अर्घाखाँची । समयमा बजेट पास गर्न नसक्ने पाणिनि गाउँपालिका कार्यसम्पादनमा अर्घाखाँचीका ६ स्थानीय तह मध्ये सबैभन्दा कम अंकभार लिदै फेल भएको छ । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीका ३ स्थानीय संगै पाणिनि गाउँपालिका सबैभन्दा कम २८.६७ अंक सहित फेल भएको हो ।
जनप्रतिनिधीको विवादले समयमै पटक पटक बजेट पारित हुन नसक्नु,आन्तरिक किचलोले एम्बुलेन्स लामो समय सम्म सञ्चालन हुन नसक्नु,चालक नियुक्ति जस्ता समस्याबाट गाउँपालिका गुज्रिदै आएको थियो । यसको असर कार्यसम्पादन मुल्याकनमा पनि परेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभर मै पहिलो हुदा ३ स्थानीय तह भने फेल भएका हुन् ।
कार्यसम्पादन मुल्यांकनमा पास हुनका पालिकाले कम्तिमा ४० अंकभार ल्याउनुपर्ने हुन्छ तर ३ पालिकाले भने ४० अंकभार ल्याउन सकेनन् ।
६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका ६१.८१ अंक सहित नेपालमै प्रथम भएको छ भने छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौँ हुन सफल भएको छ । यस्तै मालारानी गाउँपालिका भने ४१.४१ अंक प्राप्त गरी पास भएको छ ।
यता देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा ३३.४६ अंक प्राप्त गरेको छ । भूमिकास्थान नगरपालिकाले ३८.०३ र पाणिनि गाउँपालिकाले २८.६७ अंक प्राप्त गरी फेल भएका छन् ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।
स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ ।
समयमा बजेट पास गर्न नसक्ने पाणिनि गाउँपालिका कार्यसम्पादनमा अर्घाखाँचीका ६ स्थानीय तह मध्ये सबैभन्दा कम अंकभार लिदै फेल
खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्