७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

छारे रोग कसरी निको पार्न सकिन्छ ?

छारेरोग लागेपछि धेरैमा काम्ने, छोप्ने लक्षण देखिन्छ । यी लक्षणलाई देवीदेवता आएको भन्दै झारफुक गराउने, पागल भएको भन्दै बेवास्ता गर्ने र अस्पतालको पहुँच नहुँदा उपचारमा ढिलाइ हुन गई स्थिति भयावह बन्न सक्छ ।

नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अध्ययनअनुसार नेपालमा यो रोगलाई पहिचान गर्न नसक्दा ७० प्रतिशतले उपचार पाएका छैनन् ।

के हो छारेरोग ? कसरी पार्छ दिमागमा प्रभाव ?

छारेरोग मस्तिष्कमा देखिने एक किसिमको नसर्ने दीर्घरोग हो । दिमागमा भएको कोषले सूचना पठाँउछ । र, त्यो सूचना शरीरको सम्पूर्ण अंगका कोषहरुले गह्रण गर्छन् ।

दिमागमा हुने विद्युतीय तरंगहरुले यी सूचना लगातार रुपमा एक कोषबाट अर्को कोषमा यात्रा गर्दै पुर्‍याउँछ । यी तरंगले हामीले गर्ने जति पनि क्रियाकलाप छन्, त्यसलाई नियन्त्रण र सञ्चालन गर्न मद्दत गरिरहेका हुन्छन् ।

केही कारणवश दिमागभित्र खराबी भएमा आफ्नो गतिमा गइरहेको तरंगमा अवरोध ल्याई असर गर्छ । जसलाई छारेरोग भनिन्छ ।

छारेरोगले यस्ता विद्युतीय तरंगलाई असर गरी यसको लयलाई नै असन्तुलित बनाउँछ । जसकारण मस्तिष्कको एक वा सो भन्दा बढी क्षेत्रमा कोषिकाहरुमा विद्युतीय ऊर्जा विस्फोट हुन्छन् । यस्ता विस्फोट मानिसको चेतना, भावना र मांसपेशीको गतिविधिको परिवर्तनको कारण बन्छ ।

कारण

छारेरोग लाग्ने कारण भनेको दिमागको क्षेत्र संक्रमण, वंशाणुगत, रगत जम्नु, चोटपटक, मेनिन्जाइटिस,  ट्युमर र जुकाको अण्डा परी असर गरेमा छारेरोग लाग्न सक्छ । त्यस्तै दैनिकजसो औषधि अरुको सेवन गर्दा पनि यसको प्रतिक्रियाले छारेरोगको समस्या बढाउँछ ।

यीमध्ये फित्ते जुका दिमागमा पुगेर छारेरोग लाग्नेको संख्या बढी छ ।

कसलाई हुन सक्छ छारे रोग ?

सागपातमा भएको जुका दिमागमा पुग्नसक्छ

फित्ते जुका सुँगुरको पेटमा हुन्छ । जुन मलबाट बाहिर निस्कन्छ । सो मल सागसब्जी सपार्न प्रयोग गरिन्छ । त्यस्ता साग तथा तरकारीहरुमा फित्ते जुका (टेप वार्म)को अण्डा टाँसिएको हुन्छ । यदि राम्रोसँग केलाएर सफा पानीले पखालेर खाने हो भने शरीरमा प्रवेश गर्न पाउँदैन । तर बारम्बारजसो सुँगुरको मलयुक्त तरकारी राम्रोसँग पखाल्न पेटबाट जुका आन्द्रा हुँदै दिमागमा पुग्छ । दिमागमा पुगेपछि छारेरोग लाग्न सक्छ ।

प्रकार

जेनरलाइज्ड एपिलेस्पी

एकाएक होस हराउँछ । यसको कारक तत्व वंशाणुगत, मधुमेह अति घट्नु वा बढ्नु, रगतमा नुन र क्याल्सियमको मात्रा कम हुनु, बच्चामा ज्वरो आउनु र कसैमा दिमागमा संक्रमण हुनु हो । यस्तोमा एक्कासि झट्का हानी बेहोस हुनसक्छ ।

फोकल एपिलेस्पी

शरीरको एक भागमा मात्र झट्का हान्ने, हातखुट्टा बटार्ने जस्ता समस्या देखिन्छन् । यसको कारक तत्व संक्रमण, दिमागमा दाग देखिनु, जुकाको अण्डा पर्नु, क्षयरोग र चोटपटक लाग्नु हुन् ।

छारेरोग संकेतको रुपमा पनि देखिन्छ’

छारेरोग आफैंमा एउटा रोग हो । तर ट्युमर र मेटाबोलिक सिन्ड्रोममा यो संकेतको रुपमा देखिन सक्छ । यस्तोमा छारेरोग हो वा कुनै रोगको संकेत भनेर कसरी छुट्याउने ? प्रश्न उठ्न सक्छ ।

यदि पटक-पटक छारे हानिरहन्छ भने त्यो छारेरोग हो । तर छोटो समयसम्म झट्का हान्छ र केही समय पछि निको हुन्छ भने त्यो रोगको संकेत मात्र हुनसक्छ । यस्ता रोगको संकेतलाई सिजर भनिन्छ ।

 

लक्षण

छारेरोग भन्ने बित्तिकै झट्का हान्ने मात्र बुझिन्छ । तर यसबाहेक पनि अन्य लक्षण छारेरोगमा देखिन सक्छ । ती हुन् ।

-झट्का हान्ने

-शरीर काम्ने

-मुखबाट फिंज काट्ने

-शरीर लाटो हुने वा झमझमाउने

-आँखामा झिल्का हान्ने

-बोल्दा बोल्दै जिब्रो लडबडाउने

-बिरामी एकटक्क भएर टवाल्ल पर्ने र मुख मिठाउने

यी लक्षणमा सबैभन्दा भयानक भनेको पटक-पटक झट्का हान्नु हो ।

शरीरको कुन भागमा झट्का हान्छ ?

कुन भागमा झट्का हान्छ भन्ने कुरा दिमागको कुन अंग नियन्त्रण गर्ने विद्युतीय तरंगमा अवरोध आएको छ । त्यसमा भर पर्छ । जस्तै, दायाँ हातको क्रियाकलाप गराउने भागमा असर परेको छ भने दायाँ हाततर्फ झड्का हान्ने वा असमान्यखालको फरक देखिन सक्छ । शरीरको बायाँपट्टिका अंग भए सोही भागतर्फ झड्का हानि मुर्छा परी लडाउन सक्छ ।

यस्तो झट्का जुनसुकै समयमा पनि लाग्न सक्छ । त्यस्तै, बोलीको नियन्त्रण गर्ने क्षेत्रमा असर भएमा बोली लडबडाउने, बोल्न कठिन हुने वा स्वर नै नआउन सक्छ । आँखाको क्षेत्रमा भए झिल्का हान्ने र हुँदै नभएको दृश्य आँखा अगाडि घुम्ने हुनसक्छ ।

झट्का हान्दा तत्काल के गर्ने ?

छारे जुनसुकै बेलामा हुनसक्छ । झट्का हान्दा कुनै दुघर्टना हुन नदिन अट्याक आएको देख्नेबित्तिकै परिवारका सदस्यले सुरक्षित ठाँउमा लैजानुपर्छ ।

झट्काको साथै फिंज पनि काट्न सक्छन् । बिरामीलाई खोल्टो पारी राख्नुपर्छ । जसले फिंज र बान्ता सजिलै बाहिर जान्छ । फिजलाई पुस्दिन सकिन्छ । दाह्रा किट्दा मुखमा चम्चा र औंला राख्दिनु हुँदैन ।

त्यस्तै, यो क्रममा सकिन्छ भने एकजनाले भिडियो बनाउन सकिन्छ । ताकि चिकित्सकलाई लक्षणअनुसार उपचार गर्न सहज होस् । सम्भव छ भने तत्कालै अस्पताल पुर्‍याउनुपर्छ ।

पहिचान

छारेरोग भए नभएको पहिचान गर्न दिमागको सिटी स्क्यान र एमआरआई गरिन्छ । यसले दिमागमा के कस्तो खराबी भएको देखाउँछ । दिमागमा दाग छैन तर छारेको समस्या छ भने ईईजी गरेर हेरिन्छ । कुनै संक्रमण वा मेटाबोलिक डिसअर्डर (मधुमेह, क्याल्सियम र सोडियम घटबढ) छ कि छैन भनेर पत्ता लगाउन रगतको पनि परीक्षण गर्नुपर्ने हुनसक्छ ।

पचार

छारेरोग औषधिबाट नियन्त्रण गर्न सकिन्छ । कसैलाई एउटा औषधिले काम गर्छ भने कसैलाई दुई-तीनवटा औषधि चाहिन सक्छ ।

औषधि कम डोजबाट सुरु गर्दै उच्च डोजमा पुर्‍याउनुपर्छ । औषधि कति समयसम्म खाने भन्ने कुरा बिरामीमा भरपर्छ । कतिपय बिरामीले आजीवन नै औषधि खानुपर्ने हुनसक्छ ।

कतिपय अवस्थामा औषधिले मात्र नियन्त्रण नहुन सक्छ । जसलाई ‘ड्रग्स रेसिसटेन्स इपिलेसी’ भनिन्छ । यस्तोमा शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ ।

जटिलता

उपचार भएन भने दिमागको शक्ति कम भई सुस्त हुन्छ । स्मरण शक्ति नियन्त्रण हुँदैन । अर्को भनेको झट्का जुनसुकै समयमा हुनसक्ने हुँदा आकस्मिक दुर्घटना हुनसक्छ । जस्तै, आगोले पोल्ने, लड्ने, कतै ठोक्किएर चोटपटक लाग्न सक्छ ।

उपचारपछि सहज जीवनयापन

उपचारपछि लामो समयसम्म बाँच्ने मात्र होइन, सहज जीवनयापन गर्न सकिन्छ । यसका उदाहरण हुन्- फ्रान्स क्रान्तिको नेतृत्व गर्ने नेपोलियन बोनापार्ट, विश्व विख्यात दार्शनिक सुकरात, वैज्ञानिक तथा चित्रकार लियोर्नादो दा भेन्ची, अमेरिकाका पूर्वराष्ट्रपति थियोडोर रोजेभेल्ट जस्ता महान् हस्ती । उनीहरुको प्रगतिलाई छारेरोगले रोक्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार