भाले गाडी

Advertisement

गाडी नम्बर उन्नाइस एकहत्तर सडकमा गुड्दा सीमा नाघेर बत्तिएर कुद्थ्यो। चल्न पनि एकदमै रफ चल्थ्यो। यात्रुहरूप्रति अत्यन्तै तल्लोस्तरको मिजास देखाउँथ्यो। १८ रुपैयाँको भाडालाई एक्काइस रूपैयाँ भन्थ्यो। नदिए गालीगलौज र अपशब्दको घ्याम्पा नै फुटाउँथ्यो।

यात्रुजनले ‘ल २१ नै काट्नु’ भन्दै २५ रूपैयाँ दिंदा खुद्रा छैन भन्दै चार रूपैयाँ हजम गर्थ्यो। प्यासेन्जर पाए सिन्की खाँदे झैं खाँद्नु नपाए गाडीको ढोका फुट्ने गरी ठटाउँदै चर्को स्वरमा गन्तव्यस्थलको नाम उच्चारण गर्दै घण्टौं प्रतीक्षा गर्नु यसको अर्को नित्यकर्म थियो।

ठाउँ कुठाउँ हर्न बजाएर आतंकित पार्नु, जथाभावी ओभरटेक गर्नु अनि मोबाइलमा मस्त गफ गर्दै बत्तिनु उसका मौलिक हक जस्तै थिए।

आफूले आफूलाई ‘भाले गाडी’ भन्दै ट्राफिक नियम केही मान्दैनथ्यो। लेन अनुशासन सम्झाउँदा अट्टहास हाँस्थ्यो। जहाँ पायो त्यहीं रोक्नुहुँदैन भनेर ट्राफिक प्रहरीले सम्झाउँदा ‘भाले गाडीलाई हेप्नी!’ भन्दै उल्टै हप्काउँथ्यो। जरिवानास्वरूप चिट काट्दा ट्राफिक प्रहरीलाई अश्लील गाली वर्षाएर हिंड्थ्यो।

पैदल यात्रुलाई त देखी सहँदैनथ्यो। जेब्रा क्रसिङ्गमा समेत ठक्कर दिन भ्याउँथ्यो र भन्थ्यो- ‘भाले गाडी देखेपछि साइड दिनुपर्दैन?’ गल्ती सबै पैदल यात्रुकै हो भन्ने सिद्ध गर्न कुनै कसर बाँकी राख्दैनथ्यो।

सानातिना सवारी साधन ठोक्ने, लडाउने, होच्याउने, किच्याउने, थिच्याउने, हर्न बजाएर तर्साउने त कति गर्‍यो गर्‍यो। तर्सिएकाहरूलाई उल्टै ‘गाडी चलाउन आउँदैन?’ भन्दै सातो लिन्थ्यो। राजमार्गीय समाजमा ‘म नै राजमार्ग हुँ’ भन्ने उसको अटल दम्भ थियो।

अरूलाई भने ट्राफिक नियम सिकाएर अघाउँदैनथ्यो। सुरक्षित यात्राको भागवत नै लगाइदिन्थ्यो। ‘ठिक्क स्पिडमा गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न’ भन्दै कालोमुस्लो धुवाँ फाल्दै तूफानी तालमा वेग मार्थ्यो।

उसको यही रवैयाले एक दिन राजमार्गको किनारमै रहेको खूद आफ्नै घरलाई समेत ठक्कर दिएर भत्काइदियो। घोर अचम्मको कुरा- त्यसको दोष पनि आफू पछिपछि डिस्टेन्स मेन्टेन गरेर आइरहेका अरू सवारी साधनलाई थोपर्‍यो ।

आफ्नो कुनै गल्ती नभएको पुष्टि गर्न न्वारानदेखिको बल लगायो। झगडा गर्‍यो। मारमुङ्ग्री गर्‍यो। सण्ड–मुसण्डहरू भेला गरेर क्षतिपूर्ति तिराउन खोज्यो। तर सीसीटीभी फुटेजले अकाट्य रूपमा उसकै गल्ती देखायो र मात्रै ऊ चुप बस्न बाध्य भयो।

यो दुर्घटनापछि ७१ थन्कियो। गाडी थन्किएपछि ऊ रिसले मुर्मुरियो। चलाउँदा चलाउँदैको ‘नन् स्टप एक्सप्रेस गाडी’ थन्किएपछि यस्तो हुनु स्वाभाविक नै थियो।

त्यसको सट्टामा सडकमा अब उन्नाइस छयानब्बे नम्बरको अर्को गाडी गुड्न थाल्यो। उन्नाइस एकहत्तर र यो गाडीमा तात्विक भिन्नता केही थिएन। दुवै उही कम्पनीका गाडी थिए। मोडेल मात्रै फरक थियो। चलाउने गुरुजी फरक भए पनि एउटै ड्राइभिङ इन्ष्टिच्युटका उत्पादन थिए।

