अर्घाखाँची महोत्सव विरुद्ध अदालतमा मुद्दा, प्रधानमन्त्री नआउने

अर्घाखाँची ।

शनिबार बिहान सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिवसमेत रहेका व्यवसायी विनोद गैरैले आफूले उच्च अदालतमा अर्घाखाँची महोत्सव रोक्नको लागि गुहारेको बताए ।

आफ्नै फेसबुकबाट भिडियो सार्वजनिक गरेका गैरेले विद्यालय नजिकै मेला लगाउन खोजिएको र मेलाका कारण विद्यार्थीको अधिकार खोसिएको भन्दै अदालतको सहारा लिनुपरेको दाबी गरिरहेका छन् । अर्घाखाँचीमा बाल अधिकारकर्मी छन् की छैनन् भन्दै अदालत गुहारेका गैरेले अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

यता मेलाको आधिकारिक स्वीकृति दिने सन्धिखर्क नगरपालिकाले भने विद्यालयसँग समन्वय भइसकेको जनाएको छ । आज नै सन्धिखर्कमा सम्पन्न सर्वपक्षीय बैठकमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सवै पक्षको अध्ययन गरेर स्वीकृति दिएको भए पनि केही व्यक्तिले बार्गेनिङ नमिलेपछि अदालत गुहारेको बताए ।

यता नेपाल पत्रकार महासंघ अर्घाखाँचीले भने आफूहरू संस्थागत रूपमै मेलाको पक्षमा रहेको जनाएको छ । अर्घाखाँचीमा क्रियाशील राजनीतिक दल, जिल्लामा रहेका संघ संस्था तथा आम जिल्लावासी नै मेलाको पक्षमा हुँदाहुँदै केही व्यक्ति गलत मानसिकताका साथ विरोधमा लागेको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष हरिप्रसाद भुसालले बताए ।

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची महोत्सव सञ्चालन हुँदैछ । अर्घाखाँची चेम्बर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सन्धिखर्क नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवमा नेपाल पत्रकार महासंघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, लोक तथा दोहोरीगित प्रतिष्ठान, अर्घाखाँची युवा परिषद् लगायतका स्थानीय संस्था सह आयोजक रहेका छन् ।

यही माघ ११ गतेदेखि २४ गतेसम्म सदरमुकाम सन्धिखर्कको कुडुले फाँटमा सञ्चालन हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने गरी तयारी भएको थियो तर मुद्दा दर्ता भएपछि प्रधानमन्त्री नआउने स्रोतले बताएको छ ।

यता अदालतले मेलाको विषयमा कारण देखाउन आदेश दिएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार