अर्घाखाँची । छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग, आधुनिक कृषि, रोजगार प्रवर्द्धन र प्रविधिमैत्री सुशासनलाई केन्द्रमा राखेर आगामी वर्षको कार्यदिशा तय गरेको हो।
गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार बनाएको छ। “अर्गानिक उत्पादन, किसानको सम्मान” भन्ने नाराका साथ परम्परागत कृषिलाई व्यावसायिकरण गरिने नीतिमा उल्लेख छ। पालिकाले आफ्नो क्षेत्र अनुकूल म्याकाडेमिया नट, एभोकाडो र किवी जस्ता उच्च मूल्यका फलफूलका करिब ३ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ। पशुपालनतर्फ “पशुधनको विस्तार, आयआर्जनको आधार” नारासहित कृषककै गोठमै सेवा पुर्याउन ‘पशु स्वास्थ्य डोर टु डोर’ र कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरिने भएको छ। यस्तै, गरिबी न्यूनीकरणका लागि “एक व्यक्ति-एक उद्यम” नीति ल्याइएको छ।

पूर्वाधार विकासतर्फ पालिकाले हालसम्म ३७ किलोमिटर पक्की र ४७२ किलोमिटर कच्ची सडक निर्माण गरी सबै वडामा सडकको पहुँच पुर्याएको र ५७३ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिसकेको जानकारी दिएको छ। आगामी वर्ष पूर्वाधार निर्माणमा गुणस्तरीयता र सडक सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गरिने नीति लिइएको छ।

पालिकालाई प्रविधिमैत्री बनाउन “स्मार्ट छत्रदेव” र “पेपरलेस प्रशासन” को अवधारणा अघि सारिएको छ। डिजिटल नागरिक वडापत्र, ‘हेलो छत्रदेव’ एप, सेवा कियोस्क र अनलाइन योजना अनुगमन प्रणालीमार्फत प्रशासनिक कामलाई चुस्त र पारदर्शी बनाइनेछ। सुशासन प्रवर्द्धनका लागि भ्रष्टाचार र ढिलासुस्तीप्रति शून्य सहनशीलता (Zero Tolerance) को नीति लिइने पालिकाले घोषणा गरेको छ।

शान्ति सुरक्षा सुदृढ गर्न “सुरक्षित छत्रदेव, समृद्ध छत्रदेव” अभियान अन्तर्गत नगर प्रहरीको स्थापना गरिने भएको छ भने मुख्य सार्वजनिक तथा धार्मिक स्थलहरूमा सीसीटीभी क्यामेरा जडान गरी निगरानी बढाइनेछ। शिक्षा क्षेत्रमा “गुणस्तरीय शिक्षा, सफलताको दिशा” नारासहित विद्यालयहरूमा स्मार्ट बोर्ड र डिजिटल सिकाइ सामग्रीको प्रयोगलाई व्यापक बनाइने प्रतिबद्धता जनाइएको छ।
विपद् व्यवस्थापनका लागि “सुरक्षित घर, सुरक्षित परिवार” नाराका साथ विपद् बीमा कार्यक्रम सुरु गरिने र आगलागी जस्ता जोखिम न्यूनीकरणका लागि आधुनिक दमकल, वाटर ट्याङ्कर र फायर पम्पको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

आर्थिक तथा कृषि क्षेत्र:
- “अर्गानिक उत्पादन, किसानको सम्मान” भन्ने मूल नाराका साथ परम्परागत खेतीलाई व्यावसायिक र बजारमुखी बनाइने।
- म्याकाडेमिया नट, एभोकाडो, किवी जस्ता उच्च मूल्यका बालीहरूको ३००० वटा बिरुवा रोप्न प्रोत्साहन गरिने।
- “पशुधनको विस्तार, आयआर्जनको आधार” अन्तर्गत पशु स्वास्थ्य सेवा सुधार गर्न ‘पशु स्वास्थ्य डोर टु डोर’ कार्यक्रम र कृत्रिम गर्भाधान सेवा विस्तार गरिने।
- गरिबी निवारणका लागि “एक व्यक्ति-एक उद्यम” नीति अवलम्बन गरिने।
भौतिक पूर्वाधार तथा सिँचाइ:
- गाउँपालिकामा हालसम्म ३७ कि.मी. पक्की सडक र ४७२ कि.मी. ग्राभेल/कच्ची सडक निर्माण भइसकेको र सबै वडामा सडक सञ्जाल पुगेको।
- ५७३ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याइएको। आगामी वर्ष सडक सुरक्षा मापदण्ड र गुणस्तरीय निर्माणमा जोड दिइने।
सुशासन, डिजिटल प्रविधि र सार्वजनिक सेवा:
- “स्मार्ट छत्रदेव” र “पेपरलेस, डिजिटल र स्मार्ट प्रशासन” को अवधारणा लागू गरिने।
- डिजिटल नागरिक वडापत्र, हेलो छत्रदेव, सेवा कियोस्क, र अनलाइन योजना अनुगमन प्रणाली (LGPAS) मार्फत सुशासन प्रवर्द्धन गरिने। भ्रष्टाचार र ढिलासुस्तीप्रति शून्य सहनशीलताको नीति।
- “नागरिक सहायता कक्ष” स्थापना गरी सेवा प्रवाहलाई चुस्त बनाइने।
वन, वातावरण तथा विपद् व्यवस्थापन:
- “सुरक्षित घर, सुरक्षित परिवार” नारासहित विपद् बीमाको दायरा विस्तार गरिने र आगलागी नियन्त्रणका लागि वाटर ट्याङ्कर र अत्याधुनिक फायर पम्प खरिद गरिने।
- “हरियो वन, समृद्ध किसान” अभियान अन्तर्गत कृषि वन (Agro-forestry) लाई बढावा दिइने।
शान्ति सुरक्षा र सामाजिक क्षेत्र:
- “सुरक्षित छत्रदेव, समृद्ध छत्रदेव” अभियान अन्तर्गत नगर प्रहरी सेवा स्थापना गरिने। प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा सीसीटीभी क्यामेरा जडान गरिने।
- “गुणस्तरीय शिक्षा, सफलताको दिशा” अन्तर्गत विद्यालयहरूमा स्मार्ट बोर्ड, डिजिटल सिकाइ सामग्री र विद्युतीय हाजिरीको व्यवस्था गरिने गरि बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।












