तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि गर्मीबाट राहत खोज्नेहरूको रोजाइ अर्घाखाँचीको नरपानी–सुपा देउराली क्षेत्र बनेको छ । शीतल हावापानी, प्राकृतिक सौन्दर्य कारण यतिबेला यहाँ स्वदेशी तथा भारतीय पर्यटकको उल्लेख्य भीड देखिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगेबाट करिब ५८ किलोमिटर दूरीमा रहेको नरपानी गर्मीयाममा चिसो वातावरणका लागि परिचित छ । तराईका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती सहरबाट दैनिक सयौं पर्यटक यहाँ पुग्ने गरेका छन् ।
नर्तनाञ्चल पर्वतको मनोरम दृश्य, हरियाली जंगल र शीतल हावाको आनन्द लिने गरेका छन् । गर्मी छल्न आउने अधिकांश पर्यटक परिवार तथा साथीभाइको समूहमा पुग्ने गरेका छन् । सुपा देउराली नरपानी रिसोर्टका सञ्चालक पदम केसीका अनुसार रिसोर्टका २० वटा कोठा १ हप्ता अगाडी देखी नै बुकिङ हुने गरेको बताउनुभयो । “बुकिङ गर्नेमा अधिकांश भारतीय नागरिक र केही तराई क्षेत्रका नेपाली छन्,” उहाँले भन्नुभयो, “तराई र भारतका सहरमा अत्यधिक गर्मी छ, तर नरपानीमा अहिले पनि राति सिरक ओढेर सुत्नुपर्छ ।”
भारतको सिद्धार्थनगरबाट परिवारसहित आएका पुरन महतोले सुन्दर पहाड,चिसो हावा, प्राकृतिक दृश्य र स्थानीय खानाको स्वादले निकै आनन्द दियो,” उहाँले भन्नुभयो । फेरि साथीभाइसँग नरपानी आउने योजना रहेको बताउनुभयो ।
नेपाल–भारत सीमा कृष्णनगरबाट नरपानी पुग्न सहज भएकाले भारतीय पर्यटकको आकर्षण वर्षेनी बढ्दै गएको छ । गर्मीयाममा नरपानी र सुपा देउराली क्षेत्रका होटल तथा रिसोर्टहरू भारतीय पर्यटकले भरिने गरेका छन् । यहाँ आउने पर्यटकले स्थानीय गहुँको रोटी, लोकल कुखुराको झोल, खसी–बोकाको मासु, सागसब्जी र अन्य नेपाली परिकार विशेष रुचिका साथ खाने गरेका छन् ।
पर्यटकको बढ्दो आगमनलाई मध्यनजर गर्दै नरपानीदेखि करिब दुई किलोमिटर दूरीमा रहेको पोखेडाँडामा ४० भन्दा बढी होमस्टे सञ्चालनमा आएका छन् । सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्रा क्षेत्रीले गाउँले परिवेशमा बस्न चाहने पर्यटकका लागि होमस्टे प्रभावकारी विकल्प बनेको बताउनुभयो । “होटलभन्दा सस्तो, स्थानीय खानाका परिकार र पारिवारिक वातावरणका कारण होमस्टे लोकप्रिय बन्दै गएका छन्,”उहाँले भन्नुभयो ।
नरपानी क्षेत्रबाट हिमश्रृंखला, नर्तनाञ्चल पर्वत, खाँचीलेक, सदरमुकाम सन्धिखर्क तथा आसपासका पहाडी गाउँबस्तीको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । यही प्राकृतिक र धार्मिक विशेषताले नरपानीलाई गर्मी छल्ने प्रमुख गन्तव्यका रूपमा स्थापित गरिरहेको छ ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नरपानीको पर्यटन प्रवद्र्धनसँगै स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वाधार विकासका काम अघि बढाइएको बताउनुभयो । “पर्यटनमार्फत स्थानीयको आर्थिक अवस्था राम्रो भइरहेको छ,”उहाँले भन्नुभयो ।
सन्धिखर्क नगरपालिका–७ नरपानीका वाड अध्यक्ष चुरा केसीले नरपानी क्षेत्रमा रहेका करिव १ सय होटलहरु अहिले कुनै खाली हुने नगरेको बताउनुभयो । तराई र भारतको चर्को गर्मीबाट राहत खोज्नेहरूका लागि अर्घाखाँचीको नरपानी यतिबेला शीतल आश्रयस्थल मात्र होइन, धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनको आकर्षक केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।











