अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नगरपालिकाको कागजात चोरी र किर्ते सिफारिस गर्नेको खोजी र कार्बाही गर्न कुनै कसुर बाँकी नराख्ने स्पष्ट पार्नुभएको छ । भूमिकास्थान–९ सानडेभामा रहेको चुनढुङ्गा उत्खनन गर्न नदिने भूमिकास्थानको कार्यपालिकाको निर्णय बिरुद्ध फर्जि सिफारिस गरि खानी खोल्ने प्रयत्न जो बाट भएको भएपनि आफुहरुले माफि नदिने उहाँको जिकिर छ ।
चुनढुङ्गा उत्खनन सम्बन्धि खानी तथा भू–गर्भ विभागले पठाएको पछिल्लो पत्र नगरप्रमुखले सार्वजनिक नगरेको आरोप लगाउँदै उप–प्रमुख बालकृष्ण बन्जाडे सहित १३ जना कार्यपालिका सदस्यले आयोजना गरेको पत्रकार सम्मेलनमा उठेका सवालको जवाफ दिंदै नगरप्रमुख थापाले यस्तो जिकिर गर्नुभएको हो । भूमिकास्थान नगरपालिकाको २०८० मंसिर ५ गते जारि भएको भनिएको चलानी नम्बर ५८५ नम्बरको खानी खोल्न दिने सहमतीको आशय झल्किने पत्रमा आफ्नो संलग्नता नरहेको र सरकारी कागजात किर्ते गरि राज्यको सम्पत्ति दुरुपयोग गर्नेका बिरुद्ध आफुले मुद्धा दायर गरिसकेकोले
जो कोहि भएपनि कार्बाहीको दायरामा ल्याइ छाड्ने उहाँले वचन समेत दिनुभएको छ ।
भूमिकास्थानको उक्त बिषय सरकारवादी मुद्धामा जानेभएको र आवस्यक प्रक्रिया पुरा गर्न केहि ढिलाई भएपनि मुद्धा दर्ता भइसकेको जानकारी दिंदै नगरप्रमुख थापाले मुद्धाको फैसला छिटो गराउन सबैले सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । पत्रकार सम्मेलनमा नगर उप-प्रमुख बालकृष्ण बन्जाडेले नगरपालिकामा प्राप्त पत्र पढ्न नपाएकोमा आफुहरुकाेआपत्ति रहेको भन्दै दोषि नउम्काउन र निर्दोष नफसाउन सबै सचेत हुनुपर्ने बताउनुभएको छ । यस्तै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले काम बिशेषले आफू केहिदिन कार्यालय बाहिर बिदामा बस्दा पत्र आदान–प्रदानमा समस्या भएको भन्दै नगरपालिकाको प्रशासनिक सेवाप्रवाहलाई अझ सहज र चुस्त बनाएर लैजाने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल सहितका जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मिहरुको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा भूमिकास्थान–४ का अध्यक्ष एवं नगरप्रवक्ता बाबुराम पन्थीले किर्ते सिफारिसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पुष्टी भए कार्बाही भोग्न तयार रहेको धारणा व्यक्त गर्नुभएको छ । आफु स्वास्थ्य उपचारमा जिल्ला बाहिर रहँदा आफ्नो व्यक्तिगत जिवनमाथि आँच आउनेगरि बिभिन्न भ्रम सिर्जना गरिएको भन्दै उहाँले सामाजिक संजाल प्रयोगकर्ताप्रति आक्रोश समेत पोख्नुभएको छ ।
यस्तै भूमिकास्थान-५, का वडा अध्यक्ष जयगोपाल श्रेष्ठ, भूमिकास्थान-६, का वडा अध्यक्ष प्रेमनारायण वेल्वासे, भूमिकास्थान-७, का वडा अध्यक्ष रामचन्द्र ढुङ्गाना र भूमिकास्थान-१०, का वडाध्यक्ष खगिश्वर पन्थीले आफ्नो धारणा राख्दै नगर प्रमुख थापाले आफुहरुसंग सहकार्य नगर्दा पत्रकार सम्मेलन गर्नुपरेको बताउनुभएको छ । २०७९ सालमा निर्वाचित जनप्रतिनिधि आएपछि २ पटक कार्यपालिकामा निर्णय नै गरेर सानडेभामा चुनढुङ्गा उत्खनन नगर्ने निति बनाएको नगरपालिकामा चुनढुङ्गा उत्खननको पक्षमा भएका गैह्र कानुनी गतिविधिको बिषय भूमिकास्थानमा पेचिलो बन्दै गएको छ ।