७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

आमा (लघुकथा)

जोगेन्द्रले मोबाइल गर्दै भित्र पसे । श्यामाले खुसीको स्वरमा भनिन्, “मेरो ठुले आयौ ? अहिले कस्तो छ बाबा ? कहिले मुख देखौँ जस्तो भएको थियो ।”

जोगेन्द्रले जङ्गिँदै भने, “नाटक गर्नुको पनि हद हुन्छ नि ! मुख हेर्न मनै थियो भने म डेङ्गु भएर मुर्दा झैँ लड्दा किन आउनुभएन हँ ? अबदेखि मलाई छोरा भन्नुपर्दैन । ‘खोलो त¥यो लौरो बिर्सियो’ यही त भयो नि मेरो जीवनमा पनि । सम्झिनुहोस्, अबदेखि तपाईंको छोरा म¥यो । दुःख, बिमारमा काम नलाग्ने आमा अरू बेलामा किन चाहियो हँ ? म यही भन्न आएको हुँ ।” यति भन्दै जोगेन्द्र हिँडि पनि हाले ।

श्यामाले रुन्चे स्वरमा भनिन्– “चिया त खाएर जाऊ बाबु !”

बाहिरबाट झिनो आवाज आयो, “जे घिच्नु छ, आफैँले घिचे हुन्छ ।”

रमोलाले सासूनजिकै बस्दै भनिन्, “हामीले त भनेकै हौँ नि ! हजुरलाई कोरोना भएको कुरा सबैलाई भनिदिऊँ भनेर । हजुरले नै मान्नु भएन । जेठाजुलाई के थाहा हजुर मर्नु न बाँच्नु भएर एघार दिन अस्पताल बसेको कुरा । हजुरले बिरामी छोरालाई पीर पर्छ, कुरा लुकाइदेऊ भन्नुभयो । उनीहरू भने पातलो दिसा भए पनि सबैलाई सुनाउँदै हिँड्छन् ।

बयासी वर्षकी आमा किन ओछ्यानमा सुतेकी होलिन् भनेर बुझ्नु त कता हो कता ? जेठाजुले त झन् आगो ओकलेर पो जानुभयो ।”

श्यामाले आँसु पुछ्दै भनिन्– “हामी सबैलाई माथि उठाउन पहाडसरि पीडा निल्ने ऊ देवता नै हो बुहारी ! उसले जे भने पनि मलाई अमृतसरि लाग्छ । मेरो मुटुलाई काँडाले पनि नकोरोस् ।”

मोबाइल बिर्सिएर लिन फर्केका जोगेन्द्रलाई आमा र बुहारीबिचका कुरा सुनेर सयौँ सुइराले रोपे झैँ असह्य भयो ।  तुरुन्तै उनको हृदयबाट चित्कार निस्कियो, “आमा !”

बुद्धनगर, काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार