लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्दै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले लापसे (लागूपदार्थ सेवन) जाँच अभियान पहिलो पटक सुरू गरेको छ।
लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकको पहिचान गरी सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले लापसे जाँचलाई पहिलो पटक सुरू गरेको हो । लागूपदार्थ सेवनले चालकको निर्णय क्षमता, एकाग्रता र सवारी नियन्त्रण गर्ने क्षमतामा असर पार्न सक्ने भएकाले यस्तो अवस्थामा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्छ । त्यसैले चालकले लागूपदार्थ सेवन गरे नगरेको परीक्षण गरी जोखिमपूर्ण सवारी सञ्चालन नियन्त्रण गर्न जाँच अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख लिलबहादुर कुँवरले लापसे जाँचबाट लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्ने र त्यस्ता गतिविधि नियन्त्रण गर्ने बताउनुभयो । लापसे जाँच अभियानले लागूपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न, यात्रुको सुरक्षा बढाउन र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
पश्चिम नेपाल बस व्यवसायी अर्घाखाँची प्रमुख कमल भट्टराईले प्रहरी, स्थानीय सरकार र यातायात व्यवसायीबीच समन्वय गरी लापसे जाँचलाई व्यवस्थित गरिने बताउनुभयो । भूगर्भ सिमेन्टले उपलब्ध गराएका ५० वटा लागूपदार्थ सेवन परीक्षण किट सहयोग गरेको थियो ।












