सन्धिखर्क नगरपालिका–१ को आयोजनामा वडास्तरीय संस्थागत तथा सामुदायिक विद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रमोद खनाल ले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत खनालले युवापुस्तालाई खेलकुदमार्फत अनुशासित, ऊर्जाशील र सकारात्मक दिशातर्फ अग्रसर गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सन्धिखर्क नगरपालिका सधैँ सहकार्य र सहयोगका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम वडा अध्यक्ष माधव श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो । वडा सचिव तुलसा श्रेष्ठ ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने वडा सदस्य श्रीधर मुखिया ले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराई, शिक्षक रेसम भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । विद्यालयस्तरमै क्रिकेटप्रति आकर्षण बढाउँदै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।