पार्टपुर्जा सरसापट गर्ने, उधारोमा तेल हाल्ने, सर्भिसिङ र मेन्टिनेन्सको पैसा अर्कालाई तिराउने लगायतका अनेकौं जुगाड गरेर भए पनि उन्नाइस छयानब्बे नम्बरको गाडी सडकमा कुदिरहेकै थियो। टिप लगाइरहेकै थियो।

यत्तिकैमा एकदिन राजमार्गको होटलमा भात खाँदै गर्दा मापसे/लापसे नगरिकनै होशहवासमै छयानब्बेले नबोल्नुपर्ने कुरो सार्वजनिक रूपमा बोल्यो। यद्यपि उसले बोलेको कुरा सोह्रै आना साँचो थियो। यथार्थ थियो। तथ्य थियो। सत्य थियो। साँच्चै भन्ने हो भने उसले भनेको कुरा जति तीतो भए पनि हाम्रो यातायात व्यवसायको जग नै थियो।

तर, सत्य सबै बोल्दै हिंड्नुहुँदैन, तथ्य सबै ओकल्दै हिंड्नुहुँदैन भन्ने हेक्का उसलाई थिएन। बोल्दा होश नपाउनु र भावनामा बहकिनु उसको पुरानै रोग थियो।

यही पुरानो बानीको लाभ उठाउन छयानब्बेको प्रतिस्पर्धी अर्थात् घर भत्काएर थन्किई बसेको उन्नाइस एकहत्तर नम्बरको गाडी उद्यत भयो। यो गाडी यही मौकाको खोजीमा थियो। अर्थात् छयानब्बेलाई कसरी सिध्याउने भन्ने एकसूत्रीय ध्याउन्नमा थियो।

त्यसैले उसले सकेसम्म यो अवसरको सदुपयोग गर्ने नसके यात्रुलाई सकेसम्म दु:ख दिएर छयानाब्बेको टिप मार्ने विचार गर्‍यो। र तत्कालै माग राख्यो- ‘छयानब्बेले बोलेको कुरा व्यवसायद्रोही छ। त्यसले आफ्नो बोली फिर्ता लिनुपर्छ।’

छयानब्बेलाई कुरो सत्य भए पनि नबोल्नुपर्ने कुरा बोलें भन्ने भयो। त्यसैले उसले बोली फिर्ता लिने भयो।

तर पनि प्रतिस्पर्धी साम्य भएन। अनि अर्को माग राख्यो- ‘अब छयानब्बेका गुरुजीले गाडी चलाउन बन्द गर्नुपर्छ अनि आफ्नो लाइसेन्स र रूट पर्मिट हामी एकहत्तरलाई समर्पण गर्नुपर्छ।’

छयानब्बेले यो माग पनि पूरा गर्ने भयो।

तर एकहत्तर अझै साम्य भएन। उसलाई लाग्यो- ‘लाइसेन्स र पर्मिट त उसले फेरि पनि लिन सकिहाल्छ नि!’ त्यसैले फेरि नयाँ माग तेर्स्यायो- ‘लाइसेन्स र रूट पर्मिटले मात्र हुँदैन। छयानब्बेको बचनले हाम्रो पेटमा लात हान्ने खतरनाक काम भएको छ। हामी यातायात व्यवसायीको असलियत उदाङ्गो पारेर गरिखान गाह्रो पार्ने त्यस्ता गाडीका गुरुजीलाई बाँच्ने कुनै अधिकार छैन। तिनले आत्महत्या गर्नुपर्छ। नत्र उन्नाइस एकहत्तर सडकमा तेर्सिन्छ र जाम गर्नेछ।’

यो पूरा हुने माग छँदै थिएन। भएन। फलत: क्रेनद्वारा बोकिएर ‘भाले गाडी’ मुख्य राजमार्गमा तेर्सियो र राजमार्ग नै ठप्प पार्‍यो। आवतजावत बन्द भयो। हाहाकार मच्चियो।

गन्तव्यमा पुग्नुपर्ने मान्छे अलपत्र परे। हजारौं मान्छेको समय बर्बाद भो। पैसा बर्बाद भो। कतिपय गम्भीर बिरामी बाटैमा बिते। लूटपाटका लगातारका श्रृङ्खलाहरू चले। तर यो सबको जिम्मेवारी उन्नाइस छयानब्बेले लिनुपर्ने भन्ने अनौठो तर्क पनि गर्दै गयो।

