हेटौंडा । नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशमा पनि नयाँ समीकरणबारे चर्चा सुरु भएको छ ।
केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बने पनि बागमती प्रदेशमा यी चार दलको मात्र प्रदेशसभामा बहुमत पुग्न सक्दैन ।
हाल बागमती प्रदेशमा माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादी छ । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकारबाहिर छ ।११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सदस्य छन् ।
बागमतीमा एमाले र माओवादीले मात्र सरकार बनाउन सक्ने छैनन् । दुई पार्टीको कुल सांसद संख्या ४८ छन्, प्रदेशसभामा बहुमत पुर्याउन उनीहरुलाई थप ८ जनाको समर्थन चाहिन्छ । यदि एमाले-माओवादीले राप्रपाको समर्थन लिएमा सहजै सरकार बन्छ ।
तर उनीहरुले राप्रपालाई सहभागी नगराउने निर्णय गरिसकेका छन् । एमाले-माओवादीले एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउँदा पनि आवश्यक बहुमत पुग्दैन । तर एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी दुवैलाई सहभागी गराए मात्र प्रदेशसभामा बहुमत पुग्छ ।