काठमाडौं, २५ भदौ ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बताएका छन् । उनीहरूले असामान्य परिस्थितिको सामना गर्न पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
नेताद्वयले युवा पुस्ताद्वारा सञ्चालित भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा प्रहरी गोली लागेर १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । “मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र पीडित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ,” विज्ञप्तीमा उल्लेख छ ।
पोखरेल र ज्ञवालीले शान्तिपूर्ण प्रदर्शनको पूर्वघोषणाका बाबजुद हिंसात्मक गतिविधि कसरी भयो भन्ने विषयमा यथार्थ छानबिन गर्नुपर्ने माग गरे। साथै, “यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ,” भनिएको छ ।
दुवै नेताले यस्तो विषम परिस्थितिमा पार्टीलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अघि बढ्न आह्वान गरेका छन् । “हामी निरङ्कुशतन्त्र, द्वन्द्व, सामाजिक विद्वेष र विपत्तिसँग जुझ्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधैँ रहँदैन, बदलिन्छ,” विज्ञप्तीमा भनिएको छ ।
तिनीहरूले पार्टी पंक्तिलाई नियमित सम्पर्कमा रहन, सामूहिक समाधान खोज्न, प्रशासनसँग समन्वय गरेर सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति–सुरक्षा कायम राख्न र राहत प्रदान गर्न आग्रह गरे ।
राजनीतिक समाधानका लागि राष्ट्रपतिलाई पहल गर्न आग्रह गर्दै विज्ञप्तीमा भनिएको छ ः “सार्थक संवाद सुरु गर्न, सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा संवोधन गर्न संविधानसम्मत पहल आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कमजोर गर्नु हुँदैन, बरु थप सुदृढ बनाइनुपर्छ ।”
देशभर भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न तथा जनताको ज्यान–धनको सुरक्षा प्रभावकारी बनाउन नेपाली सेना सहित सबै सुरक्षा निकायलाई सक्रिय हुन नेताद्वयले हार्दिक आह्वान गरेका छन्।