७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

नेपालमा विश्वविद्यालय खोल्न हतार, चलाउन संकट

काठमाडौं । पछिल्लो समय विश्वविद्यालयको संख्या थपिने तर ती विश्वविद्यालय सबल नबनेको विषयमा काठमाडौंमा बुधबार छलफल गरिएको छ । नयाँ खुलेको विश्वविद्यालयले विद्यार्थी नपाउने र आर्थिक रुपमा कमजोर हुने समस्या देखिएपछि विश्वविद्यालय अनुदान आयोगले बुधबार यसबारे छलफल कार्यक्रम राखेको हो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय खोलेपछि सञ्चालन तथा व्यवस्थापन गर्ने हैसियतमा पु¥याउनुपर्ने बताए । कमाउन र चलाउन सक्छु भन्ने भिजन उपकुलपतिमा हुनुपर्ने भन्दै उनले भने, ‘नेतृत्वले आफ्नो संस्था उन्नयन गर्न सक्नुपर्छ ।’

आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले सञ्चालनमा आइसकेको विश्वविद्यालयमा समस्या देखिन थालेकोले संवाद सुरु गरेको बताए । हाल गण्डकी विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, मधेश कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालय गरी पाँच विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएका छन् ।

गण्डकी विश्वविद्यालयमा पाँच वटा कार्यक्रममा १८७ जना मात्रै विद्यार्थी छन् ।कार्यक्रममा प्रादेशिक विश्वविद्यालयका पदाधिकारीहरुले अनुदान आयोगले आफूहरुलाई आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले नीति बनाएपछि विश्वविद्यालय खोल्नुपर्नेमा नेपालमा विश्वविद्यालय खुलेपछि नीतिबारे छलफल हुने गरेको बताए । विश्वविद्यालय राम्रो बनाउन त्यसका कार्यक्रम राम्रा हुनुपर्ने उनको भनाइ छ ।

त्रिविका पूर्व उपकुलपति प्रा.डा.तीर्थ खनियाँले नेपालमा विश्वविद्यालय उच्च शिक्षाको आवश्यकता महशुस गरेर भन्दा पनि राजनीतिक कारणले खुल्ने गरेको बताए । ‘मेरो अध्ययनले नेपालमा कुनै पनि विश्वविद्यालय चाहियो भनेर खुलेको छैन । सबै राजनीतिक कारणले खुल्ने गरेको छ । त्रिवि पनि राजनीतिक कारणले नै खुलेको हो’ उनले भने ।

विश्वविद्यालयहरुले विद्यार्थी अध्ययनका लागि विदेश जानुको कारण, विदेशी विश्वविद्यालयका सम्बन्धनका कलेजमा विद्यार्थी आकर्षित हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले आर्थिक सुनिश्चितता गरेर मात्रै विश्वविद्यालय खोल्नुपर्ने बताए ।

‘आर्थिक समस्याकै कारण रेड स्टिकर टाँसेको क्याम्पसमा पढाउन बाध्य छौं । २ वर्षअघि सरकारले शिक्षक कर्मचारीको तलब वृद्धि गर्‍यो तर आवश्यक २४ करोड पठाएको छैन’, उनी भन्छन् ‘गत सालको बजेटमा सरकारले १५ प्रतिशत राष्ट्र सेवकहरुको बढायो तर हामीले बढाउन सकिएको छैन त्यसैले आर्थिक सुनिश्चिता भएपछि मात्रै खोलौं भन्छु ।’

आयोगले विश्वविद्यालय सञ्चालनको लागि न्यूनतम मापदण्ड बनाउनै पर्ने उनले बताए । विदेशी राष्ट्रहरुमा यत्ति वटा विश्वविद्यालय छ हामी किन नखोल्ने भन्ने किसिमको कुराहरु उठिरहे पनि अमेरिका, बेलायत, जापान, अष्ट्रेलियाका विश्वविद्यालय नेपाल लगायत विभिन्न देशबाट गएका विद्यार्थीहरुले धानिरहेको उनी बताउँछन् ।

‘हामी भोलि त्यहाँबाट विद्यार्थी ल्याउँछौं भन्ने सुनिश्चिता भएर बढ्ने कि गइरहेकालाई रोक्ने प्रयास गर्ने भन्ने सोचेर अगाडि बढ्नुपर्छ’ उनले भने ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्याल सुनिश्चितता सबै भन्दा ठूलो कुरा भएकोले आवश्यकता अनुसार विश्वविद्यालय खोले पनि त्यसका सीमाहरु हेर्नुपर्ने बताउँछन् । उनी भन्छन् ‘आवश्यकता अनुसार प्रादेशिक विश्वविद्यालयहरु खोलौं तर उसको डिमार्केसन हेरौं ।’

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले अब प्रादेशिक रुपमा विश्वविद्यालय खोल्दा आर्थिक तथा जनशक्ति पाटो सुनिश्चित गर्नुको साथै बजार माग र अहिलेको आवश्यकता विश्लेषण गर्नुपर्ने बताए ।

सुदूरपश्चिम विश्वविद्यालय खुलेको १४ वर्षसम्म पनि पूर्वाधार निर्माण नभएको उनले बताए । ‘अब प्रादेशिक विश्वविद्यालय खोल्दा आर्थिक तथा विश्वविद्यालयमा आवश्यक जनशक्तिको परिकल्पना पनि पहिल्यै गर्नुपर्छ जसले केही वर्षमा नै दरबन्दी खोल्दै हिँड्नुपर्ने अवस्था आउन दिनुहुँदैन’ उनले भने ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रकाश लामिछानेले विषय विज्ञ अभावको कारण खोल्न लागिएको विश्वविद्यालय कसरी चलाउने भन्नेमा आंशका उब्जिएको बताए ।

संस्कृत विश्वविद्यालयले आयुर्वेदतर्फको बीएमएस कार्यक्रम सञ्चालन गरेको १२ वर्ष हुँदै गर्दा एमडी गरेको जनशक्ति नपाउँदा समस्या भइरहेकाले भोजपुरको दिङ्लामा खोल्ने भनिएको योगमाया आर्युवेद विश्वविद्यालय सञ्चालनमा जटिलता देखिएको उनले बताए । ‘भोलि योगमाया आयुर्वेद विश्वविद्यालयको अवस्था पनि यहीँ आएर कुराकानी गर्नुपर्ने स्थिति आउन नदिऔं भन्ने हो’ उनले भने ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले नयाँ विश्वविद्यालय खोल्ने भन्दा लामो समयसम्म उच्च शिक्षालाई कसरी अगाडि लैजाने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए । नयाँ खुलेकामा विद्यार्थी आकर्षण देखिएपनि दीर्घकालीन रुपमा टिकाउन समस्या रहेको उनको भनाइ छ ।

कृषि तथा वन विश्वविद्यालयको १० आंगिकमध्ये एक विद्यार्थीविहीन भएको र ८ सम्बन्धन प्राप्त निजी क्याम्पस विद्यार्थीविहीन भएको रेग्मीले बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले नयाँ विश्वविद्यालय विशिष्टतासहितको हुनुपर्ने बताए । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई रोक्ने गरी विश्वविद्यायल खुल्नुपर्ने उनको भनाइ छ ।

नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शिलु मानन्धर बज्राचार्यले भने सरकार परिवर्तनसँगै नयाँ विश्वविद्यालय खोल्नु ठीक नहुने धारणा राखिन् । विद्यार्थी घट्नुको कारणबारे बहस गर्नुपर्ने र निष्कर्ष अनुसार रणनीति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव कोइरालाले विश्वविद्यालय स्थापना गर्दा नै कसरी सञ्चालन गर्ने भन्ने नीति बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार