अर्घाखाँची।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका हुन् ।
‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ,’ अध्यक्ष ओलीले भने । समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए ।
एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘मिसन ग्रासरुट मार्फत् एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’ अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको जानकारी दिए ।
एमाले जस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसक्ने उनको भनाइ थियो । व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उनले आग्रह गरे ।