७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

सुत्केरी तीन दिनदेखि भोकै, मध्यराति बाँडिन्छ राहत

(जाजरकोट) । जाजरकोट सदरमुकाम खलङ्गास्थित कस्तुरी सहकारी स्कुलको चौरमा २० वर्षीया विमला तिरुवा चार दिनको बच्चा लिएर बसेकी छन् । प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला उनले दुई दिनदेखि खाना खाएकी छैनन् ।

चौरमा राखिएको टेन्टबाट निस्किएर बाहिर आएकी उनी मंगलबार अपराह्न श्रीमान् रुपेश तिरुवाले ल्याइदिएको समोसा खाँदै थिइन् । ‘खाना किनेर खानलाई होटल खुलेको थिएन, यहाँ पकाउनलाई सामान छैन’, विमलाले अनलाइनखबरसँग भनिन्, ‘ज्यान अहिलेसम्म जोगिएकै छ भनेर चित्त बुझाउने त होला !’

सत्केरी विमलाले तातो पानी समेत खान पाएकी छैनन् । शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सदरमुकाम खलङ्गामा अहिले पानीको समस्या छ । ‘नर्मल पानी त छैन, तातो झन् कहाँबाट ल्याउनु ?’, उनले प्रश्न गर्दै भनिन्, ‘धन्न उहाँ (श्रीमान्) ले बोतलको पानी चाहिँ कताबाट ल्याउनु भएको छ ।’

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार गरेर फर्किएपछि उनी जाजरकोटको कुशे गाउँपालिकास्थित घर जानुपर्ने थियो । तर, भूकम्प गएपछि श्रीमान् रुपेश, आमा र बच्चासहित विमला सदरमुकाम खलङ्गामा अलपत्र परिन् ।

कुशेमा रहेको घर पनि भूकम्पले भत्काइसक्यो । ‘घरसम्म जान पाए खान त केही पाइन्थ्यो कि भनेर पनि सोच्यौं’, उनले भनिन्, ‘तर, जाने बाटो पनि ठाउँ–ठाउँमा भत्किएको रहेछ ।’

जबरजस्ती जाँदा रक्तश्राव भए उपचार गर्नलाई गाउँमा राम्रो अस्पताल छैन । ‘केही भइहाल्यो भने फेरि यहीँ आइहाल्नुपर्छ’, उनले सुनाइन्, ‘बरु जसोतसो यहीँ बस्नुपर्छ भनेर चौरमा सुतेका छौं ।’

उनीसँगै भेरी नगरपालिका–४ की २५ वर्षीया गौरी विक एउटै त्रिपालमा बसेकी छन् । हातमा ८ दिनको बच्चा च्यापिरहेकी उनको पनि समोसाका भरमा दिन कटिरहेको छ । ‘हिजो डाक्टरहरुको टोली आएर नामहरु सोध्नु भएको थियो, अरु कोही आउँदै सोध्दै गरेर जान्छन्’, उनले भनिन्, ‘तर, खानलाई केही छैन, बस्नलाई त झन् के कुरा गर्ने !’

एकद्वार प्रणाली लागू गरेर स्थानीय जनप्रतिनिधिमार्फत राहत वितरणमा भइरहँदा सदरमुकाममा बाहिरका मान्छे भनेर आफूहरुलाई विभेद गरिएको पीडित ३६ वर्षीया गीता केसी बताउँछिन् ।

राहत वितरणमा विभेद भएको गुनासो

विमलाका श्रीमान् रुपेश सोमबार राति २ बजेतिर आएर आफूहरु रहेको आसपासको घरहरुमा राहत बाँडिएको बताउँछन् । ‘दिनमा भएको भए थाहा हुन्थ्यो होला, तर राहत पनि छानीछानी रातिको समयमा बाँडिरहेका छन्’, उनले अनलाइनखबरसँग भने, ‘त्यहीँ पनि भोट हाल्ने र नहाल्ने भनेर छुट्याएर बाँडिएको छ ।’

भेरी नगरपालिका–४ स्थित यो स्कुलको चौरमा बसेकी सुनिता खड्का अहिलेसम्म आफूहरु राहत सामग्री नपाएको बताउँछिन् । ‘त्यत्रो राहत आएको आयै छ, किन त्यस्तो गरेको होला’, उनले प्रश्न गरिन्, ‘समस्या परेकाहरुलाई बाँड्ने हो भने सबैलाई पुग्थेन र ?’

कतिपयले ३, ४ पटकसम्म पनि राहत पाएको तर, कसैले पाउँदै नपाएको उनले गुनासो गरिन् । राहत वितरणमा विभेद गरेको भन्दै केही युवाले भेरी नगरपालिका–४ को वडा कार्यालयमा ताला समेत लगाइदिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार, सदरमुकाम खलङ्गामा प्रायः अन्यत्रका मानिसहरुको बसोबास छ । ‘यहाँका मानिसहरु घर भाडामा दिएर कोही सुर्खेत, नेपालगञ्ज वा गाउँतिर छन्,’ रोकाले भने ।

एकद्वार प्रणाली लागू गरेर स्थानीय जनप्रतिनिधिमार्फत राहत वितरणमा भइरहँदा सदरमुकाममा बाहिरका मान्छे भनेर आफूहरुलाई विभेद गरिएको पीडित ३६ वर्षीया गीता केसी बताउँछिन् । ‘बाहिरको पनि कसरी भन्न सक्छन् ? यहीँ बसेर होटल चलाएको १० वर्ष नाघिसक्यो’, केसीले थपिन्, ‘बच्चाबच्ची पनि हुर्किएर यहीँ यत्रा भइसके ।’


केसीका अनुसार, अति भएपछि उनीसहित केही महिलाहरु जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती लगायतलाई भेट्न गएका थिए । ‘सीडीओ सा‘बसँग त भेट भएन तर, उहाँले जसरी पनि तपाईंहरुलाई व्यवस्थापन भन्ने आश्वासन दिनुभयो, अहिलेसम्म केही सहयोग पाएको छैन’, केसीले भनिन्, ‘अरु नेताहरुसँग कुरा गर्दा राजिव शाह (नेपाली कांग्रेसका नेता) सँग पनि कुरा गर्नुस् भन्नुभयो ।’

उनले भोट भाग्ने बेला सबै हेर्छौं भन्दै माग्ने तर, अफ्ठ्यारो परेको बेला एकअर्कालाई देखाएर पन्छिन खोजेको बताइन् ।

‘दुई जना बच्चा छन्, खाकेको खोक्यै गर्छन्’, खलङ्गाकै २९ वर्षीया पार्वती सुनारले दुःख पोखिन्, ‘हिजो पनि एउटा त्रिपालमा १५ जना सुत्यौं, रात काट्न गाह्रो भएर अँध्यारो पनि नभए हुन्थ्यो जस्तो भइसक्यो ।’

कस्तुरी स्कुलकै चौरमा बसिरहेकी भवानी शाही (२५) सदरमुकाम खलङ्गामा बसेर बच्चाहरुलाई पढाइरहेकी थिइन् । ‘दुई जना बच्चाहरु पढ्छन्, एउटा सानै छ’, उनले भनिन्, ‘भाडाको घर भूकम्पले भत्काएपछि बस्ने ठाउँ भएन, चौरमा बस्नुपरेको छ ।’ बल्ल–तल्ल झगडा गरेर एउटा त्रिपाल ल्याएको सुनाउँदै उनले थपिन्, ‘त्यसमा पनि महिलाजति बच्चाहरुलाई लिएर सुत्छौं, पुरुषहरु बाहिरै आलोपालो गरेर सुत्छन् ।’

उनका भतिज रविनसिंह ठकुरी (१४) पालतो तन्नामा बस्दा बिहान शीत पर्ने र राति चिसो हुने बताउँछन् । ‘१५ जनाभन्दा धेरै एउटै टेन्टमा बस्छौं’, उनले भने, ‘कतिले तीन पटकसम्म पनि ब्ल्याङ्केट र टेन्ट लिए, हामीले पाउँदै पाएनौं ।’

खलङ्गाका हेमन्त बस्नेत सदरमुकाम आसपासका सही पीडितले राहत नै नपाएको बताउँछन् । ‘घर ठिकठाक भएकाहरुले बरु दोहोरो राहत लिएका छन्’, उनले भने, ‘सही पीडितले पाएकै छैनन् ।’

कस्तुरी स्कुल नजिकैकी कमला सिंह राहतमा विवरणमा विभेद हुँदा आफूहरु झन् पीडामा परेको बताउँछिन् । ‘विभेद नभए किन राति–राति आएर आफ्ना मान्छेहरुलाई बाँडे ?’, उनले प्रश्न गर्दै भनिन्, ‘२ बजे राहत लिएर आउनुको कारण के हो ? मर्ने मान्छे बरु सर्लक्क मरेर भए, आनन्द भो । हामी पल–पल मर्ने भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार