गोपालप्रसाद भट्टराई
अर्घाखाँची । सन्धिखर्क–८ किमडाँडाका व्यवसायिक बाख्रा पालक किसानलाई सन्धिखर्क नगरपालिकाले सहयोग प्रदान गरेको छ । किमडाँडा बाख्रा पकेट समितिलाई बाख्राको नश्ल सुधार गर्ने उदेश्यका साथ नगरपालिकाको पशुसेवा शाखाले ५ वटा बोका हस्तान्तरण गरेको हो ।
कृषिलाई व्यवसायिक बनाएर आर्थिक उपार्जन संगै स्वरोजगार सिर्जना गर्न टेवा पुगोस भनेर बोका,बाख्रालाई दाना बनाउन कुटानीपिसानी मेसिन र बाख्राको रोगप्रतिरोधात्मक औषधि तथा भिटामिन समेत बितरण गरिएको पशुसेवा शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभएको छ । किडाँडामा किसानको ११ लाख र नगरपालिकाको ११ लाख गरि २२ लाखको लगानीमा बाख्रा पकेट घोषणा गरि व्यवसायिक बाख्रा पालन सुरु गरिएको किमडाँडा बाख्रा पकेट समितिका अध्यक्ष राम प्रसाद सापकोटाले बताउनुभएको छ ।
बोका तथा सामाग्री हस्तान्तरण गर्दै सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडेले हरेक किसानलाई व्यवसायिक उत्पादनमा जोडिन आग्रह गर्नुभएको छ । बढ्दो बसाइसराई रोक्न,स्वरोजगार सिर्जना गर्न र खस्किंदो आर्थिक स्थितिलाई सुधार गर्न उत्पादनमा जोडिनुको विकल्प नभएको उहाँको भनाई छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य लिला भुसाल,वडा सदस्य मनकला वि.क.,कृषिशाखा प्रमुख राजेन्द्र भट्टराई र अनुगमन समितिका सदस्य गोकर्ण बन्जाडेले लगायतले मन्तव्य राख्दै उत्पादनमा जोडिने किसानलाई आफुहरुको सहयोग निरन्तर रहने वचन दिनुभएको छ ।