आँखाको ज्योति पुनः प्राप्त गरेपछि भूमिकास्थान नगरपालिकाका ज्येष्ठ नागरिकहरूमा नयाँ आशा, उत्साह र खुसी थपिएको छ । गाउँमै सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमार्फत मोतियाबिन्दुको शल्यक्रिया,आँखा परीक्षण तथा उपचार सेवा पाएपछि धेरै वृद्धवृद्धा पुनः स्पष्ट रूपमा संसार देख्न पाउँदा दङ्ग परेका छन् ।
भूमिकास्थान नगरपालिका–७ का ८४ वर्षीय हिम बहादुर नेपालीले दृष्टि गुमाएपछि दैनिक जीवन नै कष्टकर बनेको बताउँदै उपचारपछि पुनः स्पष्ट रूपमा देख्न पाउँदा आफूले नयाँ जीवन पाएको अनुभूति भएको प्रतिक्रिया दिनुभयो ।
“फेरि संसार देख्न पाउँदा जीवन नै फर्किएजस्तो लागेको छ,” उहाँले भावुक हुँदै भन्नुभयो । भूमिकास्थान–६ खिल्जीकी ७९ वर्षीया गङ्गादेवी बेल्बासेले गाउँमै शिविर पुगेकाले उपचार सम्भव भएको बताउनुभयो।
“आँखा शिविर गाउँमै नआएको भए सायद म बजार पुगेर अपरेशन गर्ने आँट नै गर्ने थिइनँ । अहिले आफ्नै आँखाले फेरि संसार देख्न पाउँदा जीवन नै उज्यालो बनेको छ,” उहाँले खुसी हुदै भन्नुभयो।
नगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत चार स्थानमा निःशुल्क आँखा शिविर आयोजना गरिएको थियो । नगर प्रमुख झविलाल थापाले शिविरबाट ६ सयभन्दा बढी नागरिकले सेवा लिएको बताउनुभयो ।
प्रमुख थापाले स्थानीय सरकार गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा नागरिकमा सरकारप्रतिको विश्वास अझ बढेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण, आँखा उपचार,औषधि वितरण तथा आवश्यक सहजीकरणलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
स्थानीयवासीले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुगेपछि “स्थानीय सरकार वास्तवमै गाउँमै आएको” अनुभूति भएको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले शिविरमार्फत ४२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको बताउनुभयो ।











