गाउँमै आयोजित यस्ता कार्यक्रमले अदालत र नागरिकबीचको दूरी घटाउनुका साथै न्यायिक सेवाप्रति जनविश्वास बढाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन् । छत्रदेव गाउँपालिका–३ का वडा अध्यक्ष तेजुलाल खनालले गाउँमै आएर कानुनी सचेतना दिदाँ अदालत प्रति जनताको विश्वास झनै बढ्ने बताउनुभयो ।
जिल्ला अदालतका जिल्ला न्यायाधीश शिवलाल पाण्डेले गाउँमा पुगेर दैनिक जीवनमा आइपर्ने कानुनी समस्या, सामाजिक विवाद समाधान, घरेलु हिंसा, साइबर अपराध तथा नागरिकको दायित्वका विषयमा जानाकारी दिएको बताउनुभयो । अदालतले न्याय केवल इजलासमा सीमित नभई नागरिकको घरदैलोमै पुग्नुपर्ने मान्यताअनुसार यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसबाट कानुनी सचेतना अभिवृद्धि हुनुका साथै समाजमा न्याय, सुशासन र सामाजिक सद्भाव कायम गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।
छत्रदेव–३ को वडा कार्यलयमा भएको कार्यक्रममा सहभागि स्थानिय बल्कोटका केशव पन्थिले जनताको घरमा न्यायाधीश नै उपस्थिति भएर कानुनि विषयमा ज्ञान दिदाँ जनतामा अदालत प्रतिको विश्वास थप बढेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका, युवा तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहदै आएको छ। छत्रदेव –३ बरबोटकी सिता खनालले यस्ता कार्यक्रमले कानुनी ज्ञान, मानसिक स्वास्थ्यप्रतिको सचेतना र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । जिल्लाका विभिन्न स्थानहरूमा समेत कानुनी सचेतना दिइदै आएको जनाइएको छ ।












