बिमल पोख्रेल, प्युठान ।
नेत्रविक्रम चन्द, मोहन वैद्य, आहूति, सन्तबहादुर नेपालीहरू कुशासन, भ्रष्टाचार, देशद्रोह र राष्ट्रघातका विरुद्धमा सडकमा छन् । भारतीय षड्यन्त्रसँग हारेर एमाले सरकारबाट बाहिरिएको छ । देश साम्राज्यवादीहरूको खेल मैदान भएको छ । देशको यस्तो जटिल परिस्थितिमा वामपन्थीहरूसँग सहकार्य गरेर सडकमा हुनुपर्ने मसाल एमालेको एकोहोरो विरोध र कांग्रेसको प्रशंसा र गुणगान गाएर बसेको छ । कुनै दिन केपी ओलीविना बाँच्नै सकिन्न, देश बर्बाद हुन्छ भनेर वक्तव्यबाजी गर्ने मोहनविक्रम सिंह आजकल कांग्रेसविना बाँच्नै नसक्ने हुनुभएको छ ।
चित्रबहादुर केसी विदेशी षड्यन्त्रबाट राष्ट्रपतिको कथित साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको समर्थनको जाली कागजमा सही धस्काएर, बालुवाटार र शेरबहादुर देउवाको घरमा गएर कालो चिया र बिस्कुट खाएर बस्नुभएको छ ।
मसालका साथीहरू, पार्टीलाई कांग्रेस र विदेशीहरूको षड्यन्त्रको चक्रव्युहबाट बाहिर निकालौं । चित्रबहादुर केसी र मोहनविक्रम सिंहले बाटो बिराउनुभएको छ । देश र जनताका आवाज बोकेर वामपन्थीहरूसँग सहकार्य गरौं । नेत्रविक्रम चन्द, मोहन वैद्य, आहूति, सन्तबहादुर नेपालीहरूसँग सहकार्य गरेरै जनताको आवाज मुखरर गर्न सकिन्छ ।
कंग्रेससितको अराजनीतिक र अनैतिक लसपसले सीमा नाघिसक्यो । यसरी त हाम्रो पार्टीको राजनीति र संगठन दुवै सकिन्छ । भन्नको लागि मलाई अनुशासन उल्लंघन गरेको भनिएला, कारवाही पनि गरिएला तर सत्य कुरा यही हो ।