अर्घाखाँची । छत्रदेव गाउँपालिकाको आयोजनामा अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ । वडागत रूपमा प्रतिस्पर्धा हुने प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ज्ञवाली र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउन सहयोग पुर्याउने बताउँदै स्थानीय तहमा हुने यस्ता प्रतियोगिताले खेलाडीको क्षमता विकास र प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान दिने धारणा राख्नुभयो । उहाँहरूले खेलकुदको विकासका लागि स्थानीय तहले लगानी र प्रोत्साहनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा गाउँपालिकाका वडाका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । वडागत रूपमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालको स्वागत मन्तव्य, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।













