बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा एक जना बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका-६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार छन् । अमेरिकाको ग्रिनकार्ड प्राप्त रौनियारको यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो ।
विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिएका थिए । जबकि केटा पक्षले पटक-पटक गरी २२ लाख रुपैयाँसमेत केटी पक्षबाट लगेको बुझिएको प्रहरीले जनाएको छ ।
विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रौनियार उपर विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।