कार्यक्रममा प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले आर्थिक ऐन, २०८३ मार्फत सरकारले करदातालाई उपलब्ध गराएको छुट तथा सहुलियतबारे विस्तृत जानकारी गराउँदै तोकिएको समयभित्र सुविधा लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले कर प्रणालीलाई पारदर्शी, व्यवस्थित र लगानीमैत्री बनाउन यस्ता व्यवस्थाहरू ल्याइएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले कर तिर्नु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्दै करबाट नै विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका कार्यक्रम सञ्चालन हुने भएकाले सबै व्यवसायी तथा करदाताले समयमै कर विवरण बुझाई कर दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कर अधिकृत पिताम्वर न्यौपाने र कर अधिकृत महेन्द्र पुरीले आर्थिक ऐन, २०८३ अन्तर्गतका कर छुट तथा सहुलियतका व्यवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । अफरमा कर विवरण नबुझाएका करदाताले विवरण बुझाउन सक्ने,कर बक्यौता रहेका करदाताले छुट सुविधासहित बक्यौता फर्छ्यौट गर्न सक्ने,अन्तःशुल्क नबुझाएका उद्योग तथा व्यवसायीले तोकिएको सुविधा लिन सक्ने,करमा दर्ता नभएका व्यक्तिले दर्ता भई कानुनी दायरामा आउन सक्ने जनाईएको छ ।
कर अधिकृत पिताम्वर न्यौपानेले आर्थिक ऐन, २०८३ अनुसार प्रदान गरिएको छुट तथा सहुलियतको सुविधा २०८३ साल पुस मसान्तसम्म मात्र कायम रहने जानकारी दिँदै त्यस अवधिभित्र सम्बन्धित प्रक्रिया पूरा गर्न करदातालाई आग्रह गर्नुभयो ।
पुस मसान्तसम्म कर दाखिला गर्दा अन्य सम्पुर्ण जरिवाना छुट गरि जम्मा थप १ प्रतिशतको मात्र लिने कार्यक्रममा दिइएको थियो।कार्यक्रममा स्थानीय व्यवसायी, उद्योगी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा करदाताहरूको सहभागिता रहेको थियो ।सहभागीहरूले करसम्बन्धी जिज्ञासा राखेका थिए भने कर अधिकृतहरूले ती जिज्ञासाको उत्तर दिँदै समयमै कर विवरण बुझाई उपलब्ध छुट तथा सहुलियतको अधिकतम लाभ लिन आग्रह गरेका थिए ।












