भवन बने, सेवा आएन,अलपत्र १५ शय्याका अस्पताल

अर्घाखाँची जिल्लामा करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएका अस्पताल भवन वर्षौँदेखि सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेका छन् । १५ शय्याका आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएका भवनहरू जनशक्ति तथा सञ्चालन खर्चको अभावका कारण अलपत्र परेका हुन् ।
जिल्लाको भूमिकास्थान नगरपालिका,मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकामा निर्माण सम्पन्न भएका अस्पताल भवनहरू हस्तान्तरण भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । करिब ३८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएका यी संरचनाहरू प्रयोगविहीन बन्दै जाँदा राज्यको ठूलो लगानी जोखिममा परेको छ ।
भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पताल भवन तीन वर्षदेखि सञ्चालनविहीन अवस्थामा रहेको छ । सङ्घीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन सञ्चालनका लागि आवश्यक जनशक्ति तथा वार्षिक बजेट व्यवस्थापन गर्न नसक्दा अस्पताल सञ्चालन हुन नसकेको हो ।
नगर प्रमुख झविलाल थापाले स्थानीय तहको सीमित स्रोत–साधनका कारण अस्पताल सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको सहयोगमा भवन निर्माण भयो, तर सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेटको व्यवस्था स्थानीय तहले मात्र गर्न सक्ने अवस्था छैन ।”
पूर्व नगरप्रमुख रेशम थापाले अस्पताल सञ्चालनका लागि विभिन्न तहमा पहल गरिएको भए पनि सफल हुन नसकेको बताउनुभयो । “स्वास्थ्य मन्त्रालयसँग पटक–पटक पत्राचार गरियो, डेलिगेसनसमेत गयौँ । तर सरकार परिवर्तन र नीतिगत अस्थिरताका कारण अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढ्न सकेन,” उहाँले भन्नुभयो ।
मालारानी गाउँपालिकाको खनदहमा निर्माण सम्पन्न भएको १५ शय्याको अस्पताल भवन हस्तान्तरण भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईका अनुसार अस्पताल भवन २०८१ सालमा हस्तान्तरण गरिएको हो । करिब १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन सञ्चालनका लागि आवश्यक जनशक्ति तथा स्रोतको अभाव रहेको उहाँले बताउनुभयो ।
यस्तै, पाणिनी गाउँपालिकामा निर्माण गरिएको अस्पताल भवनमा पनि हालसम्म स्वास्थ्य सेवा सञ्चालन हुन सकेको छैन् । भवन तयार भए पनि सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन हुन नसक्दा भवन प्रयोगविहीन बनेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहमा स्थापना हुने पाँच, १० र १५ शय्याका अस्पतालका लागि निश्चित संरचना तथा सेवा मापदण्ड निर्धारण गरेको छ । १५ शय्याको अस्पताल सञ्चालन गर्न नवौँ वा दशौँ तहका मेडिकल जनरलिस्ट, चिकित्सकीय सेवा, उपचारात्मक सेवा, निदानात्मक सेवा, अस्पताल व्यवस्थापन तथा प्रशासनिक एकाइ अनिवार्य मानिएको छ ।
यसका अतिरिक्त बहिरङ्ग सेवा, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, रेडियो इमेजिङ, आयुर्वेद सेवा तथा अस्पताल फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहहरूले यी मापदण्ड पूरा गर्न नसक्दा निर्माण सम्पन्न अस्पताल सञ्चालनमा आउन नसकेको देखिएको छ ।
अर्घाखाँची अस्पतालका प्रमुख जगनान्थ तिवारीले १५ शय्याको अस्पतालका लागि एक जना मेडिकल जनरलिस्ट, दुई जना मेडिकल अधिकृत, चार जना हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, आयुर्वेद सहायक, प्रशासनतर्फ नायब सुब्बा, कार्यालय सहयोगी तथा सरसफाइकर्मीसहित करिब ३० जनाको दरबन्दी आवश्यक पर्ने कानुनी व्यवस्था रहेको जानाकारी दिनुभयो ।
स्थानीय तहहरूले यति ठूलो जनशक्ति व्यवस्थापन गर्न नसक्दा करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका अस्पताल भवनहरू उपयोगविहीन बनेका छन् । सेवा अभावमा स्थानीय नागरिकले भने अझै पनि सामान्य उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता रहेको छ ।
ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएका अस्पताल भवन सञ्चालनविहीन रहँदा राज्यको करोडौँ रुपैयाँ लगानी जोखिममा परेको छ । भवनहरू लामो समय प्रयोगविहीन रहँदा संरचनामा क्षति पुग्ने र मर्मतसम्भार खर्च थप बढ्ने चिन्ता समेत बढेको छ ।
मालारानी गाउँपालिका–४ का रोमाहर्ष खनालले निर्माण सम्पन्न अस्पताल तत्काल सञ्चालनमा ल्याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी आवश्यक जनशक्ति तथा बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार