अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढि आन्तरिक आम्दानी गर्न सफल भएको छ । ५७ लाख रुपैंया संकलन गर्ने लक्ष्य राखेको भूमिकास्थानले गत आर्थिक बर्ष २०८०/०८१ मा ७५ लाख बढि आन्तरिक आम्दानी गरेको हो ।
गत आर्थिक बर्षमा भूमिकास्थानले सम्पादन गरेका विकास निर्माण र सेवा प्रवाहको बिषयमा शुक्रबार गरिएको सामाजिक परिक्षण कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा आन्तरिक आम्दानी बढेको देखाइएको छ । जसमा भूमिकास्थानले गत बर्ष लक्ष्य भन्दा १८ लाख बढि अर्थात ७५ लाख ५८ हजार ८ सय ७२ रुपैंया आन्तरिक आम्दानी गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगरप्रमुख झविलाल थापाले सिमित स्रोतलाई अधिकतम उपयोग गरि समृद्ध पालिका बनाउने अभियानमा आफुहरु लागेको बताउनुभएको छ । नगरको दिगो विकास र समृद्धिका निम्ती कृषि, पर्यटन र
उत्पादनलाई केन्द्र भागमा राखेर अगाडि बढेको जानकारी गराउँदै नगरप्रमुख थापाले सबैको सकरात्मक सहयोगको खाँचो औल्याउनुभएको छ ।
कार्यक्रममा उठेका सवालको जवाफ दिंदै नगरप्रमुख थापाले बाँझो जग्गामा खेती गरि बेरोजगारलाई काम दिने कर्मशिल जनशक्ति परिचालन कार्यक्रम महत्वकांक्षी भएपनि निकै फलदायी हुँदै गएको जिकिर गर्नुभएको छ ।
नगरप्रमुख थापाले कर्मशिल जनशक्ति परिचालन, पढ्दै कमाउँदै रमाउँदै विद्यालय कार्यक्रम र व्यवसायिक कृषि, पर्यटन र उद्योगका कार्यक्रमलाई योजनाबद्ध रुपमा अगाडि बढाएको ब्रिफिङ्ग गर्नुभएको छ । भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको गुणस्तरिय सेवा प्रवाहलाई पनि परिणाममुखि बनाउन पालिकाको सिंगो टिम अहोरात्र खटिरहेको नगरप्रमुख थापाको भनाई छ ।
कार्यक्रममा बोल्दै भूमिकास्थान नगर उपप्रमुख बालकृष्ण बन्जाडेले भ्रष्टाचारलाई शुन्य बनाउँदै समृद्ध नगर विकासको अभियानमा आफुहरु रहेको बताउनुभएको छ । शिक्षक तथा कर्मचारी नियुक्तिमा अन्यन्त्र ठुलो चलखेल हुने गरेको सुनिने भन्दै नगरउपप्रमुख बन्जाडेले भूमिकास्थानमा त्यस्तो
चलखेलको कुनै गन्ध नआउने तर्क गर्नुभएको छ ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले कर्मशिल जनशक्ति परिचालन कार्यक्रम नेपालकै नमुना कार्यक्रम भएको दाबी गर्दै आन्तारिक आम्दानी वृद्धिमा सो कार्यक्रमको समेत हात रहेको बताउनुभएको छ । शुसासन
र पार्दशिता कायम राख्दै नागरिकलाई सहज सेवा प्रवाह आफुहरुको पहिलो शर्त हुने भन्दै कर्मचारीको तर्फबाट नगरविकासमा कुनै कमि नराख्ने वचन दिनुभएको छ ।
कार्यक्रममा भूमिकास्थान–५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, कार्यपालिका सदस्य ठाकुर सौराग, भूमिकास्थानका योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालले पनि हलमा उठेका सवालको जवाफ सहित आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले पछिल्लो समय तथ्यमा भन्दापनि लहडमा बोल्ने र चर्चामा आउने प्रवृति बढेकोले त्यसमा सचेत हुन आग्रह गर्नुभएको छ ।
रचनात्मक सुझाव र आलोचनाले आफुहरुलाई हौसला मिल्ने भन्दै उहाँहरुले विकासको अभियानमा हातेमालो गर्न आग्रह समेत गर्नुभएको छ ।
बोर्डरलेस मिडिया हब प्रा.लि.को सहजीकरणमा सम्पन्न कार्यक्रममा राजनितिक दलका नगरस्तरिय नेताहरु, १० वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य,विभिन्न मा.वि.का प्रधानध्यापकहरु, वडा सचिवहरु, पालिकाका विभिन्न शाखाका प्रमुख, पत्रकार तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।