
सल्यान — छत्रेश्वरी गाउँपालिका–६ शंखमूलमा ठूलो शंखसहित पार्क निर्माण गरिएको छ । धार्मिक तीर्थस्थलको रूपमा परिचित शंखमूललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गाउँपालिकाले शंखपार्क बनाएको हो । पार्कमा निर्मित शंखको लम्बाइ २१ फिता र उचाई १३ फिट छ । गाउँपालिकाले यो शंख नेपालको सबैभन्दा ठूलो भनेर दावी गरेको छ । गाउँपालिकाले २ चरणमा १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरी शंखपार्क निर्माण गरेको हो ।
पार्कलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरी एकीकृत योजना निर्माण बनाइएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । उनका अनुसार पहिलो चरणमा १ करोड रुपैयाँ विनियोजन गरी ठेकेदारमार्फत र दोस्रो चरणमा ६० लाख रुपैयाँ विनियोजन गरी उपभोक्ता समितिमार्फत काम गराइएको थियो ।
किंवदन्तीअनुसार सत्ययुगमा सतीदेवीले श्रीमान् महादेवलाई आफ्ना बाबाले यज्ञ गरिरहेको स्थलमा बदनाम गरेको भन्दै यज्ञकुण्डमा हाम फालेर प्राण त्यागेकी थिइन् । उनको मृत्युपछि महादेवले उनको मृत शरीर लिएर संसार घुम्ने क्रममा बाँकी रहेका सबै अंग छत्रेश्वरीमा पतन भएको किंवदन्तीमा उल्लेख छ । त्यहाँबाट फर्कने क्रममा शंखमुलमा रहेको कुण्डमा डुबुल्की मारी शंखबाट पानी तकाई महादेवले स्नान गरेकाले उक्त स्थानको नाम शंखमुल भएको धार्मिक विश्वास छ । ‘यो क्षेत्र पवित्र धार्मिकस्थल हो,’ अध्यक्ष केसीले भने, ‘पार्कमार्फत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न खोजिएको छ ।’
उनले छत्रेश्वरीका अन्य ठाउँलाई पनि पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजना निर्माण गरिएको छ । पार्कमा शंखसहित सतीदेवीको शव बोकेको महादेवको मूर्ति, पानीका फोहरा र भजनकीर्तनका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको पार्क व्यवस्थापन समितिका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताए । ‘भजनकीर्तन गर्ने भवनमा सल्यानका लोपोन्मुख वस्तुहरू पनि राखेका छौं,’ उनले भने, ‘अहिले दैनिक नित्य पूजा र भजनकीर्तन गर्नेहरूको भीड लाग्न थालेको छ ।’ दैनिक २ सय जनासम्म पार्कमा घुम्न आउने गरेको उनले बताए ।
शारदा नदी किनारमा रहेको यो पार्कमा आउनेहरू बढ्दै गएका छन् । पार्कमा निःशुल्क प्रवेश रहेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार पार्कमा आउनेहरूको संख्या बढ्दै गएपछि स्थानीय बजारमा पनि चलहपहल बढेको छ । शंखमूलको कुण्ड नजिकै शारदा नदीमा अस्तु बगाएपछि मृत्यु भएकाको आत्माले शान्ति पाउने र पुण्य मिल्ने धार्मिक विश्वास छ ।