१० साउन २०८१, बिहिबार
१० साउन २०८१, बिहिबार

मूलधारका पार्टीप्रति अनास्था र अविश्वास सिर्जनाबाट समाज पछाडि धकेलिने छः महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले समाजमा मूलधारका राजनीतिक दलहरूप्रति जुन खालको अनास्था र अविश्वास पैदा गर्ने काम भइरहेको छ, यसले समाजलाई पछाडि धकेल्ने काम मात्रै गर्ने बताउनुभएको छ ।
महासचिव पोखरेलले भएका ठुला राजनीतिक दलहरू पाखा लगाएर वा नयाँ राजनीतिक दल खोलेर नेपालको राजनीति सही बाटोमा नजाने बताउनुभयो । दाङको तुल्सीपुर उपमहानगरपालिका–११, मालेडाँडा, हसनापुरमा शनिबार कम्युनिष्ट नेता श्रीमणि आचार्यको शालिक अनावरण गर्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।
महासचिव पोखरेलले भन्नुभयो– अमेरिकामा सयौं बर्षदेखि दुईवटा पार्टीबीच प्रतिस्पर्धा चल्दा अमेरिका अगाडि बढ्न सक्ने, संसदीय व्यवस्थाको जननी बेलायतमा सयौं बर्षदेखि कन्जर्भेटिभ पार्टीमा सुधारको एजेण्डा बोकेर समाज अगाडि बढ्नसक्ने, नेपालमा कांग्रेस पनि भएन, एमाले पनि भएन भनेर चाहिँ नानाभाँतीका पार्टी खोल्ने भनेको देशलाई बर्बाद पार्ने कुरा हो । समाजलाई अल्मल्याउने कुरा हो भन्ने बुझ्न जरूरी छ ।
‘अहिले कतिपयले पार्टीहरूले गर्न सकेनन्, अब स्वतन्त्र भन्छन्, राजनीतिमा स्वतन्त्रको कुनै अर्थ हुन्छ ? कुनै अर्थ हुँदैन । त्यो समयलाई बर्बाद गर्ने कुरा मात्रै हो’, चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– स्वतन्त्रका नाममा पार्टी, अर्को मजाकको कुरा हो । राजनीति भनेको सिद्धान्तमा आधारित हुन्छ, विचारमा आधारित हुन्छ, उद्देश्यमा आधारित हुन्छ भन्ने बुझ्नुपर्दछ । यो न्यूनतम ज्ञान पनि हुँदैन भने राजनीति नगर्दा हुन्छ ।
‘अगाडि दीपक गिरीजी (नेपाली कांग्रेसका नेता तथा सांसद)ले नेपालको राजनीतिभित्र जुन प्रकारका समस्याहरू छन् त्यसलाई समाधान गर्नका लागि प्रमुख पार्टीहरू नै मिलेर अगाडि बढ्नुपर्दछ भन्ने खालको मान्यता अगाडि सार्नुभयो । हामी सङ्कटका बेला मिलेका पनि छौं । मिल्दा हामी लामो यात्रा तय गरेर मिल्ने ठाउँमा पुगेका छौं भन्ने कुराको इतिहासको तथ्यलाई हामीले बुझ्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

पञ्चायत के कारणले ३० बर्ष टिक्यो ?
खासगरी पुष्पलालले आफ्नो जीवनकालमा एउटा मान्यता अगाडि सार्नुभयो– पञ्चायतको अन्त्यका लागि संयुक्त जनआन्दोलन । उहाँले पटक पटक विश्वेश्वर प्रसाद कोइरालासँग प्रस्ताव राख्नुभयो । तर विश्वेश्वर प्रसाद कोइराला एउटा कारणले सदैव सशङ्कित रहनुभयो र त्यो कुरालाई स्वीकार गर्नुभएन । विश्वेश्वर प्रसाद कोइरालाले भन्नुभयो, तपाई र हामी मिल्यौं भने पश्चिमाहरूले राजालाई साथ दिन्छन् ।
त्यही कारणले पञ्चायत ३० बर्षसम्म टिकिरह्यो । तर जब मदन भण्डारी र गणेशमान सिंहले यस विषयमा विमर्श गर्नुभयो, मुलुकले संयुक्त जनआन्दोलनको बाटो समात्न सक्यो । त्यस अर्थमा विश्वास प्राप्त गर्ने कुरा महत्वपूर्ण प्रश्न हो भन्ने मलाई लाग्दछ । सही नीति भएर मात्रै हुँदैन, सही नीतिलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि विश्वासयुक्त वातावरण महत्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु ।
कांग्रेस नयाँ शिराबाट अगाडि बढ्न तयार भएन
खासगरी २०७९ को निर्वाचन पछाडि झण्डै दुईतिहाइको गठबन्धनले बहुमत ल्याउनबाट चुक्यो । नेकपा (एमाले) जसले बहुमतका लागि जनतामा गएको थियो, उसले बहुमत प्राप्त गर्न सकेन, दोस्रो दलमा खुम्चिन पुग्यो । त्यसपछि नेकपा (एमाले)का तर्फबाट म आफैले एउटा मान्यता सार्वजनिक गरेँ– अहिले जनताले हामीलाई राज्यको नेतृत्व गर्ने जनादेश दिनुभएन । र, गठबन्धनले पनि जनादेश पाउन सकेन । त्यस अर्थमा नेकपा (एमाले) प्रस्ताव गर्दछ, गठबन्धन असफल भएको अवस्थामा नयाँ ढङ्गले अगाडि बढ्नका लागि गठबन्धनमा रहेका ठूला दलहरू तयार हुन्छन् भने हामी तिनै दलको नेतृत्वमा सरकार बनाउन तयार छौं । यो नेकपा (एमाले)को प्रस्ताव थियो । म दीपक गिरीजीलाई सम्झना गराउन चाहन्छु । हामीले कांग्रेसलाई पनि प्रस्ताव पठायौं, माओवादीलाई पनि प्रस्ताव पठायौं ।
मुलुकमा गठबन्धनका नाममा जुन प्रकारको गठबन्धन बनेको छ, त्यो राष्ट्रको हितमा थिएन, छैन । त्यस अर्थमा नयाँ शिराबाट अगाडि बढौं भन्ने हिसावले प्रस्ताव गरियो तर किन हो नेपाली कांग्रेस तयार भएन । प्रचण्डजी तयार हुनुभयो, हामीले प्रचण्डजीलाई प्रधानमन्त्री बनायौं । तर उहाँ दुई महिना पनि टिक्न सक्नुभएन, माओवादी र कांग्रेस मिलेर सरकार बनाउनुभयो । तर मुलुक दिनप्रतिदिन ओरालो लागेको लाग्यै भयो ।
हामी त मिसन–२०८४ भनेर सत्ताको राजनीतिबाट अलग बस्न खोजिरहेका थियौं । सत्ताको राजनीति हाम्रा लागि यो अवधिमा प्राथमिकताको विषय होइन भन्ने नेकपा (एमाले)को आफ्नो मान्यता र विश्वास थियो । तर मुलुक बर्बाद हुन थालेपछि, व्यवसायीहरूले भन्न थाले, एमाले सत्ता बाहिर बसेर मुलुक बर्बाद हुन्छ भने एमालेले मिसन–२०८४ भनिरहन मिल्छ र ? भन्ने प्रश्न उठेपछि फेरि हामीले कांग्रेसलाई पनि प्रस्ताव पठायौं, माओवादीलाई पनि प्रस्ताव पठायौं तर कांग्रेस तयार भएन, माओवादी तयार भयो र अहिलेको नयाँ समीकरण बन्यो ।
त्यसकारण दीपकजीको प्रस्तावलाई नेकपा (एमाले)ले अस्वीकार गरेको होइन । कांग्रेसको नेतृत्वले नै अस्वीकार गर्दाको परिस्थिति हो भन्ने कुरालाई बुझेर विश्वासको वातावरण निर्माण गर्ने खालको कुरा चाहिँ महत्वपूर्ण प्रश्न हो भन्ने कुरा म राख्न चाहन्छु । किनकि नेपालको राजनीतिका सन्दर्भका बारेमा कसरी अगाडि बढ्ने भन्ने खालको कुरामा सम्बन्धित दलको मुख्य नेतृत्वले नै दृष्टिकोण बनाउन सक्दैन भने तपाईं हामीले तलबाट गर्ने चिन्ताको खास अर्थ हुँदैन भन्ने मलाई लाग्छ ।
वर्तमान समीकरण २०८४ को चुनावसम्म
तर, हामी नयाँ समीकरणमा गइसकेपछि के भन्ने गरेका छांै भने अहिले हामीलाई प्रधानमन्त्री चाहिएको छैन । धेरैले आलोपालो प्रधानमन्त्रीका कुरा गर्दै छन्, हामी भनिरहेका छौं, यो समीकरणलाई हामी आगामी चुनावसम्म कायम राख्न चाहन्छौं । एमाले किन यस प्रकारको निष्कर्षमा पुग्यो भन्ने कुरा चाहिँ शायद राजनीतिक नेतृत्व जसले फरक पाटोको आवश्यकता ठान्दछ उसले महशुस गरेको छ कि छैन भन्ने कुरा नै मुख्य कुरा हो भन्ने मलाई लाग्दछ ।
नारायणजीले नयाँ यात्राको थालनी भन्नुभयो । जहाँसम्म नयाँ यात्रा थालनीको कुरा छ, यो नयाँ नयाँ प्रयोग गर्ने कुरा भन्दा पनि मेरो आग्रह छ– पुरानै पार्टीभित्र सुधार खोजौं । कांग्रेस मन पर्नेले कांग्रेसभित्रै सुधार खोजौं । कम्युनिष्ट मन पर्नेले एमालेभित्रै सुधार खोजौं । हो, निरङ्कुशताको समयमा धेरै पार्टी भएर फरक पर्दैनथ्यो । तर विकास र समृद्धिका लागि थोरै पार्टी चाहिन्छ । बलिया पार्टी चाहिन्छ । त्यही अर्थमा मैले भन्ने गरेको छु, अब धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलको खाँचो छ ।
नेपालमा जनताको बलिदानीपूर्ण सङ्घर्षको नेतृत्व गरेका राजनीतिक दलहरू चाहिँ काम नलाग्ने, सामाजिक सञ्जालमा सेलिब्रेटी भएका आधारमा राजनीतिक गर्ने वित्तिकै त्यो चाहिँ सफल हुन्छ भन्ने हुन्छ र ?
म तपाईलाई सुनाउन चाहन्छु, भारतमा फिल्मी क्षेत्रबाट अमिताभबच्चन चुनाव लडे र जिते पनि । तर उनले दोस्रो पटक यो मेरो क्षेत्र होइन भनेर आफ्नै क्षेत्रमा लागे । अहिले सफल कलाकारका रूपमा परिचित छन् । तर हामीकहाँ के भएको हो, एउटा क्षेत्रमा थोरै चर्चा पाउन शुरू गरेको हुँदैन, त्यसपछि उसले राजनीतिको सपना देख्न थालिहाल्छ । समाजलाई विभाजित गरिहाल्छ ।
अर्थात् राजनीति आफैमा एउटा त्याग, तपस्या, बलिदानबाट गुज्रने चिज हो भन्ने कुरा पनि हेक्का नराखी अर्को कुनै विधामा प्राप्त गरेको सफलता राजनीतिको सफलता हुन सक्छ ? किमार्थ हुन सक्दैन । राजनीति आफ्नै मूल्य मान्यतामा उभिएको हुन्छ भन्ने कुरा बुझ्नुपर्दछ ।
विचारको जगमा ध्रुवीकरण
राजनीतिलाई विचारको जगमा ध्रुवीकरण गर्ने कुरा नै उचित कुरा हो तर त्यसको अर्थ के होइन भने विचार नमिल्नेहरूबीचको सम्बन्ध चाहिँ कटुतापूर्ण हुन्छ ।
महासचिव पोखरेलले अगाडि भन्नुभयो– राजनीतिमा प्रतिस्पर्धा आफ्ना ठाउँमा छ, सम्बन्ध आफ्ना ठाउँमा हुन्छ । हो, नेपाली काँग्रेस नेकपा (एमाले)को प्रतिस्पर्धी पार्टी हो तर नेपालको राजनीतिमा योगदान गरेका पार्टीहरू यि दुई नै हुन् । कुन नीतिका आधारमा यो समाजलाई अगाडि बढाउने भन्ने कुरामा नीतिगत बहस गर्नुपर्दछ । काँग्रेस उदार प्रजातन्त्रको बाटोबाट अगाडि बढ्न चाहन्छ । हामी समाजवादी बाटोमा अगाडि बढ्न चाहन्छौं । यो स्पष्ट भिन्नता छ । आजको काँग्रेसको नीति भनेको उदार पुँजीवाद हो । नेकपा (एमाले)को नीति भनेको समाजवादतर्फ जाने कुरा हो । यही चिज बुझेर राजनीति गर्दा हुन्छ । को कता लाग्ने भन्ने कुराको निर्धारण यसैले गर्दछ ।
तर मुलुकको संरचनागत प्रश्नमा, राज्यको संरचनागत प्रश्नमा, लोकतन्त्रका आधारभूत मूल्यका प्रश्नमा कांग्रेस, एमाले जस्ता पार्टीहरू एकठाउँ उभिएनन् भने समाजलाई अस्थिरतातर्फ लैजानेहरू बलिया हुन सक्छन् । त्यस अर्थमा हामीले लोकतन्त्रका आधारभूत मूल्यहरूमा चाहिँ सदैव समझदारी राख्नुपर्दछ । एक आपसमा विश्वास गर्नुपर्दछ ।
श्रीमणिको जीवन सङ्घर्ष प्रेरणादायी
त्यो विश्वासको धरातल श्रीमणि आचार्यजस्ता अग्रजहरूबाट हामीले प्राप्त गर्न सक्छौं । श्रीमणि राजनीतिक सहकार्यका लागि अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो । श्रीमणिको जन्मठाउँमा शालिक निर्माणले उहाँको राजनीतिक कर्मथलोको रूपमा सम्झना गराइरहने विश्वास व्यक्त गर्दै महासचिव पोखरेलले भन्नुभयो– यो उहाँको राजनीतिक जीवन सङ्घर्षबाट प्रेरणा लिने माध्यम बन्ने छ भन्ने म ठान्दछु ।
उहाँले शालिक निर्माणको महत्वपूर्ण पहलकदमी र निर्णयका लागि यस वडाका वडाध्यक्ष मानबहादुर राउत लगायत खानेपानीका सम्पूर्ण उपभोक्तालाई धन्यवाद दिनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– वास्तवमा आम जनताका तर्फबाट श्रीमणि आचार्यले प्राप्त गरेको यो सम्मान राजनीति गर्नेहरूका लागि अत्यन्त उदाहरणीय हो भन्ने म ठान्दछु । शालिक त धेरैका बनेका छन् । तर जनताले आफ्नो नेताका रूपमा शालिक बनाएको यो उदाहरणीय बन्न पुगेको छ भन्ने मलाई लाग्दछ ।
श्रीमणि आचार्यलाई कसले कसरी बुझ्यो भन्ने आ–आफ्ना भोगाइ छन् होला । सबैको मानस पटलमा श्रीमणि जीवित हुनुहुन्छ, यो नै मुख्य कुरा हो भन्ने म ठान्दछु । सबैका अनुभूतिहरू एउटै हुनुपर्छ भन्ने छैन । कसैले कुनै कोणबाट त कसैले कुनै कोणबाट उहाँलाई सम्झिरहेका छौं । तर, सबैले कुनै न कुनै रूपमा सम्झना गरिरहेका छौं । यसरी सम्झना गर्ने आधार तयार गर्नु भनेको मान्छेको जीवनको सफलता हो भन्ने म ठान्दछु ।
विभिन्न निर्वाचनमा श्रीमणिले सफलता हासिल गर्न सक्नुभएन तर जीवनको सार्थकता चुनावको सफलतामात्रै होइन । समग्र जीवनको सफलताको विषय मुख्य कुरा हो भन्ने कुरा श्रीमणिको जीवन सङ्घर्षले बताउँछ ।
कुनै एउटा क्षेत्रमा असफल हुँदा वित्तिकै मान्छे असफल हुँदैन । मान्छेको सफलता उसको समग्र जीवन सङ्घर्षमा कसरी प्रकट भएको छ भन्ने कुराले मान्छे सफल र असफल भन्ने देखाउँछ । हामी इतिहासमा देख्ने गर्दछौं, थुप्रै प्रधानमन्त्री, मन्त्री, विभिन्न महत्वपूर्ण पदमा रहेका व्यक्तिहरू समयक्रममा जनताको स्मृतिबाट हराउनसक्छन् । थोरै मान्छेहरू मात्रै हामी सम्झन्छौं । राष्ट्रकै नेतृत्व गरेका कतिपय मान्छेहरू पनि विस्मृतिमा गैसके । तर आज हामी श्रीमणिलाई सम्झना गरिरहेका छौं । उहाँका जीवन सङ्घर्षहरू हाम्रा लागि प्रेरक छन्, त्यसकारण हामी उहाँलाई सम्झिरहेका छौं ।
श्रीमणिको जीवन सङ्घर्ष राजनीतिक दलहरूलाई एकठाउँमा ल्याउने आधार पनि बन्यो । यो आफैमा एउटा महत्वपूर्ण उपलब्धि हो ।

दाङ एकताबद्ध हुनुपर्छ, टरिगाउँ एयरपोर्ट बन्छ
दाङ जिल्लाका सन्दर्भमा कुरा गर्दा सबभन्दा ज्यादा टरिगाउँ विमानस्थलका सन्दर्भमा जोडेर मलाई सबभन्दा धेरै कांग्रेसका मित्रहरूले आलोचना गरेको गर्यै गर्नुभयो । म तपाईहरूलाई बताउन चाहन्छु– टरिगाउँ विमानस्थल पारिवारिक सम्बन्धसँग जोडिएको विमानस्थल हो । जसले टरिगाउँमा जहाज ल्यायो भन्ने गरिन्छ (झक्कुप्रसाद), उहाँ मेरो भान्जादाइ हुनुहुन्थ्यो, त्यसकारण म त्यस विमानस्थलसँग पारिवारिक र भावनात्मक सम्बन्ध भएको व्यक्ति हुँ । अर्कोतिर टरिगाउँ विमानस्थलसँग जोडिएको विद्यालयमा पढेको विद्यार्थी हुँ म । त्यस अर्थमा टरिगाउँ विमानस्थल शंकर पोखरेलले बनाउन चाहन्न भन्ने जुन प्रचार गरियो, वास्तवमा भन्ने हो भने दाङको मनोविज्ञानलाई त्यसैले चित्रण गर्दछ भन्ने मलाई लाग्दछ । हामी कस्तो प्रकारको ‘स्याडिस्ट’ मनोविज्ञानको शिकार भएका छौं भन्ने कुराको दृष्टान्त केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदाखेरि मैले आफैले प्रस्ताव गरिकन तुल्सीपुर विमानस्थल विस्तारका लागि नीतिमा पनि, कार्यक्रममा पनि र बजेटमा पनि राख्न लगाएँ ।
तर सरकार नौ महिना चलेन । त्यसपछि नयाँ सरकार बन्यो । नयाँ सरकारको पर्यटनमन्त्री बन्नुभयो, नेपाली कांग्रेसका नेता जीवन बहादुर शाही । त्यसपछि कांग्रेसका नेता पर्यटन मन्त्री भएकाले स्वाभाविक रूपमा कांग्रेसका साथीहरूले मेहनत गर्ने नै हुनुभो । उहाँहरूले अत्यन्त मेहनत गरिकन ठूलो टोली लिएर आउनुभयो । तुल्सीपुर विमानस्थल विस्तार गर्नका लागि प्राविधिक टोली लिएर आउनुभयो । उहाँहरूले मेहनत नगरेको होइन, गर्नुभो तर त्यो टोलीले रिपोर्ट के दियो त भन्दाखेरि तुल्सीपुर विमानस्थल विस्तार गर्न उपयुक्त छैन । त्योभन्दा उपयुक्त ठाउँ नारायणपुर हो भनेर त्यही टोलीले दिएको प्रतिवेदन नागरिक उड्डयन मन्त्रालयमा सुरक्षित छ ।
यो कुरा उहाँहरूले कहिल्यै भन्नुभएन । त्यस टोलीले नारायणपुर उपयुक्त हुनसक्छ भनेकाले दोस्रोपल्ट केपी ओली प्रधानमन्त्री भएपछि नारायणण्पुरमा खोज्ने कुरा भयो । नारायणपुर बजारको उत्तरतर्फ नाराजुलुस शुरु भयो । मेयरको कार्यालय घेर्न थालियो । यहाँ विमानस्थल बनाउन पाइँदैन भनेर । जनताले नै बनाउन पाइँदैन भनेपछि बनाउने कसरी ? अर्थात् त्यहाँ रहस्य के रहेछ भन्दाखेरि ऐलानी, पर्ती जग्गाहरूचाहिँ स्थानीय जनताले भोगचलन गरिरहेका रहेछन् । अधिग्रहण गर्दाखेरि ऐलानी, पर्ती जग्गाको मुआब्जा त पाइँदैन । त्यो नाराजुलुसमा कांग्रेसले नेतृत्व गर्यो । हाम्रा साथीहरू पनि सामेल हुनुभयो । एमालेकै साथीहरू पनि नाराजुलुसको नेतृत्व गर्नुभयो र उत्तरतर्फ बनाउने प्रयास असफल भयो ।
त्यसपछाडि दक्षिणतर्फ अध्ययन भयो । दक्षिणतर्फ अध्ययन गर्दा कस्तो प्रकारको निष्कर्ष निस्क्यो त भन्दाखेरि एसियाकै एयरपोर्टहरूमध्येको सबभन्दा उपयुक्त एलाइन्मेण्ट छ भन्ने निष्कर्ष निस्क्यो । यो निष्कर्ष नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष हो । मैले त्यो निष्कर्षका सन्दर्भका बारेमा कांग्रेसका, माओवादीका माननीयजीहरूलाई पनि बोलाएर छलफल गरेँ, छलफल गर्दा यो रिपोर्ट बेठीक छ भनेर उहाँहरू कसैले पनि भन्नुभएन । दाङ आइसकेपछि बाँडियो दाङ । कसैले तुल्सीपुर एयरपोर्ट हुँदाहुँदै अर्को किन ? भनेर बहस गर्न थाल्नुभयो । त्यस पछाडि न नारायणपुर बन्छ, न टरिगाउँ बन्छ ! को अवस्थामा पुग्यो । यो सत्य हो ।
त्यसपछाडि तुल्सीपुर उपमहानगरपालिकाले अध्ययन गरी एउटा रिपोर्ट तयार गर्यो । त्यसमा उत्तर दक्षिणको एलाइन्मेण्ट तयार गर्ने हो भने करिब पन्ध सोह्रसय मिटरसम्मको विमानस्थलको धावनमार्ग तयार गर्न सकिन्छ भन्ने रिपोर्ट तयार गर्यो । त्यसपछि हामीले छलफल गरेर बन्दै नबन्नुभन्दा त उत्तरदक्षिणकै भए पनि बनाउँ भन्ने हिसावले ल ठीक छ भनी सम्बन्धित निकायलाई भन्यौं ।
त्यसकारण यता कि उता भन्ने विवाद अन्त्य गरौं, तुल्सीपुर उपमहानगरपालिकाले जुन अध्ययन गरेको छ, यो अध्ययनका आधारमा उत्तर दक्षिणको धावनमार्ग बनाउने गरी पन्ध्रसय मिटरको धावनमार्ग बनाइयो भने आज चल्ने ७२ सिट भएको हवाइजहाज बस्न सक्छन् । यद्यपि हावा चलेको बेलामा हवाइजहाज बस्न सक्दैन । किनकि पश्चिमबाट हावा चल्दछ, उत्तरदक्षिणको धावनमार्ग जोखिमपूर्ण हुन्छ । नहुनुभन्दा हावा नचलेको समयमा बस्न सक्ने भएपनि ठीक छ भन्ने गरी बनाउनुपर्छ, टुइनेटरबाट मानिसले यात्रा गर्ने छैनन् कि नेपालगञ्ज वा भैरहवा जान्छन् । यो दङाली आफैले भोगेको सत्य हो ।
हामीले के बुझ्नुपर्छ भने विमानस्थल बनाउने विषय अब टुङ्गिएको छ । यसमा बजेट कति पर्यो, परेन भन्ने विषयमा चिन्ता नगर्नुस् । टरिगाउँ एयरपोर्ट बन्दछ । यसैरूपमा बुझ्न म अनुरोध गर्न चाहन्छु । दाङ एकताबद्ध भयो भने यो काम अगाडि बढ्छ ।
विकास बजेटबारे चिन्ता गर्नुपर्ने छैन
अर्को विषय अहिले बजेटमा दाङ प्राथमिकतामा परेन भन्ने गुनासाहरू छन् तर दाङका रोकिएका आयोजनाहरूको पैसाका बारेमा चिन्ता गर्नुपर्ने कुरा केही छैन । भालुवाङदेखि शिवखोलासम्मको बाटो एमसीसी परियोजना अन्तर्गत बन्दछ । त्यो अर्बौंको योजना हो । त्यसका लागि बजेटमा राखिराख्नुपर्दैन । त्यो नमूना सडक बन्ने छ ।
लमही–तुल्सीपुर सडक जुन चार लेनका रूपमा निर्माण गर्ने भनिएको, वास्तवमा त्यो चारलेन थिएन । कतै चार लेन त कतै दुई लेन । मैले प्राविधिकहरूलाई भनेँ– दाङ उपत्यकाभित्र दुईलेन र चारलेन गर्नुपर्ने कारण के छ ? प्राविधिकहरूले कतै जङ्गल होला भने । दाङ उपत्यकाभित्र कतै जङ्गल होला भन्ने कुराको कसले धारणा विकास गर्यो ? दुईलेन र चारलेन गरेका कारण म मुख्यमन्त्री भएको समयमा त्यो परियोजनालाई रोकेर चारलेन बनाउनका लागि प्रयत्न गरेँ । प्रयत्न गर्दागर्दै सरकार ढलिहाल्यो ।
त्यसपछि मैले डिल्ली चौधरीजीलाई जिम्मा लगाएँ । तपाईंको त देउवाजीसँग राम्रो सम्बन्ध छ, तपाईंको जिम्मा हो है यो चारलेन बनाउने भनेर । अध्ययन भइसकेको छ अब यो काम अगाडि बढाउने जिम्मा तपाईंको हो भनेँ, तर त्यो अन्तिममा गएर दुईलेन र चारलेनमै काम शुरू हुन थालिहाल्यो । रोकेको काम पनि दुईलेन र चारलेनमा काम अगाडि बढ्ने भएपछि, तपाईहरू अहिले देख्नुहुन्छ कतै दुईलेनका स्ट्रक्टर बनेका छन्, कतै चार लेनका । त्यसपछि ठेक्का अगाडि बढ्न सकेन ।
अहिले समग्र सडक चारलेनको बनाउन ठेक्का प्रक्रिया शुरू भएको छ र त्यो अन्तिम चरणमा प्रवेश गरेको छ । हामी किन बनेन भनेर हतारिन्छौं । दुईलेन र चारलेनको सडक बनाउने तमासालाई सुधार त गर्नुपथ्र्यो नि ? अब सुधारिएर तुल्सीपुरसम्म चार लेनको रूपमा त्यो अगाडि बढ्ने छ । त्यसका लागि पैसाको कुनै अभाव हुँदैन भन्ने कुरा म राख्न चाहन्छु । दाङका यी दुई ठूला परियोजनाका सन्दर्भमा कुनै द्विविधा नराख्न म अनुरोध गर्न चाहन्छु ।
निर्णय गर्ने ठाउँमा सक्षम र योग्य प्रतिनिधित्व
जहाँसम्म हामीले दाङ बनाउने सन्दर्भमा भूमिका खेल्नसक्ने प्रभावकारी नेतृत्व राष्ट्रिय राजनीतिभित्र स्थापित गर्न सक्यौं भने दाङ बन्ने प्रक्रिया तीब्र हुन्छ, गर्न सकेनौं भने कम प्राथमिकतामा पर्छ । त्यस अर्थमा म के भन्न चाहन्छु भन्दाखेरि निर्णय गर्ने ठाउँमा सक्षम मान्छेहरू पुर्याउने खालको कुरा महत्वपूर्ण कुरा हो । पार्टी राजनीतिमा भूमिकाका हिसावले भन्ने हो भने महासचिव छु, मैले भन्दाखेरि दुईचारवटा काम भैहाल्लान् तर निर्णय अर्काले गर्दछ । त्यस अर्थमा निर्णय गर्ने ठाउँमा सक्षम र योग्य मान्छेहरू रहने कुराले नै दाङको विकासमा योगदान पुग्दछ भन्ने मान्यतालाई हामीले बुझ्न जरूरी छ । योग्य र सक्षम मान्छे को छ ? भनेर छुट्याउने जिम्मा त जनताकै हो भन्ने म ठान्दछु । जनताले २०७९ सालमा जे निर्णय गर्नुभएको छ, त्यसलाई म सम्मान नै गरेको छु । जसले जित्नुभएको छ, उहाँहरूले दाङ बनाउने जिम्मा लिनुपर्दछ । हामी सबैले साथ दिनुपर्दछ । दीपक गिरीजीले यो क्षेत्रको प्रतिनिधि हुँ, म सबैको साझा हुँ भन्नुभो, हो उहाँ सबैको साझा हो, हामी सबैले साथ दिनुपर्दछ ।
त्यसैगरी २ नम्बर क्षेत्रमा रेखाजी (रेखा शर्मा) हुनुहुन्छ, हामी सबैले साथ दिनुपर्दछ । तरिका यही नै हो । किनकि जसमाथि भरोसा गरेका छौं, उसलाई साथ दिनुपर्दछ । काम हुन सकेन भने विकल्प खोज्नु पर्दछ । दाङका जनप्रतिनिधिले जे सहयोग खोज्नुहुन्छ, त्यो सहयोग गर्नका लागि म सदैव तयार छु ।
सङ्कल्प आवश्यक
म तपाईहरूलाई अर्को कुरा बताउन चाहन्छु, प्रदेशको राजधानी निर्माणका सन्दर्भमा भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ । अरु कुनै प्रदेशका भवनहरू बनेका छैनन् । भवन बन्दै छ त लुम्बिनी प्रदेशको मात्र बन्दै छ । तर कार्यालय भवन बनाएर मात्र पुग्दैन । हामीले एउटा व्यवस्थित र सुन्दर राजधानीको परिकल्पना गरेको हो । त्यस्तो राजधानीका लागि विदेशी ऋण सहायता लिएर भए पनि राजधानी बनाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा भएको छ, उहाँहरू विदेश ऋण सहायता (एफडिआई)का लागि तयार हुनुहुन्छ, किनकि हामीले राजधानी बनाईसकेपछि त्यसबाट भएको आम्दानीबाटै ऋण तिर्न सक्दछौं । राप्ती नदीमा आधुनिक तटबन्ध निर्माण गर्ने हो भने झण्डै सातसय विगाहा जमिन निस्कन्छ र त्यो जमिन विक्री गर्दा नै राजधानी निर्माण गर्ने पैसा निस्कन्छ । त्यसकारण यहाँ पैसाको समस्या होइन, सङ्कल्पको आवश्यकता हो ।
जहाँसम्म बेल्टाकुरा– हसनापुर खानेपानीको सन्दर्भ छ, श्रीमणि आचार्यको अनुरोधमा म पनि यसमा जोडिने मौका पाएको थिएँ । त्यस्तै बेल्टाकुरा–हसनापुर सडकमा पनि म हुकुम बहादुर बस्नेत र मानवहादुरजीको अनुरोधमा जोडिएको थिएँ । श्रीमणि र शोभाराम बस्नेत जन्माउने यो ठाउँ अहिले यातायातका दृष्टिकोणले सुगम बन्न पुगेको छ भन्ने मलाई लाग्छ । र, हामीले उहाँहरूप्रति सम्मान गर्ने भनेको जिम्मा पाएकाहरूले उहाँहरूले देखनुभएका सपना पूरा गर्नका लागि भूमिका खेल्ने पनि हो भन्ने मलाई लाग्छ । दाङको विकासका सन्दर्भमा पनि कुनै न कुनै कोणबाट काम गर्दा नै विकास हुने हो । कतै शोभारामलाई त कतै श्रीमणिलाई सम्झेर काम गरौं, वा अरु कुनै नेतालाई सम्झेर काम गरौं, तर दाङका जनतालाई फाइदा हुने काम गरौं । त्यसले सबैका लागि लाभ दिन्छ । त्यस हिसावले काम गर्दा दाङ बनाउन सकिन्छ भन्ने म ठान्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार