२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

आइपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौँ : इण्डियन प्रिमियर लिग आइपिएलको प्लेअफ समीकरण पूरा भएको छ। शुक्रवार राति रोयल च्यालेञ्जर्स बैंगलुरूले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बैंगलुरूले प्लेअफमा स्थान बनाएको हो।

पहिले ब्याटिङ गरेको बैंगलुरूले चेन्नईलाई जितका लागि २१९ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा चेन्नईले ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सकेको थियो।

जवाफी ब्याटिङ गर्ने क्रममा चेन्नईका रविन्द्र जडेजा २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४२ रन बनाएर नट आउट रहे। त्यसअघि रचिन रविन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ६१ रन बनाए।

अजिन्क्य रहानेले २२ बलमा ३ चौका प्रहार गरी ३३ रन जोडे। महेन्द्र सिंह धोनी २५ रन बनाएर आउट हुँदा ओपनर रूतुराज गायकवाड पहिलो बलमै आउट हुँदा प्लेअफबाट बाहिरिनु परेको हो।

बैंगलुरूका यश दयालले २ तथा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लकी फर्गुसन र क्यामरून ग्रीनले १/१ विकेट लिन सफल भएका थिए। पहिले ब्याटिङ गरेको बैंगलुरूका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतक हान्न सफल भए। उनले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५४ रन बनाए।

ओपनर विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ४७ रन जोडेर आउट भए। रजत पाटीदारले २३ बलमा २ चौका  र ४ छक्का प्रहार गरी ४१ रन जोडेर आउट भएका थिए।

क्यामरून ग्रीन १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ३८ रन बनाएर नट आउट रहे। दिनेश कार्तिकले १४ र ग्लेन म्याक्सवेलले १६ रनको योगदान गरे।

बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले २ तथा तुषार देशपाण्डे र मिचेल सान्टनरले १/१ विकेट लिए। जितसँगै चेन्नईसँग अंक बराबरी बनाएको बैंगलुरू रन रेटका आधारमा प्लेअफमा पुगेको हो।

कोलकाता नाइट राइडर्स

जारी आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै नम्बर एक हुन सफल कोलकाताले हालसम्म दुई पटक उपाधि जितेको छ। सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई हराउँदै कोलकाताले पहिलो उपाधि हात पारेको थियो। सन् २०१२ मा फाइनलमा चेन्नईसँग पराजित हुँदा कोलकाता उपाधिविमुख हुनुपरेको थियो।

श्रेयस अय्यरको कप्तानीमा मिचल स्टार्क, अन्द्रे रसेल, सुनिल नारायण, रिंकु सिंह, वेंकटेश अय्यर, हर्षित राना, नितिस रानाजस्ता खेलाडीहरू रहेको टिमले पछिल्लो ५ खेलमा ४ वटा खेलमा जित हात पारेको छ भने एउटा खेलमा पानीले खेल रद्द भएको थियो।

कोलकाताले दिल्ली क्यापिटल, मुम्बई इण्डियन्स, लखनउ सुपरजाइन्ट, मुम्बई इण्डियन्स र गुजरातसँग भने पानीले खेल हुन सकेन। १३ खेलमा ९ मा जित निकाले कोलकाताले ३ खेलमा हार बेहोरेको थियो। टोली १९ अंकसहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ।

राजस्थान रोयल्स

जारी आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेको अर्को टोली हो राजस्थान रोयल्स। सन् २००८ मा चेन्नईलाई पराजित गर्दै उपाधि जितेको राजस्थानले त्यसयता उपाधि जित्न सकेको छैन। सन् २०२२ मा फाइनल पुगे पनि गुजरात टाइटन्ससँग पराजित हुन पुग्दा उपाधिविमुख भएको थियो।

सन्जु सामसनको कप्तानीमा ट्रेन्ट बोल्ट, ध्रुव जुरेल,  रविचन्द्रन आश्विन, रियान पराग, यजुरवेन्द्र चहल जस्ता खेलाडीहरू रहेका टोलीले पछिल्लो ५ खेलमा एक खेल जितेको छ। लखनउलाई पराजित गरेको राजस्थान हैदरावाद, दिल्ली, चेन्नई र पन्जाबसँग हार बेहोरेको छ।

१३ खेलमा ८ खेलमा जित हात पारेको राजस्थानले ५ खेलमा हार बेहोर्दा १६ अंकसहित तेस्रो स्थानमा रहेको छ।

सनराइजर्स हैदरावाद

जारी आइपियलमा सबैभन्दा धेरै सम्झनलायकको खेल हैदरावादले खेलेको छ। आक्रामक ब्याटिङका कारण हैदरावादले धेरै कीर्तिमानहरू कायम गरेको छ। हैदरावादले एकै सिजनमा ३ पटक २५० को स्कोर कटाउने पहिलो टिमको कीर्तिमान पनि आफ्नो नाममा पारेको छ।

उसले मुम्बईविरुद्ध २६६, आरसिविविरुद्ध २८७ र दिल्लीविरुद्ध २६६ रन बनाएको हो। लखनउ सुपरजायन्टविरुद्ध कुनै विकेट नगुमाइ ९.४ ओभरमा १६६ रनको लक्ष्य भेट्टाएको थियो। हैदरावादका ओपनरहरुले पावरप्लेमा १२५ रनको साझेदारीको समेत कीर्तिमान बनाए।

प्याट कमिन्सको कप्तानीमा अभिषेक शर्मा, ट्राभिस हेड, हेनरिक क्लासन, भुवनेश्वर कुमार, ऐडन मारक्रमजस्ता खेलाडी रहेको टोलीले पछिल्ला ६ खेलमा २ खेल जित्यो भने २ खेलमा हार बेहोरेको छ।

गुजरात टाइटन्ससँग भने खेल रद्द भएको थियो। हैदरावादले चेन्नई र मुम्बईसँग हार बेहोर्दा राजस्थान र लखनउलाई जितेको थियो। १४ खेल खेलेको हैदरावादले ८ वटा खेलमा जित र ५ वटा खेलमा हार बेहोर्दा १७ अंकसहित दोस्रो स्थानमा रहेको छ।

हालसम्म आरसिबी उपाधिविमुख

हालसम्म तीनपटक फाइनलमा पुगे पनि आरसिबीले हालसम्म उपाधि जित्न सकेको छैन। सन् २००९ मा डेक्कन चार्जरसँग फाइनलमा पराजित भोगेको आरसिबी सन् २०११ मा चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो भने सन् २०१६ मा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो।

फाफ डु प्लेसिसको कप्तानीमा विराट कोहली, रजत पाटिदार, दिनेश कार्तिक, ग्लेन म्याक्सवेल, महम्मद सिराज, एस दयालजस्ता खेलाडी रहेको टोलीले आइपिएलमा पछिल्ला ६ खेल जित्दै उत्कृष्ट कम ब्याक गरेको छ।

जसले गर्दा टोली प्लेअफमा पुग्न सफल भएको हो। टोलीले हैदरावाद, गुजरात, पन्जाब, दिल्ली र शनिवार चेन्नाईलाई हराएको हो। १४ खेलमा ७ मा हार र ७ मा जित निकाल्दै उक्त टोली १४ अंकसहित चौथो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार