काठमाडौं, । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसिसी, अमेरिकाका सिइओ एलिस अलब्राइटबिच मङ्गलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
सिइओ अल्ब्राइइट र उहाँको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक–सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसिसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
साथै नेपालको संसद्ले नै एमसिसी परियोजना पारित गरेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताउनुभयो। उहाँले परियोजनाका लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत बताउनुभयो। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाका लागि कुनै कमी नहुने विश्वास श्रेष्ठले दिलाउनुभयो।
एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो।
त्यसक्रममा सिइओ अल्ब्राइटले पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुसी व्यक्त गर्नुभयो। एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकारअन्तर्गतको संरचना रहेको उहाँले बताउनुभयो। परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेको समेत अल्ब्राइटले बताउनुभयो।
एमसिसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अङ्ग भएको र यसको कार्यान्वयनले नेपालअमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास सिइओ अल्ब्राइटले व्यक्त गर्नुभयो।