अर्घाखाँची । नेकपा एमालेका सचिव पद्मा अर्यालले समाजवादी मोर्चाले नेपाली राजनितीमा कुनै प्रभाव पार्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको छैठौं पुर्ण बैठकलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले अस्तित्व रक्षाको निम्ति गठजोड गरेर बनाईएको मोर्चाको क्षणिक आत्मरती लिने बाहेक अर्को कुनै काम नभएको बताउनुभयो ।
गत निर्वाचनमा महागठबन्धन सँग एक्लै भिडेको नेकपा एमाले सँग समाजवादी मोर्चाको कुनै पनि ठाउँमा प्रतिस्पर्धा हुन नसक्ने उहाँको जिकिर थियो । गत निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतको हिसाबले सबैभन्दा ठुलो दल भएको स्मरण गराउँदै उहाँले समाजवादी मोर्चामा सबैदल सामेल भएपनि नेकपा एमालेलाई टक्कर दिन नसक्ने दाबी समेत गर्नुभयो ।
प्रचण्ड नेतृत्वको बर्तमान सरकारका कारण मुलुक असफल राष्ट्र बन्ने खतरा बढेको भन्दै उहाँले हरेक सुचकमा नेपाल कमजोर बन्दै गएको गुनासो गर्नुभयो । नेकपा एमालेले सरकारमा रहेको समयमा राष्ट्रिय स्वाधीनता, बिकास ,सामाजिक न्याय ,आर्थिक र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण काम गरेको स्मरण गाउँदै उहाँले मुलुक बनेको देख्न नचाहनेहरुले षड्यन्त्र मुलक ढंगले एमालेलाई सरकार बाट हटाएको आरोप लगाउनु भयो ।
पुर्व मन्त्री समेत रहनु भएकी नेतृ अर्यालले जनताको अपार समर्थन सहित नेकपा एमालेले फेरि पनि सरकारको नेतृत्व गर्ने र नयाँ उत्साहका साथ काम गर्ने दावी गर्नु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य ठाकुर गैरेले सरकारले पतनको यात्रामा तय गरेको बताउनुभयो । वर्तमान सरकारलाई देश र जनता प्रति थोरै पनि माया नभएको भन्दै उहाँले सरकार जतिसमय चल्छ राष्ट्रले त्यत्तिनै क्षति व्यहोर्नुपर्ने बताउनुभयो । नेकपा एमाले अर्घाखाँचीका जिल्ला ईन्चार्ज समेत रहनु भएका उहाँले अर्घाखाँचीको पार्टी कमिटीलाई अझै गतिशील र जुझारु बनाउने दावी समेत गर्नुभयो । युवा नेता गैरेले नेकपा एमाले सानातिना समस्यामा आत्तिने र सहजतामा मात्तिने पार्टी नभएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश पार्टी स्कुल बिभागका प्रमुख लक्ष्मण ज्ञवालीले नेकपा एमाले सँग तुलना गर्न लायक राजनितीक पार्टी नेपालमा नभएको बताउनुभयो । उहाँले हरेक जटिल परिस्थितिमा मुलुकको बागडोर नेकपा एमालेले समाल्दै आएको भन्दै राष्ट्र निर्माणको निम्ति नेकपा एमाले सधैंव तत्पर रहेको दावी गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले सबै वर्ग ,जाति ,क्षेत्र र समुदायका समस्या नेकपा एमालेले मात्रै समाधान गर्ने वताउनुभयो । उद्देश्य र बिचार बिहिन केही राजनितीक दलहरूले जनतालाई दिग्भ्रमित पार्न खोजेको भन्दै सचेत भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता ,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोज बहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमबहादुर बि.क.,चेतनारायण आचार्य , केन्द्रीय सल्लाहकार समितिका सदस्य नरेन्द्र कुमार क्षत्री ,लक्ष्मण रायमाझी ,प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,प्रदेश कमिटी सदस्य जनार्दन खनाल ,बिजुला रायमाझी ,कुटमदिन अलि,जिवनारायण कोईराला , बुद्धिराम भुसाल ,प्रेमनारायण गैरे,,दलबहादुर भट्टराई ,केवी भुसाल ,प्रमिला क्षेत्री ,सरोज भुसाल ,रामबहादुर रायमाझी ,वावुराम आचार्य ,भविश्वर पाण्डे ,भोजबहादुर गन्दर्व,भरत पौडेल , जिल्ला कमिटीका उपसचिव शम्भु प्रसाद पोख्रेल ,भिम के.सी.लगायतको उपस्थिति थियो ।
अस्तित्व रक्षाको गठजोड समाजवादी मोर्चा हो : एमाले सचिव अर्याल
प्रतिक्रिया दिनुहोस्