सन्धिखर्क नगरपालिकाले स्थानीय तहबाटै कर सेवा प्रवाह सुरु गरेपछि सेवाग्राहीहरू उत्साहित बनेका छन् । यसअघि सामान्य करसम्बन्धी सेवा लिन टाढासम्म धाउनुपर्ने बाध्यता खेप्दै आएका स्थानीय अहिले आफ्नै नगरपालिकाबाट सेवा पाउँदा खुसी भएका हुन् ।
नगरपालिकाले पहिलो पटक कर सेवा कार्यालय सञ्चालनमा ल्याएसँगै नागरिकले सहज, छिटो र झन्झटमुक्त सेवा पाउन थालेका छन् । यसअघि करसम्बन्धी कामका लागि बुटवल तथा कृष्णनगरसम्म पुग्नुपर्ने अवस्था रहेको थियो । जसका कारण समय, श्रम र आर्थिक खर्च बढ्ने गरेको सेवाग्राहीको गुनासो थियो । अब भने नगरपालिकाबाटै सेवा उपलब्ध हुन थालेपछि व्यवसायी, उद्योगी तथा सर्वसाधारणलाई ठूलो राहत मिलेको छ ।
नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुसार कर सेवा सञ्चालन गरिएको बताउँदै आगामी दिनमा थप प्रविधिमैत्री र प्रभावकारी सेवा विस्तार गरिने जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत प्रमोद खनालले स्थानीय तहबाट कर सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ बढ्ने बताउनुभयो ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०२/१६ को निर्णयअनुसार सेवाग्राहीका दरबन्दी सेवा कार्यालयहरू खारेज गरी ती कार्यालयबाट प्रदान हुने आयकर सेवाहरू सम्बन्धित स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ।
कर चुक्ता प्रमाणपत्र लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । यसले कर सेवा अब नागरिकमैत्री र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। प्रमुख कर अधिकृत कृष्णनगर,कपिलवस्तु कृष्णप्रसाद न्यौपानेले प्रविधिको सहायताले सेवा प्रवाहलाई थप सरल र पारदर्शी बनाइने जानकारी दिनुभयो । विशाल महतले कार्यक्रममो सञ्चालन गर्नुभएको थियो











