अर्घाखाँचीका साहित्यकारद्वय पिताम्बर भट्टराईको पूर्णाङ्की नाटक ‘अलपत्र’ र कृष्णप्रसाद भुसालको खण्डकाव्य ‘कालीकुञ्ज’ विमोचन गरिएको छ । सन्धिखर्कमा आयोजित कार्यक्रममा साहित्यकार, लेखक तथा साहित्यप्रेमीहरूको उपस्थितिमा दुवै कृति विमोचन गरिएको हो ।
साहित्यकार भट्टराईको ‘अलपत्र’ पूर्णाङ्की नाटकमा सहिद टङ्कप्रसाद भुसाललाई तत्कालीन पञ्चायती शासनले निर्मम यातना दिएर गरेको क्रूर हत्यापछि उहाँको परिवार सुकुम्बासी बन्नुपरेको घटनालाई आधार बनाइएको छ । नाटकमा भुसालको परिवारको अवस्थासँगै नेपालका विभिन्न सुकुम्बासी बस्ती र परिवारले भोग्दै आएका समस्या, अधिकार प्राप्तिका लागि भएका सुकुम्बासी आन्दोलन तथा समस्याको निकासका उपायलाई विषयवस्तु बनाइएको छ ।
नाटकले सामाजिक तथा राजनीतिक परिवर्तनको आवाजमार्फत देश हुनेखानेको मात्र नभई हुँदाखाने वर्गको पनि हुनुपर्ने सन्देश दिन खोजेको छ । राज्यको स्रोत, अवसर र विकासमा सबै वर्गको समान पहुँच हुनुपर्ने विषयलाई नाटकमार्फत उठाइएको छ ।












