अर्घाखाँचीमा एचआईभी संक्रमितहरूले उपचारमैत्री वातावरणको अभावमा नियमित स्वास्थ्य सेवा लिन विभिन्न समस्या भोग्दै आएका छन्। विशेषगरी जिल्ला अस्पतालमा एचआईभी संक्रमितका लागि छुट्टै परामर्श तथा उपचार कक्ष नहुँदा गोपनीयता कायम गर्न कठिन भएको उनीहरूको गुनासो छ।
संक्रमित विपना थापाले अन्य बिरामीसँगै लाममा बस्नुपर्दा आफ्नो पहिचान खुल्ने डर रहने गरेको बताउनुभयो। सामाजिक विभेद र नकारात्मक व्यवहारको डरका कारण कतिपय संक्रमित अस्पताल जानसमेत हिच्किचाउने अवस्था रहेको उहाँको भनाइ छ।
“रोगभन्दा पनि समाजको व्यवहारको डर बढी हुन्छ,” एक संक्रमितले भने, “यदि छुट्टै कक्ष र सहज वातावरण हुन्थ्यो भने उपचार सेवा लिन अझ सजिलो हुने थियो।”
सन्देश सहयोग समूहकी अध्यक्ष पार्वता वञ्जाडे ले जिल्ला अस्पतालमा एचआईभी संक्रमितका लागि छुट्टै सेवा कक्ष स्थापना गर्न सके उपचार प्रक्रिया थप सहज र प्रभावकारी हुने बताउनुभयो। उहाँका अनुसार गोपनीयता सुनिश्चित हुँदा संक्रमितहरू निर्धक्क भएर स्वास्थ्य सेवामा पहुँच गर्न सक्नेछन्।
संक्रमितहरूले आर्थिक अवस्थामा केही सुधार आए पनि स्वास्थ्य सेवा अझै पर्याप्त रूपमा सम्मानजनक र सहज बन्न नसकेको गुनासो गरेका छन्। जिल्ला अस्पतालमै छुट्टै परामर्श तथा उपचार कक्ष स्थापना भए उपचारमा नियमित सहभागिता बढ्ने उनीहरूको अपेक्षा छ।
यता जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख जगन्नाथ तिवारी ले अस्पतालमा भौतिक संरचना तथा आवश्यक जनशक्तिको अभावका कारण छुट्टै उपचार कक्ष सञ्चालन गर्न नसकिएको बताउनुभयो। स्रोत–साधन उपलब्ध भएमा सेवा विस्तारका लागि पहल गरिने उहाँको भनाइ छ।
तथ्यांकअनुसार अर्घाखाँचीमा हालसम्म एचआईभी संक्रमणका कारण ३५ जनाको मृत्यु भइसकेको छ। अहिले जिल्लामा ६३ जना संक्रमित जीवित रहेका छन्, जसमा ३१ जना महिला र ३२ जना पुरुष छन्। संक्रमितमध्ये अधिकांश ३० देखि ४० वर्ष उमेर समूहका रहेका छन्, जसले युवावर्ग नै संक्रमणको बढी जोखिममा रहेको संकेत गर्दछ।