छयानब्बेले यतिखेरसम्म ‘भाले गाडी’ ले जे–जे भन्यो त्यही त्यही माने पनि उसका मागहरूको श्रृङ्खला अन्त्य नहुने बुझिसकेको थियो। आफ्नो टिप मार्न र उसको गाडी थन्किएको कुण्ठा पोख्न मात्र एकहत्तर यो रूपमा प्रस्तुत भएको भन्नेमा ऊ विश्वस्त भइसकेको थियो।

त्यसैले गुरुजीले आफूले आत्महत्या गरिदिने उधारो वचन पनि दिए। नभन्दै यो वचनपछि पनि एकहत्तर शान्त भएन। फेरि नयाँ माग थप्यो- ‘छयानब्बेका चेलाचपेटाहरू ज्यूँदा रहुञ्जेल फेरि उही नियति दोहोरिने भएकोले आफ्ना समर्थकलाई पनि सँगसँगै आत्महत्या गराउनुपर्छ।’

यसरी सती प्रथा ब्युँताउने जस्तो अनौठो माग ‘भाले गाडी’ले राखिरहेको थियो।

यो माग राखे सँगै सडक जामको सास्तीले मान्छेहरू आफूप्रति नै आक्रोशित हुन थालेको भेउ उन्नाइस एकहत्तरले पाइसकेको थियो। यतिखेरसम्ममा उसले छयानब्बेको एकाध टिप पनि मारिसकेको थियो। त्यसैले ऊ सडकबाट हट्ने बहानाको खोजी गर्न थाल्यो।

फलत: ‘छयानब्बेले आफ्नो वचन फिर्ता लिने भयो। हाम्रा सारा माग पूरा भए!’ भन्दै रातारात सडकबाट हट्यो र अझ तगडा तमासाको तयारीमा व्यस्त हुनथाल्यो। भलै छयानब्बेले फिर्ता लिने वचन मात्र दिएको थियो। फिर्तै भने लिएको थिएन।

खासमा उन्नाइस एकहत्तर गाडी गुड्न नपाएकोले यसमा यो हदको बेचैनी थियो कि उसलाई म के माग राख्दैछु भन्ने हेक्का पनि थिएन। नगुड्दा नगुड्दा यो गाडीका पार्टपुर्जा खिया लाग्न थालिसकेका थिए। टायरको हविगत उस्तै थियो। ब्याट्री पनि निस्तेज हुने क्रममा थियो।

स्टाफलाई तलब दिन सकस परिरहेको थियो। बैंकको किस्ता कसरी तिर्ने त्यो झन् टड्कारो समस्या थियो। र, सबैभन्दा मुख्य कुरा त इञ्जिन र गुरुजीमा नै खतरनाक गडबडी आइसकेको थियो। समग्रमा भन्दा यो गाडीलाई चानचुने मर्मतसंभारले हुनेवाला थिएन।

छँदाखाँदाको आफ्नो सिङ्गो घरलाई नै भत्काएर थन्किएको यो गाडीको इन्जिन र गुरुजी त फेर्नैपर्ने थियो। तर ऊ यो कुरा मान्नेवाला थिएन। गुड्न नपाएर थन्किए पनि आफू ‘भाले गाडी’ नै रहेको जिकिर गरिरहन्थ्यो।

अर्कोतिर छयानब्बेले धमाधम टिप लाइरहेको देखेर ऊ ईर्ष्याले भित्रभित्रै जल्थ्यो। उसलाई त्यसै त्यसै भाउन्न भएर आउँथ्यो। कहिले वैराग्य लागेर आउँथ्यो। कहिले डाहले छट्पटिन्थ्यो। उसले यस्तै अनेक अनेक माग राखेर त्यही संचयी कुण्ठा, आक्रोश र छटपटी व्यक्त गरिरहेको थियो। त्यसैले उसका कुनै पनि माग पूरा भएनन्।

यसअघि पनि जहिले जहिले सो गाडी थन्किन्थ्यो तहिले तहिले उसले अनेक अनेक निहुँ खोजेर सडक जाम गराउँथ्यो र मान्छेलाई दु:ख दिइरहन्थ्यो। कहिलेकाहीं त महिनौंसम्म सडकमै तेर्सिदिन्थ्यो। ‘भाले गाडी’ को इतिहास नै यस्तै थियो। अरूले टिप लगाएको हेर्न उसलाई निकै गाह्रो पर्थ्यो।

यसरी राजमार्गीय समाजमा ‘यो भाले भनाउँदो गाडी सडकमा गुड्दा पनि मान्छेलाई दु:ख; नगुड्दा पनि मान्छेलाई दु:ख’ भन्ने भाष्य स्थापित भयो।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *