१० साउन २०८१, बिहिबार
१० साउन २०८१, बिहिबार

खाना र क्यान्सरबीचको सम्बन्ध

खानपान शैलीमा रेस्टुराँ, होटलमा खान जाने, विवाह, सामाजिक विधि व्यवहारका भोज अधिकतर पार्टी प्यालेसमा हुन थालेका छन् । त्यहाँ स्वास्थ्यका दृष्टिले हुन सक्ने वा भइरहेका गलत अभ्यास छन् । जस्तै तारन्तार उही तेल प्रयोग, खान स्वादिलो बनाउन अजिनोमोटो प्रयोग, घिउ, तेल, नुन मसलालाई अधिक तापक्रममा तताउने, अधिक नुन एवं चिल्लो पदार्थ प्रयोग गरिनु । अर्कोतर्फ अधिकतर ग्राहक वा खानपानका सौखिनको चाहना पनि रातो मासु, चिल्लो, पिरो परेको खाना नै हो ।

भुटुवा, रोस्ट वा सेकुवालगायत मासुका परिकार तयार गर्ने क्रममा अत्यधिक तापले मासुमा रहेको प्रोटिन रसायन नाइट्राइट्सबाट हानिकारक नाइट्रोसेमाइनमा परिणत हुन्छ । यसबाट पेटको क्यान्सर  हुन सक्छ । वनस्पति घिउमा वा धेरैबेर र धेरै पल्ट तताएको तेलमा पकाएका खानेकुरामा ट्रान्सफ्याट (अति खराब चिल्लो) हुन्छ । त्यसमाथि १२० डिग्रीभन्दा बढी तापक्रममा धेरै समय तताएको तेलमा क्यान्सर गराउन सक्ने रसायन पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन र एल्डिहाइड बन्न जान्छ । मासु मात्र नभई अधिक तापमा तारेर वा भुटेर पकाइने आलु चिप्स, फ्राइड मम, फ्राइड राइसको हकमा पनि यो कुरा लागू हुन्छ ।

त्यसो त प्रशोधित खानामा अधिकतर बोसो नै मिसाइएको हुन्छ । स्वास्थ्यका दृष्टिकोणले चिल्लो पदार्थमध्येको ट्रान्सफ्याट सबैभन्दा हानिकारक हुन्छ । जसका कारण स्तन क्यान्सरलगायत कैयौँ नसर्ने खालका स्वास्थ्य समस्या देखा पर्छन् । पिज्जासँगै हल्का पेय पदार्थ पनि पिउने गरेमा मोटोपनाको जोखिम बढ्न जान्छ । यसले गर्दा महिलामा स्तन, डिम्बाशय एवं पाठेघरको क्यान्सरको सम्भावना हुन्छ ।

राँगा, भेडा, खसी, बङ्गुरको मासु रातो मासु वर्गमा पर्दछ । रातो मासु स्वास्थ्यको दृष्टिले हानिकारक छ । रातो मासुमा बढी पाइने फलाम तत्वले हानिकारक किसिमको अक्सिजन बन्न जान्छ । लामो समयसम्म कोषिकामा अक्सिजनको अभाव भएपछि अनियन्त्रित तवरमा कोष वृद्धि भई क्यान्सरमा विकास हुन्छ । यसरी रातो मासुसँगै बोसोयुक्त खानेकुराले छाती र मुटुको क्यान्सरको जोखिम बढाउँछ । रातो मासुभन्दा किमा, ससेज जस्ता परिवर्तित मासुले बढ्ता हानि पु¥याउँछ ।

मद्यपानसँगै चुरोट, हुक्का सेवन र सितनका रूपमा उही चिल्लो, बोसोयुक्त खानाको परिकार वा चिप्स, भुजिया खाएमा समग्रमा विभिन्न क्यान्सर लाग्ने जोखिम बढ्न जान्छ । मदिरा वा लागूपदार्थले

लट्ठ परेको बखत असुरक्षित यौन सम्पर्क, असुरक्षित सुई साटासाट अनि सरसफाइको अभावमा सङ्क्रामक रोगसँगै पाचन प्रणाली र जननेन्द्रीयको क्यान्सरको जोखिम बढ्छ ।

विश्वमा हरेक छमध्ये एउटा क्यान्सरको कारक तत्व सङ्क्रमण नै हो । त्यसमध्ये पनि एचपिभी, हेलिकोब्याक्टर पाइलोरी, हेपाटाइटिस बी एवं सी भाइरस गरी चार प्रकारका सङ्क्रमण बढी जिम्मेवार छन् । यी सङ्क्रमणले पाठेघरको मुख, आन्द्रा, आमाशय, कलेजोको क्यान्सरको जोखिम बढाउँछन् ।

आगोमा कालो हुने गरेर पोलेको मकैमा कार्बनयुक्त तत्व हुन्छन् । पटक पटक दूध उमाल्दा पिँधमा जमेको डढेको दूध वा कुराउनी पनि कार्बनमा परिणत हुन्छ । चुलोबाट निकालेको दुई मिनेटभित्र तात्तातो चिया पिउने व्यक्तिमा घाँटीको तथा खाद्य नलीको क्यान्सर हुने जोखिम पाँच गुणाले बढ्छ । बासी र सडेगलेका खानेकुरामा ढुसी हुन्छ । यस्ता खानेकुरा खाएमा पेटको क्यान्सर हुन सक्छ । बासी खाना वा ढुसी परेका खानाले कलेजो र आमाशयको क्यान्सरको जोखिम बढ्छ ।

चाउचाउ वा अन्य स्वादिला जङ्क फुडमा अजिनोमोटो तथा दालमोठ कुरकुरे, चिप्स जस्ता अधिक नुनिलो खानेकुरा, बन्द (बट्टामा प्याक) गरिएका र मिठाईका परिकारमा मिसाइएको अखाद्य रङले पाचन नलीको क्यान्सर निम्त्याउने खतरा रहन्छ । खाना पकाउने, तयार पार्ने तथा लामो समय भण्डारण गर्ने अस्वस्थ विधिले स्वस्थ खाद्यवस्तुलाई पनि क्यान्सर गराउने बनाइदिन्छ । आँप तथा फलफूल पकाउन प्रयोग गरिने कार्बाइड तथा माछालाई लामो समय सड्न नदिन प्रयोग गरिने फर्मालिनका कारण छाला तथा पाचन प्रणालीको जोखिम हुन्छ ।

रोकथाम र नियन्त्रण

यसो हेर्दा केही पनि खानु नै भएन, पिउनु नै भएन जस्तो लाग्छ तर कुरा त्यस्तो होइन । खानेकुराको छनोट र पकाउने तरिकामा अलिकति होसियारी अपनाए धेरैजसो खाना फाइदाजनक बन्न जान्छन् । उमालेको वा उसिनेको खानेकुरा खानु राम्रो एवं स्वस्थकर हुन्छ । बट्टा वा सिसीको जुस पिउनुभन्दा नियमित रूपमा ताजा फलफूल नै फाइदाजनक हुन्छ । नुन बढी भएको, अधिक बोसोयुक्त, बट्टामा प्याक गरिएका खाद्य सामग्री नखानु नै वेश ।

शाकाहारीलाई क्यान्सर लाग्ने सम्भावना ५० प्रतिशत कम हुन्छ । त्यसैले भोजमा वा घरमै पनि गाँजर, मूला, हरियो सागपात, रेशादार तरकारी तथा फलफूल नियमित रूपमा खाँदा क्यान्सरको जोखिम घट्न जान्छ । किनकि ताजा फलफूल तथा सागपातमा एन्टिअक्सिडेन्ट पाइन्छ । खानामा हरिया सागपात तथा फलफूल भएमा ठूलो आन्द्रा तथा मलद्वारको क्यान्सरबाट बच्न सकिन्छ ।

पहेँलो खालका फलफूल, तरकारी, बोक्रासहितको आलु, गहुँ, चना, मकै स्वास्थ्यलाई राम्रो हुन्छ । चोकरसहितको गहुँ, मकै, फापरको पिठोबाट बनाइएका परिकार, रोटी तथा रायो, चम्सुर, पालुङ्गो, बेथे, तोरी, मेथीलगायतका रेशादार खाना स्वस्थकर मानिएको छ । सूर्यमुखी, मकै, भटमास, बदामको तेल बढी फाइदाजनक हुन्छ । उमेर पुगिसकेका मानिसले मल्टिभिटामिनका साथै बिटा केरोटिन, जिङ्क, सेलेनियमयुक्त खाना खानु राम्रो हुन्छ । त्यसैले सुन्तला, काउली, ब्रोकाउली, केरा, सागपात, गाँजर खाएमा क्यान्सरबाट जोगिन मद्दत पुग्छ ।

माछा, सेतो मासु, पन्छीको मासु, कुखुराको मासु खानु राम्रो हुन्छ । त्यो पनि एकदिनमा बढीमा सय ग्राम मात्र । तुलनात्मक रूपमा रातो मासु कम खाने गरेमा क्यान्सरले पुरुष र महिलाको मृत्युदरमा क्रमशः ११ र १९ प्रतिशतले कमी आउने रहेछ । त्यसैगरी परिवर्तित मासु खाने पुरुषको मृत्युको जोखिम १६ प्रतिशत र महिलाको मृत्युको जोखिम २५ प्रतिशत कम हुन्छ । त्यसो भएर मासु नै खानु हुन्न भन्ने होइन तर रातो मासु र परिवर्तित मासु कम खानु बुद्धिमानी हुन्छ ।

बढ्ता प्रशोधित नगरिएका खानेकुरा स्वस्थकर नै हुन्छन् । खानाकै कारण क्यान्सर हुने मात्र होइन छनोट गरेर तथा मिलाएर खान जानेको खण्डमा खानामा पाइने तत्वले क्यान्सरबाट बचाउँछ पनि । यसरी खाना र क्यान्सरबीच घनिष्ठ सम्बन्ध छ । के, कसरी र कति बेला खाने भन्ने पनि उत्तिकै महìवपूर्ण छ । पानी बढी पिउनाले शरीरमा रहेका हानिकारक तत्व पिसाबबाट सजिलै बाहिरिने भएकाले क्यान्सरको जोखिम कम हुन्छ । सुर्ती, चुरोट तथा मद्यपान सेवन गर्नु हुँदैन ।

विकासोन्मुख तथा विकासशील देशमा सङ्क्रामक रोग व्याप्त हुँदै गएकाले रोकथाम गर्न सकिने खालका सङ्क्रमणलाई बेलैमा ठेगान लगाउनु पर्दछ । क्यान्सर तुलनात्मक रूपमा उपचार गर्न सकिने भए पनि यसबाट प्रभावित व्यक्तिले मात्र नभई परिवारले पनि दुःख, कष्ट भोग्नुपर्ने हुन्छ ।

यसैले खाना खाने बानीमा ध्यान दिई रोकथामतिर लाग्नु नै बुद्धिमानी हुन्छ । हाडजोर्नी सुन्निने समस्या (आर्थाइटिस), मुटुको समस्यालगायत धेरै थरीका समस्यामा प्रयोग गरिने एस्पिरिनको सेवनले घाँटीको क्यान्सरका साथै खाद्यनली अन्तर्गत ब्यारेट्स इसोफागसको क्यान्सरको खतरा कम गर्न मद्दत गर्दछ । बाह्य औषधि वा खानाको माध्यमबाट पाएको भिटामिन ईले एन्टिअक्सिेडेन्टका रूपमा काम गरी डिएनएमा हुने क्षति रोकी क्यान्सर हुनबाट जोगाउँछ । त्यसैगरी ब्रोकाउलीमा पाइने सल्फोराफेन (शक्तिशाली फाइटोकेमिकल) तìवले स्तन क्यान्सर फैलिन दिँदैन ।

सारांश 

क्यान्सर हुन सक्ने यति धेरै प्रतिकूल वातावरणमा रहेको भए पनि हाम्रो अहोभाग्य भन्नुपर्दछ हाम्रो खानापानमा बेसार, जिरा, मरिच, टिमुर, जाइफल, दालचिनी जस्ता मसलाका साथै लसुन, धनियाँ, अदुवा पनि हुन्छ । यिनले समेत क्यान्सर हुनबाट धेरै जोगाएका छन् । नियमित रूपमा काँचो लसुन खाने गरेमा फोक्सोको क्यान्सर हुने जोखिम आधा कम हुन्छ । त्यसैगरी आन्द्राको ट्युमर पनि एक तिहाइले कम हुने देखिएको छ । बेसारमा पाइने करक्युमिन विषाणुविरोधी हुनुका साथै यसले एचपिभी (पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक विषाणु)सँग लड्न सक्ने क्षमता बढाउँछ । यी त केही उदाहरण मात्र हुन् । हाम्रा मसला सबैमा औषधीय गुण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार