अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले संसदीय जिम्मेवारीसँगै आफूले विगतदेखि अंगाल्दै आएको आर्ट (साइनबोर्ड तथा पेन्टिङ) पेशालाई निरन्तरता दिँदै आउदै भएको छ । संसदको अधिवेशन स्थगित भई विदाको समयलाई सदुपयोग गर्दै सांसद भुसाल पुनः आफ्नो पुरानै पेशालाइ निरन्तर दिनुभएको हो । सन्धिखर्क नगरपालिका-१ मञ्चलाइमा रहेको पसलमा विगत एक दशक भन्दा बढि देखि व्यवसाय गर्दै आउनुभएको छ । सार्वजनिक पदमा पुगेपछि आफ्नो विगतको पेशा छाड्ने प्रवृत्तिबीच सांसद भुसालको यो अभ्यासलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।
संसद भुसालले श्रमलाई सधैं सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्दै आफूले राजनीतिमा प्रवेश गर्नुअघि गर्दै आएको पेशालाई अहिले पनि निरन्तरता दिएको बताउनुभयो । संसद चलेको बेला संसदमा जाने गरेको बताउँदै अरू समयमा जिल्लामा आउने र सोही समयमा आर्टको काम गर्दै आएको संसद भुसालको भनाइ रहेको छ ।
कुनै पनि पेशा सानो वा ठूलो हुँदैन, संसदको विदाको समयलाई सिर्जनात्मक र उत्पादनमूलक काममा लगाउनु उचित ठानेर पुरानै पेशालाई निरन्तरता दिएको जानाकारी दिनुभयो । आर्ट पेशा केवल आम्दानीको माध्यम मात्र नभई आफ्नो रुचि, सीप र पहिचानसँग जोडिएर अगालोको त्यसैले फुर्सदको समयलाई सदुपयोग गर्दै आफूले यसलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
सन्धिखर्क नगरपालिका-१ मञ्चलाइनका मेघनाथ खड्काले सांसद भुसालको यो व्यवहारले श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो । मालारानी गाउँपालिका-५ पलसपाटाका पत्रकार सागर महतले सार्वजनिक जिम्मेवारीमा पुगेपछि आफ्नो विगतको पेशालाई लुकाउने वा त्याग्ने प्रवृत्तिभन्दा फरक अभ्यास प्रस्तुत गर्नु सकारात्मक रहेको बताउनुभयो ।
राजनीतिक नेतृत्वले श्रम, सीप र उत्पादनसँग जोडिनुपर्ने सन्देश व्यवहारबाटै दिनुपर्ने चर्चा भइरहेका बेला सांसद भुसालले संसदीय जिम्मेवारीसँगै आफ्नो परम्परागत पेशालाई निरन्तरता दिई श्रमप्रतिको सम्मान र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्नुभएको छ ।












