पुनर्जीवित हुँदै परम्परागत चौतारो

अर्घाखाँचीको ढाकावाङ नाच्ने चौरमा सडक विस्तारका क्रममा भत्किएको ऐतिहासिक वरपिपल चौतारो स्थानीयवासीले पुनर्निर्माण गरी रंगरोगनसहित आकर्षक बनाएका छन् । डिभिजन वन कार्यालयको सहयोग र गाउँलेको श्रमदानमा पुनः निर्माण गरिएको चौपारी अहिले गाउँको सामुदायिक भेटघाट, विश्राम तथा सांस्कृतिक गतिविधिको केन्द्र बन्दै गएको छ ।

ढाकावाङको नाच्ने चौरस्थित उक्त चौतारोमा अहिले गाउँका भेला, बैठक तथा छलफल हुन थालेका छन् । वरपिपलको छहारी, चराचुरुंगीको मधुर आवाज र शीतल वातावरणका कारण चौपारी स्थानीयका लागि आकर्षणको केन्द्र बनेको छ । फोटो तथा भिडियो खिच्नेदेखि विश्राम गर्ने स्थलका रूपमा समेत यसको उपयोग बढ्दै गएको छ । धार्मिक आस्थाअनुसार स्थानीयले वर र पिपलको पूजा गर्दै संरक्षण अभियानलाई निरन्तरता दिएका छन् ।

स्थानीय युवा जितेन्द्र खत्रीका अनुसार गाउँमा भत्किएका तथा मासिएका चौपारीहरू पुनः निर्माण गर्ने अभियान नै सञ्चालन गरिएको छ । “गाउँका अन्य स्थानमा पनि चौतारो निर्माण र वरपिपल संरक्षणको काम गरिरहेका छौं,” उहाँले भन्नुभयो,“चौपारीलाई रंगरोगन गरेर चिटिक्क बनाउने अभियानले गाउँको पुरानो पहिचान फर्काउन मद्दत पुगेको छ ।” गाउँका चोक तथा अग्ला स्थानमा खोजीखोजी चौतारो निर्माण गरिरहेको बताउनुभयो । विगतमा मोटरबाटो निर्माणका क्रममा डोजर र स्काभेटर प्रयोग गर्दा धेरै चौपारी र वरपिपल मासिएका तथा पुरिएका थिए । अहिले तिनै पुराना चौतारोलाई पुनर्जीवन दिन स्थानीय जुटिरहेका छन् ।

भूमिकास्थान नगरपालिका–२ ढाकावाङका तुल्सीराम भुसालले आफ्नो बाल्यकालमा गाउँभर चौतारो देखिने गरेको स्मरण गर्नुभयो । उहाँका अनुसार गाउँलेहरूले महिनौंसम्म कोदालो, गैंती र बेल्चाको प्रयोग गर्दै श्रमदानमार्फत चौतारो निर्माण गर्थे । चौपारीमा वर र पिपलका रुख रोपिन्थे, जहाँ पैदल यात्रु विश्राम गर्थे भने गाउँका विवाद समाधानदेखि विकाससम्बन्धी छलफलसमेत हुने गर्थ्यो ।

“चौपारीमा वरपिपलको छहारीमा बसेर गाउँको कचहरी चल्थ्यो,” भुसालले भने, “त्यहीँ बसेर झगडा मिलाउने, साँधकिला समाधान गर्ने र गाउँ विकासका योजना बनाइन्थ्यो । पैदल यात्रु पनि त्यहीँ बसेर थकान मार्थे ।” घरअगाडिको संरक्षणविहीन चौतारो भत्किए पनि वर र पिपलका रुख भने बाँकी थिए । अहिले त्यसलाई पुनः संरक्षण गरी नयाँ स्वरूप दिइएको छ । चौतारो निर्माणका लागि डिभिजन वन कार्यालयले ७० हजार रुपैयाँ सहयोग गरेको थियो भने निर्माण कार्य स्थानीयवासीको श्रमदानबाट सम्पन्न गरिएको हो ।

डिभिजन वन कार्यालय र भू–तथा जलाधार कार्यालयको बजेट, स्थानीयको आर्थिक सहयोग तथा श्रमदानमार्फत जिल्लाका विभिन्न स्थानमा चौपारी पुनर्निर्माणको काम भइरहेको छ । डिभिजन वन कार्यालयले गत वर्ष ढाकावाङ र अर्घामा चौपारी निर्माण गरेको थियो भने यस वर्ष थप तीन वटा चौतारो निर्माणाधीन छन् ।

वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार जिल्लाभरबाट १८ वटा चौपारी मर्मत तथा निर्माणका लागि माग आएको छ । धार्मिक, प्राकृतिक र जैविक दृष्टिले महत्वपूर्ण भएकाले यिनको संरक्षणमा जुटेका छौं । चौपारीसँग जोडिएको इतिहास पनि जोगाउन आवश्यक छ ।”

भु- तथा जलाधार कार्यालय प्रमुख राकेश बहादुर कुवरले पुराना चौतारो खोजी गर्दै संरक्षण गरिनुका साथै आवश्यक स्थानमा नयाँ चौपारी निर्माणको काम पनि भइरहेको छ । जिल्लाभरका पुराना तथा पुरिएका चौतारोको अभिलेख तयार गर्ने कामसमेत अगाडि बढाइएको जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार