अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको ‘शिव भाइरल पहाड’ अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावले यो स्थान छोटो समयमै चर्चित बनेको हो । मनमोहक दृश्य र शान्त वातावरणका कारण यहाँ दैनिक पर्यटकको चहलपहल बढ्दो छ ।
महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको छ । केही वर्ष अघिसम्म सामान्य चट्टानी पहाडका रूपमा चिनिने यो क्षेत्र अहिले दैनिक सयौं पर्यटकको गन्तव्य बनेको छ । महेन्द्र राजमार्ग निर्माणका क्रममा चट्टानी पहाड काटेर सडक विस्तार गरिएपछि बनेको यो भू–आकृति सुरुवातमा खासै चर्चामा थिएन ।
तर, समयसँगै यहाँ खिचिएका आकर्षक तस्बिर तथा भिडियोहरू फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसको परिचय व्यापक रूपमा फैलियो । अहिले त अवस्था यस्तो बनेको छ कि, राजमार्ग हुँदै यात्रा गर्ने धेरैजसो सवारी साधन यहाँ केहीबेर रोकिने गर्छन् । यहाँ पुग्नेहरू चट्टानी बनावट, हरियाली परिवेश र माथिबाट देखिने मनोरम दृश्यमा रमाउने मात्रै होइन, सामाजिक सञ्जालका लागि आकर्षक सामग्री पनि सिर्जना गर्छन् ।
यस पहाडको अर्को महत्वपूर्ण पक्ष भनेको यसको धार्मिक स्वरूप हो । स्थानीय बासिन्दा तथा शिवराज नगरपालिकाको सक्रियतामा यहाँ भगवान शिवको चित्र कोर्ने, नागको मूर्ति स्थापना गर्ने तथा विभिन्न शिवलिङ्गहरू राख्ने कार्य गरिएको छ ।
यसले पर्यटकहरूमा आध्यात्मिक आकर्षण थपेको छ । स्थानीय रोन्द्र विक भन्छन्, ‘पहिला यो ठाउँ सामान्य पहाड मात्रै थियो, अहिले भने धार्मिक र पर्यटकीय दुवै हिसाबले चिनिन थालेको छ ।’ धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संयोजनले यहाँ आउने आगन्तुकलाई फरक अनुभूति दिलाउने गरेको छ ।
हाल दैनिक रूपमा करिब ४०० देखि ५०० जनासम्म आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । विशेषगरी सार्वजनिक बिदा, शनिबार र चाडपर्वका अवसरमा यहाँको भीड अझ बढ्ने गरेको छ ।
चट्टानका आकर्षक तहहरू, वरिपरिको हरियाली वातावरण र माथिबाट देखिने महेन्द्र राजमार्गको मनोरम दृश्यले यहाँ पुग्ने जो–कोहीलाई सहजै मोहित बनाउँछ । विशेषगरी सूर्योदय र सूर्यास्तको समयमा यहाँको दृश्य अझ मनमोहक देखिने भएकाले फोटो तथा भिडियो पारखीहरूको रोजाइमा यो स्थान पर्न थालेको छ । शान्त वातावरण, प्राकृतिक बनावट र धार्मिक आस्थाको संयोजनले आगन्तुकलाई फरक अनुभूति दिलाउने गरेको छ । स्थानीय रोन्द्र विकले राजमार्गमा यात्रा गर्ने यात्रुहरूले सवारी साधन रोकेर फेसबुकमा राख्नको लागि मात्र पनि भएपनि फोटो खिचेर जाने गरेको बताउनुभयो ।
तर, बढ्दो पर्यटक चापसँगै यहाँ केही चुनौतीहरू पनि देखिएका छन् । पर्याप्त पूर्वाधारको अभाव, व्यवस्थित पार्किङ स्थलको कमी, सरसफाइ व्यवस्थापन तथा सुरक्षासम्बन्धी समस्या अझै समाधान हुन बाँकी छन् । अर्घाखाँचीबाट घुम्न पुग्नुभएका लक्ष्मण घिमिरेले भन्नुभयो, ‘यदि स्थानीय तहले समयमै आवश्यक पूर्वाधार र व्यवस्थापनमा ध्यान दियो भने शिव भाइरल पहाडलाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।’











