चीन यात्रा पक्कापक्की भएपछि सहकर्मीमाझ एउटा अघोषित सम्झौता भएको थियो, ‘जे आउँछ मज्जाले पचाउँछ शैलीमा खाइदिने ।’ तर, मनको लड्डु खाए जस्तो सजिलो कहाँ हुन्छ र ? नेपाली जिब्रोलाई चिनियाँ स्वादमा बानी पार्नै कठिन । त्यसमाथि कतिथरी खानेकुरा । डाइनिङ हलमा दुई-तीन लहरमा खानेकुरा नै खानेकुरा । आफ्नो प्लेटमा उठाउँदै, चाख्दै गरेर पनि साध्य नहुने । कति खानेकुरा भेट्नै गाह्रो, कति आँट्नै गाह्रो ।
२० दिनको चीन बसाई वास्तवमा हाम्रो लागि खाना उत्सव जस्तो पनि भएको थियो । नितान्त नौलो चाइनिज व्यञ्जनले हामीलाई छाकैपिच्छे उत्सुक बनाइरहन्थ्यो । उहान रिर्सच इन्सटिच्युट अफ पोष्ट एण्ड टेलिकम्युनिकेसनले आयोजना गरेको नेक्स्ट जेनेरेसन कम्युनिकेसन नेटर्वक कन्ट्रक्सन सम्बन्धि सेमिनारको अन्तिम दिन थियो । हामीलाई खानाका लागि उहानको कुनै भव्य रेष्टुरेन्टमा छिराइयो ।
त्यो रेष्टुरेन्ट कति भव्य भने हाम्रो गाउँघरको ठूलो टुँडिखेल जत्रो । जब रेष्टुरेन्टमा पाइला टेकियो, खानेकुरा हेरेरै चकित भइयो ।त्यहाँ थरीथरी व्यन्जन सजाइएको थियो । मेरो बानी के छ भने खानामा अलि नाक खुम्च्याउने । त्यसैले प्लेटमा सीमित खानेकुरा बोकेर टेबलतर्फ लम्कदै गर्दा चिनियाँहरुको खानपान शैलीले मलाई छक्क पारिदियो ।
चिनियाँहरु श्रमप्रति अत्यान्तै इमान्दार हुन्छन् भन्ने थाहा थियो । समयको पनि उत्तिकै ख्याल राख्छन् । तर, जतिसुकै व्यस्त भएपनि खानका लागि भने फुर्सद निकाल्दा रहेछन् । व्यस्त दैनिकीबाट समय निकालेर रेष्टुरेन्ट छिरेका चिनियाँहरु औंलामा चपस्टिक च्यापेर अनेकथरी स्वादमा उन्मुक्त रमाइरहेका देखिए । उनीहरुको टेबल अघिल्तिर राखिएका व्यञ्जनले मात्र होइन खानपान शैलीले पनि हामीलाई लोभ्याइरह्यो ।
त्यसो त चीनको खाद्य संस्कृति जति समृद्ध छ उत्तिनै प्राचिन पनि । पाँच हजार बर्ष पुरानो सभ्यताको विकाससँगै चिनियाँहरुले खानपान संस्कृति विकास गरेको पाइन्छ । उनीहरुको चार प्राचिन सभ्यतामध्ये एक मानिन्छ फुड (खाद्य) परिकार । चिनिया परम्परा र रितिरिवाज, चिनिया भाषा, चिनिया लिपि र चिनिया परिकार खास मानिने रहेछ ।
उहानकै मार्शल प्यालेस (सुईफिउ) होटलका जी ची भन्दै थिए, ‘हामीकहाँ खासगरी तातो र सुख्खा चाउचाउ, गुइलिन चामल चाउचाउ, चोङकिङ तातो र टर्रो चाउचाउ खाजाको रुपमा खाइन्छ ।’ उनको होटल उहान युच्याङ जिल्लाको लुज्यास्यान स्ट्रिटमा छ ।
हामीले सुनेका थियौं, त्यहाँ कुकुरको मासु खाइन्छ । तर, जीङ चिले यो हाम्रो शंसय मेटाइदिए । यसो भन्दै, ‘हामी कुकुरको मासु खाँदैनौं, जसरी हिन्दुले गाईको खाँदैनन् ।’
चीनको बेइजिङ एउटा विशेष परिकारका लागि प्रख्यात छ, बेइजिङ डक । कतिपयले त्यही ‘डक’लाई ‘डग’ ठानेर अफवाह फैलाएको पो हो कि ? किनभने तीन पटकसम्म चीनको यात्रा गर्दा पनि मैले कहीँ कतै कुकुरको मासु भेटिन, खासगरी सार्वजनिक ठाउँमा ।
यद्यपि चिनियाँहरु मासुप्रति औधि सौखिन छन् । उनीहरु हाँस, कुखुरा, बँदेल, सुँगुर, भेडा, गाई, गोरुको मासु रुचाउँछन् । समुन्द्री व्यञ्जनले पनि उनीहरुको खाद्य संस्कृतिलाई समृद्ध बनाएको छ । हामी नेपाली दुई छाक दालभात खान्छौं । बिहान उही, साँझ पनि उही । आज उही, भोलि पनि उही ।
तर, चिनियाहरु दिनहुँजसो परिकार परिवर्तन गर्दारहेछन् । विहानको नास्ता, दिउसोको र रातीको खानामा पनि विविधता ल्याउन खोज्दा रहेछन् । जीङ ची भन्दै थिए, ‘चीन ठूला होटल र रेष्टुरेन्टमा तीन सयभन्दा बढी थरीका व्यञ्जन उपलब्ध हुन्छन् ।’
चिनियाँहरुको अर्को विशेषता के पनि भने, खानेकुरालाई आकर्षक ढंगले सजाएर राख्ने । कतिपय खान मन नलाग्ने खानेकुरालाई पनि उनीहरु यसरी सजाउँछन्, जिब्रोमा पानी आउँछ । त्यसैगरी ठूला होटल र रेष्टुरेन्टमा कतिपय परिकार तत्कालै पकाएर खाने सुविधा पनि हुन्छ । यो पनि चिनियाँ सभ्यताको एउटा पाटो हो ।
चीनलाई निकै गहन र मिहिन ढंगबाट बुझेका डा. रमेश आचार्य भन्दै थिए, ‘चीनलाई चिनाउने थुप्रै कुरा छन् । सरसफाई, चमत्कारी विकास, प्रविधिको उच्चतम प्रयोग । अनि खानेकुराको प्राथमिकता र खानपान शैली ।’
उनका अनुसार चीन विश्वकै यसतो मुलुक हो जसको परिकारले सभ्यताको जग बलियो बनाइदिएको छ । चीनको २० दिने बसाईमा हामीले भरपुर चिनियाँ परिकारको आनन्द लियौं । जबकि सुरुका दिनहरुमा भने हामीलाई यस्तो खानामा अभ्यस्त हुन निकै कठिन भएको थियो । तर, एक छाक, दुई छाक गर्दै हामी नास्तामा ब्रेड, अन्डा, आलु, मकै, फलफूल खाने, दिउसो र रातीको खानामा हाँस, कुखुरा, गाई, भेडा, सुँगुर, माछा, चाउचाउ, चामलका परिकारमा रमाउने भइसकेका थियौं । परिकारसंग स्वादलाई क्रमशः नेपालीपनमै रुपान्तरण गरिरहेका थियौ ।
हामी बसेको सहर हुवे प्रान्तको राजधानी उहान माछा र चामलको लागि विश्वभरीनै प्रसिद्ध रहेछ । त्यसैले उहानको होटल र रेष्टुरेन्टहरुमा माछाको मात्र पनि दर्जनौ परिकार हुने । २० दिनको बसाईलाई विट मारेर नेपाल फर्कने दिन मार्सल प्यालेस (सुईफीउ) होटलका जीङ चीलाई भनें– ‘तपाईंकोे आतिथ्य र होटलको व्याञ्जनले मलाई मोहित गरेको छ । मौका मिल्यो भने फेरि–फेरि उहानमा भेट गर्नुपर्छ ।’ जीङ चीले हार्दिकतापूर्वक मुस्कान छर्दै विदाईको हात हल्लाए ।