अर्घाखाँची । भुर्गभ सिमेन्ट लिमिटेडको आर्थिक सहयोग तथा सिता चुली–म्युदाँडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सन्धीखर्क नगरपालिका–७ खाँचीकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा समन्वय समितिका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,सन्धिखर्क नगरपालिका – ७ का वडा अध्यक्ष चुरा केसि, निकायका प्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको उपस्थितिप्रति भुर्गभ सिमेन्ट लिमिटेडले आभार व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भुर्गभ सिमेन्ट लिमिटेडका अध्यक्ष नन्दी केशर पौड्यालले विकास र वातावरण संरक्षण एकअर्काका प्रतिस्पर्धी नभई सँगसँगै अघि बढ्न सक्ने विषय भएको उल्लेख गर्दै उद्योग वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायसँगको सहकार्यमा प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले भुर्गभ सिमेन्ट लिमिटेडले २०५६ सालदेखि कानुनबमोजिम चुनढुंगा खानी सञ्चालन गर्दै आएको र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA), प्रारम्भिक वातावरणीय परीक्षण (IEE) तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै उद्योग सञ्चालन भइरहेको स्पष्ट पार्नुभयो।
अध्यक्ष पौड्यालका अनुसार उद्योगले २०७६ सालयता नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई रु. १४ करोड ३४ लाखभन्दा बढी राजस्व, रोयल्टी तथा सामाजिक योगदान उपलब्ध गराइसकेको छ। करिब रु. ३ अर्ब निजी लगानी परिचालन भएको उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २०० जनाले रोजगारी पाएका छन्।
उद्योगले स्थानीय विद्यालयमा शिक्षकको तलब व्यवस्थापन, वृक्षारोपण, धुलो नियन्त्रण, सडक निर्माण तथा मर्मत, विपद्का बेला राहत वितरण, विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने तथा प्रभावित स्थानीयलाई सहुलियत दरमा सिमेन्ट उपलब्ध गराउनेलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको अध्यक्ष पौड्यालले जानकारी दिनुभयो।
उहाँले उद्योगको उद्देश्य केवल सिमेन्ट उत्पादनमा सीमित नभई अर्घाखाँचीको आर्थिक विकास, स्थानीय रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई समान प्राथमिकताका साथ अघि बढाउनु रहेको बताउनुभयो।
चुनढुंगा खानी सञ्चालनसँग सम्बन्धित विषयहरूलाई संवाद, तथ्य, कानुनी प्रक्रिया र आपसी सहकार्यबाट समाधान गर्दै कानुनसम्मत रूपमा उद्योग सञ्चालन हुने वातावरण निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकाय, सञ्चारमाध्यम, नागरिक समाज तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
भुर्गभ सिमेन्ट लिमिटेडले विकास, वातावरण संरक्षण र स्थानीय समुदायको हितबीच सन्तुलन कायम गर्दै जिम्मेवार उद्योगका रूपमा आफ्नो दायित्व निर्वाह गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।












