नेपालमा गिद्धको सङ्ख्या पुनः बढ्दै

कुनै समय दक्षिण एसियाबाटै लोप हुने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः बढ्न थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र वासस्थान संरक्षणका कारण नेपालमा गिद्धको सङ्ख्या घट्ने क्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा नेपालसहित भारत, पाकिस्तान र बङ्गलादेशमा गिद्धको सङ्ख्या तीव्र रूपमा घटेको थियो । अनुसन्धानबाट पशु उपचारमा प्रयोग हुने किटानाशक औषधी डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टि भयो । उक्त औषधी प्रयोग गरिएको गाईवस्तुको सिनो खाँदा गिद्धको मिर्गौला काम गर्न छाड्ने र करिब दुई दिनमै मृत्यु हुने गरेको पाइएको थियो । त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या वार्षिक २० देखि ५० प्रतिशतसम्म घटेको थियो।

दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसंकटापन्न, एक संकटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए । त्यसपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए । बङ्गलादेशले सन् २०१० मा प्रतिबन्ध लगाएको थियो । औषधी नियन्त्रणसँगै गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने जटायु रेस्टुरेन्ट, वासस्थान संरक्षण र समुदायमा आधारित संरक्षण अभियानले गिद्धको पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

हालै प्रकाशित वैज्ञानिक अध्ययनअनुसार नेपालमा दुर्लभ डंगर गिद्धको सङ्ख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको छ । गिद्ध विज्ञ कृष्णप्रसाद भुसालका अनुसार सन् २०१२ पछि डंगर गिद्धको सङ्ख्या औसतमा प्रतिवर्ष १२.७ प्रतिशतका दरले वृद्धि भएको हो । यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको अध्ययनले देखाएको छ ।

सडकमार्गमा नियमित गिद्ध गणना, गुँडको निगरानी र स्याटेलाइट ट्यागमार्फत गरिएको अध्ययनले गिद्धको बाँच्ने दर पनि उच्च रहेको देखाएको छ । विभागका उपमहानिर्देशक तथा अध्ययनका सहलेखक वेदकुमार ढकालले ७० वटा डंगर गिद्धमा गरिएको अनुगमनमा वयस्कको वार्षिक बाँच्ने दर ९४.७ प्रतिशत र अल्पवयस्कको ९५.५ प्रतिशत रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बताउनुभयो ।

गिद्धको सङ्ख्या बढ्नुमा प्रजनन सफलताले पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अङ्कित विलास जोशीले सन् २००७ देखि २०२५ सम्म ६ हजार ४१० वटा गुँडको अनुगमन गर्दा औसतमा ६९ प्रतिशत गुँड सफल भएको जानकारी दिनुभयो । विशेषगरी सन् २०१३ देखि २०२५ सम्म प्रजनन सफलतामा सुधार देखिएको छ।

भारतबाट गिद्ध नेपाल प्रवेश गरेकै कारण सङ्ख्या बढेको हो कि भन्ने प्रश्नमा गरिएको अध्ययनले नेपालमै जन्मिएका र यहाँ बाँचिरहेका गिद्धको राम्रो अवस्थालाई सङ्ख्या वृद्धिको मुख्य कारण देखाएको छ । स्याटेलाइट ट्यागबाट नेपाल–भारत आवतजावत प्रमाणित भए पनि गिद्धको जन्मदर र बाँच्ने दरबाट अपेक्षित वृद्धि सडक सर्वेक्षणमा देखिएको वृद्धिसँग मिलेको अध्ययनले जनाएको छ ।

यद्यपि गिद्धको सङ्ख्या बढे पनि सन् १९९० को दशकअघि रहेको अवस्थामा भने अझै पुगिसकेको छैन् । त्यसैले एसिक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेनजस्ता गिद्धका लागि हानिकारक औषधीको प्रयोग रोक्न नियमित अनुगमन आवश्यक रहेको संरक्षणकर्मीको भनाइ छ । नयाँ पशु औषधी बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्ने प्रभाव परीक्षण गर्नुपर्ने सुझावसमेत दिइएको छ ।सिनो खाएर वातावरण सफा राख्ने गिद्ध प्रकृतिको महत्वपूर्ण सफाइकर्मी हो । यसको संरक्षण वातावरणीय सन्तुलन र मानव स्वास्थ्यसँग समेत जोडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार