै जिर्ण
प्रतिक्रिया दिनुहोस्