सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट भएको छ। आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ४ र जनता समाजवादी पार्टी (जसपा) लाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हो।
बाँकी ४ मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
अहिलेसम्म गृह मन्त्रालय रास्वपा सभापति रवि लामिछानेले पाउने लगभग निश्चित भएको छ भने अर्थ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलबाट बनाउँदा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने सम्भावना बढेको छ।
प्रधानमन्त्री प्रचण्डले सोमबार (फागुन २१ गते) मात्र कांग्रेससँगको गठबन्धन भंग गर्दै एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन्।
उनले सोमबार नै पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ ३ मन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। जसमा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बनेका छन्। तर उनीहरूको मन्त्रालय तोक्न बाँकी छ।