१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

न्युरोड प्रकरणले ओलीमाथि नै खनिए मेयर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा पेटी बनाउन सडक काट्न अवरोध भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपित गरेका छन् ।

महानगरपालिका २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनसँग पछिल्लो कार्यपालिका बैठकमा मेयर शाहको यसै विषयमा भनाभन भएको थियो ।

न्युरोडका स्थानीय जनता र व्यवसायीको पक्षमा उभिएका वडाध्यक्षले सडक उसै पनि साँघुरो रहेको भन्दै थप चौडाइ कटाएर फुटपाथ बनाउँदा सवारी आवागमन नै नहुने भन्दै मेयर शाहको कदमको विपक्षमा उभिएका थिए ।

मेयरको निर्देशनमा भएको सडकको चौडाइ कटाउने कार्य सडक डिभिजनले रोकेको छ । संयोगवश भौतिक पूर्वाधार मन्त्री एमालेकै रघुवीर महासेठ र न्युरोडका वडाध्यक्ष पनि एमालेकै भएकाले बालेन एमाले नेतृत्वप्रति नै खनिएका हुन् ।

सोमवार बिहान आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी- स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

न्युरोडको सडक काट्ने काम डिभिजनले रोकेकै दिन बालेनले रिङरोड विस्तारमा ढिलाइ गरेको भन्दै सडकको धुलो संकलन गरेर विभाग अगाडि फालेका थिए भने मन्त्रीको घरमा समेत फाल्ने चेतावनी दिएका थिए ।

त्यसलगत्तै कार्यपालिका बैठकमा वडाध्यक्षहरूले मेयरको कदमको आलोचना गरेका थिए । बालेनले एमाले नेतृत्वतिर न्युरोड प्रकरण तेर्स्याएपछि एमाले अध्यक्ष ओलीले अर्काको घरमा फोहोर फालेर समाधान नहुने भन्दै उनको आलोचना गरेका थिए ।

प्रतिवादमा बालेनले आज फेसबुकमार्फत ओलीप्रति तीव्र आरोप लगाउँदै कुनै दिन साँच्चिकै गिरिबन्धुको फाइल खोल्ने व्यक्ति आउने चेतावनी दिएका छन् ।

काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघुर्‍याउन थालेको भन्दै सडक डिभिजन काठमाडौंले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन भनेको थियो। महानगरले सडक नटालेपछि सडक डिभिजन काठमाडौंले सोमबार बिहानबाट सडक टाल्न थालेपछि मेयर बालेन सिंगो एमालेमाथि खनिएका हुन् ।

न्युरोडको प्राचिन स्वरुप जोगाउनुपर्ने भन्दै वडाध्यक्ष महर्जनले स्थानीयसँग मिलेर बालेनको कदमको विपक्षमा गतिविधि गरिरहेका छन् । उनले लोकप्रियताको आडमा मेयरले काठमाडौंको सभ्यता र स्थानीयको पहिचानमाथि हमला गरिरहेको आरोप समेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार