अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको आयोजनामा आगामी मंसिर १० गतेदेखि लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि सन्धिखर्कको टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका टोलीले सहभागिता जनाउने नगरपालिकाले जनाएको छ । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाउन प्रत्येक टोलीले तीन जनासम्म राष्ट्रिय खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
स्थानीयस्तरमा भलिबल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५० हजार रुपैयाँ, द्वितीय हुने टोलीले एक लाख रुपैयाँ र तृतीय हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रमुख प्रशासकिय अधिकृत प्रमोद खनालले प्रदेशस्तरका उत्कृष्ट खेलाडीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने र खेलकुदमार्फत सन्धिखर्कको पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।












