“चमत्कार”

विराज घिमिरे , अर्घाखाँची ।

“चमत्कार” भाग – ०१

एकाबिहानै बुटवल बाट काठमाडौको लागि छुटेको बस कलंकीमा आएर रोकियो। दाइ ‘मेरो सामान झारिदिनुहोस है डिक्किमा छ’ भन्दै कल्पना गाडिबाट झरिन। ओर्लन नपाउँदै ट्याक्सीहरुको लामबद्द लाइन, ड्राइभरहरु ढोकामै आएर बहिनी कहाँसम्म? ट्याक्सी हो? भन्दै चिच्याइरहेका थिए।
नयाँ बानेश्वर ‘बुद्दनगर’ जानुपर्ने छ भन्दै कल्पनाले भाडाको कुरा गरेर सामानहरु ट्याक्सी भित्र राखिन र आफू भित्र बसिन।
ट्याक्सीले बाटो लियो कालीमाटी,त्रीपुरेश्वर, थापाथली, माइतीघर हुँदै बुद्दनगर।
कल्पनाले ड्राइभरलाई भनिन् ‘ बुटवल पावर कम्पनीको पछाडी है दाइ’।
केहिबेरमै ट्याक्सी उनी बस्ने घर अगाडि पुग्यो। सामानहरु सबै झारेर गाडीलाई बिदा गरिन र उनी आफ्नो कोठातर्फ लागीन।

साँझको समय भइसकेको थियो, खाना र केही बेरको आराम पछि आफ्ना साथीहरु प्रगति र बिकाशलाई फोन गरेर अर्को दिनको कार्यब्यस्तता सोधिन्, बिहान १० बजे उनिहरुको सुन्धारा भेट गर्ने समय तय भयो।
आफ्नो डायरीमा केही कुराहरु लेखेर त्यो रात उनी सुतिन। अर्को दिन ब्रममुहुर्त समयमै उनको आँखा खुल्यो, उठेर आफ्नो नित्य कर्ममा लागीन, यसरी दिनको सुरुवात गरिन। योग-ध्यान पछि बिहानी खाजा केही फलफुल र केहिबेरको अध्यन, अनि खाना गर्दै उनी १० बज्दा सुन्धारा पुगिसकेकी थिइन।
साथीहरू प्रगती र बिकाशलाई भेटेर उनिहरु न्युरोड,पिपलबोट नीर ‘मण्डला क्याफे’ मा बसेर कुराकानी गर्ने भनेर अघि बढे।
यत्तिकैमा प्रगतिले सोधिन, “अनि कल्पना, तिम्रो किताब लेखन यात्रा कहाँ पुग्यो? सकियो लेखेर?”
“आज यसैको प्रकाशित गराउने बारेमा तिमिहरुसंग सल्लाह गर्न बोलाएको।”

बिकाशले भने, “त्यसोभए यहिँ नजिकै न्युरोड मै ‘पाँचपोखरी प्रकाशन गृह’ छ त्यसमा जाऔँ न, हुन्न?”
“हुन्छ, तर पहिला हामी क्याफेमा जाऔँ”
भन्दै उनिहरु अघि बढिरहेका थिए।
गल्लीको साँघुरो बाटो, मानिसहरुको भिडभाड, उनिहरु भन्दा केही अगाडिकि एकजना महिलाको हातमा छोपेको ‘पर्स र मोबाईल’ एकजना चोरले चोरेर फरार भएछ। नजिकैको पुलिस आएर त्यहाँ अवलोकन गर्दै थियो। त्यहाँ उनिहरुले गर्नुपर्ने सहयोग खासै देखेनन, “पुलिसले आफ्नो काम गर्छ भिडभाड नगर्नुहोस्” भन्दै थिए एक जाना सिपाही।
यो संगै उनिहरु उक्त क्याफेमा पुगे।
बिकाशले वेटरलाई भने, “थ्री ब्लाक कफि विथ लो सुगर”
प्रगतिले भनिन,” अँ साच्चै, प्रकाशन गृहले पुस्तक छापिदिएन भने के गर्ने त?”
“अरु प्रकाशक कहाँ जान सकियो नि, एउटा मात्रै होइन” बिकाशले भने।
उनिहरुको प्रतिउत्तर कल्पनाले फर्काइन, “पहिला त्यहाँ त जाऔँं, भएन भने एउटा बाटो अवश्य निस्किहाल्नेछ। अन्तिम विकल्प आफै पैसा खर्चेर भएपनी पुस्तक निकाल्नुपर्छ।”
प्रगतिले भनिन, “निकाल्न त सकिएला, तर खर्च पनि त अली धेरै आउँछ नि, होइन र? ३-४ लाख खर्चिएर एउटा किताब निकाल्ने अनि बजारमा मार्केट लिएन भने? बिमोचना गर्दा ५-७ लाख, १२-१४ लाख लाग्छ।”
“मार्केटिङ, किताब चल्ने- नचल्ने कुरा हामी आफैमा पनि भर पर्ने कुरा हो, प्रगति। हामीले कस्तो किताब दिन सक्छौँ र त्यसको मार्केटिङ कसरी गर्छौँ यो कुराले धेरै महत्व राख्दछ” भनिन कल्पनाले।
यसैमा थप्दै बिकाशले भने, “हो एकदमै, प्रकाशन गर्नु पुर्वै हार मान्नु त भएन, पुस्तक हामीले हेर्यौँ, अहिलेको समाजले एकपटक पढ्नै पर्ने पुस्तक जस्तो लाग्यो।”
प्रगतिले भनिन, “सधै सोँचेजस्तो नहुन पनि सक्छ, पहिले नै थोरै सचेत त हुनुपर्यो नि यो बिषयमा भन्न मात्रै खोजेकी हुँ मैले।”
कल्पनाले जवाफ फर्काइन, “नतिजामा पहिल्यै निराश भएर बस्यौँ भने हामीले जिवनको कुनै पनि परिक्षा पास गर्न सक्दैनौँ, नतिजा जे आउला, हामी बुद्धि पुर्याएर होमिनु नै पर्छ, जोखिम मोल्न जति डराउछौँ त्यति जिवनमा हार र निराशापन भोग्नुपर्छ।”
यी र यस्तै गफगाफ गर्दै उनिहरु त्यहाँ करिब एक घण्टा बिताए।
त्यसपछि बिकाशले भने, “पहिला प्रकाशन गृहमा त जाऔँ, बाँकी कुरा त्यसपछि गरौँला।”
कफीको पैसा बुझाएर उनिहरु त्यहाँबाट निस्किए।
करिब पाँच मिनेटको हिँडाइ पश्चात् उनिहरु “पाँचपोखरी प्रकाशन गृहमा” पुगे।
त्यहाँको प्रबन्धक संग धेरै समय कुराकानी भए। उनिहरुले आफ्नो सबै कुरा त्यहाँ राखे र पुस्तकको पाण्डुलिपि बुझाए।
प्रबन्धकले उनिहरुलाई भने, “पाण्डुलिपि हेरेर यहाँबाट प्रकाशित हुन्छ या हुँदैन भन्नलाई हामीलाई छ-सात महिना लाग्छ, त्यतिन्जेल कुर्नुपर्ने हुन्छ।”
त्यो सुनेर प्रगतीले सोधिन “त्यत्रो समय? अनि प्रकाशित नहुने भयो भने?”
प्रबन्धकले जवाफ दिए, “अरु हरुको पनि प्रतीक्षारतमा हुन्छ, हामीले पुरै अध्यन नगरी यत्तिकै हुन्छ या हुन्न भन्न त सकिँदैन नि।”
साथमा उनैले थपे, “यदि हतार छ र आफुमा ढुक्क हुनुहुन्छ मेरो पुस्तकलाई समाजले सकारात्मक तवरले लिन्छ भन्ने कुरामा भने पैसा खर्चिएर बनाउन पनि सक्नुहुन्छ।”
यो सुनेपछि कल्पनाले “हस हामी भोलि आउछौँ नि है” भनिन।
उनिहरु त्यहाँबाट निस्किए।
बाहिर आएपछि बिकाशले कल्पनालाई सोधे, “के गर्ने हो त अब? घरमा के कस्तो छ आजकाल? दिनुहुन्छ होला त?”
बिकाशको प्रश्न सकिन नपाउँदै प्रगतिले भनिन, ” मैले त पहिल्यै सल्लाह गरौँ भनेकी थिएँ, हेर कल्पना ओभर कन्फिडेन्स पनि राम्रो होइन, त्यसै त तिम्रो घरमा राम्रो सम्बन्ध छैन, जतिसुकै राम्रो भएपनी एउटा किताबको लागि १०-१२ लाख लगानी त कसको बाबा-आमाले गर्दिन्छन र, पाण्डुलिपि यहिँ छाड ६-७ महिना प्रतीक्षा गर्ने त हो के नै हुन्छ र।”
“तिमिलाई गर्मी भए जस्तो छ, हिँड जुस पिउन” भन्दै कल्पनाले प्रगतिलाई लिएर “हिँड बिकाश” भन्दै फेरि त्यहिँ ‘मण्डला क्याफे’ तर्फ लागीन।
बिकाशलाई जवाफ फर्काउँदै उनले भनिन, “बुबा संग त भन्न सक्दिन, एकपटक मामु संग भने कुरा राख्छु के भन्नुहुन्छ।
बिकाशले फेरि सोधे, “बुबा अझै बोल्नुहुन्न र तिमिसंग?”
“एकदिन त बोल्नुहोला भन्ने सोंचेर बसेकी छु, सायद त्यो दिन मेरो जिवनकै सबैभन्दा खुसीको दिन हुनेछ।”
उनले फेरि सोधे, “अनि, प्रदिप कहाँ छन त अहिले? कुराकानी हुन्छ? कि, उनले पो सहयोग गर्छन कि?”
कल्पनाले भनिन, “बिकाश, उसको नाम पनि नलेउ है आज उप्रान्तको समय। अझ त्यसको सहयोग, त्यसले दियो भनेपनी उसको दानले पुस्तक प्रकाशित गराउँदिन।”
उतिबेलै उनिहरु क्याफेमा पुगे। तिमिहरुलाई भोक पनि लाग्यो होला, खाजा खाऔँ है त भन्दै कल्पनाले वेटरलाई बोलाईन।
खाजा र ताजा एप्पल जुस मगाएर उनिहरु फेरि गफगाफ गर्दै थिए, बैशाखे हुरि सहित बाहिर ठूलो पानी पर्यो।
“पानीले गर्दा एकैछिन रोकिनु पर्ने भयो, एकपटक मामुलाई फोन गर न के भन्नुहुन्छ” भने बिकाशले।
हुन्छ गर्छु है त एकपटक भन्दै कल्पनाले आफ्नो मामुलाई फोन गरिन।
दुई मिनेट पछाडी फोन काटियो, कल्पनाको अनुहार अली मनिल भयो।
प्रगतिले सोधिन, “के भन्नुभयो?”
“भर्खरै हस्पिटलबाट फर्कनु भएको रहेछ,
आफै कमाएर प्रकाशित गराउनु भन्दै फोन काट्नुभयो।” भनिन कल्पनाले।

करिब दुई घण्टा पछि पानी पर्न रोकियो र निष्कर्ष बिहिन भएर उनिहरु त्यहाँबाट निस्किए।
बिकाशले ” आजलाई घर जाउ र सोंच, भोलि सम्म केही विकल्प निस्किहाल्छ कि” भने।
यसरी उनिहरुको त्यो दिन बित्यो।
फर्किएपछि पनि कल्पना निराश बनेर बसिरहिन, त्यो रात कल्पनालाई निद्राले छुन सकेन, भर्खर निदाउन आँटेकी उनको मोबाइलमा एउटा म्यासेज आयो। त्यसको केहिबेरमा उनको मामुको फोन आयो।
उठाएर कुरा गरिन।
रातभर निराश बनेर बसेकी कल्पनाको मुहारमा एकाएक छुट्टै चमक आएको थियो।
उताबाट आवाज आएको थियो, ” बुबालाइ थाहा छैन, अलि होसियार भएर चल्नु।”
फोन राखेपछी कल्पनाले मोबाइलको म्यासेज हेरिन। उनको खातामा चार लाख आएको थियो।

हतारिदै बिकाश र प्रगतीलाई फोन गरिन उनिहरुको फोन उठेन।
त्यसपछि केही बेरमा उनलाई पनि निद्राले छोप्यो। करिब ८ बजे तिर मोबाइलको घण्टीले जगायो,
बिकाशको फोन रहेछ, उनले पैसाको सबै कुरा बताइन। दिउँसो प्रकाशक कहाँ जाने कुरा भयो।
उहि तीन जाना कल्पना, बिकाश र प्रगती भएर त्यो दिन पुतलीसडक तर्फ ”रत्न बुक पब्लिकेसन्स” मा गए।
त्यहाँ कुराकानी गरेर, अन्तत: त्यहिँबाट पुस्तक प्रकाशन गर्ने तय भयो।
एक महिना पछिको कुरा हो, कल्पनालाई प्रमोद यादवको फोन आयो, “ए, हस हस सर, म दिउसो सम्म आइहाल्छु” भन्दै फोन राखीन।
दिउसो करिब एघार बजेतिर उनी त्यहाँ पुगिन।
प्रमोद यादव ‘रत्न बुक पब्लिकेसन्स’ का प्रबन्धकले उनलाई बधाई दिँदै भने, “ल कल्पना जी, पुस्तकले राम्रो मार्केट लिगोस, शुभकामना छ।”
उनिहरुबिच धेरै कुराकानी भए।
त्यसपछि, पुस्तक बिमोचनाको कुराहरु भयो र उनी त्यहाँबाट निस्किन।

बाहिर आएपछि बिकाशलाई फोन गरिन। त्यो दिन बिकाशको अलि ब्यस्तताले गर्दा फोन मै सबै कुराकानी भए। फोन राख्नु अघि बिकाशले भने, “प्रगतिलाई बोलाएर आज अतिथीलाई भेटघाट गर्न जाउ, समय मिलेमा म साँझ भेट्नेछु तिमिलाई।”
“हुन्छ बिकाश” भन्दै फोन राखीन।
पुतलीसडक बाट बाटोमा हिँडिरहेकी थिइन, अचानक कोहि केटा मान्छेको आवाज आयो पछाडिबाट, “कल्पना, कल्पना….”
टाउको पछाडि घुमाउँदा हातमा हेल्मेट र मुखमा मास्क चस्मा लगाएको एकजाना केटालाई देख्छिन।
‘हजुर’ भन्न नपाउँदै उक्त केटाले मास्क निकाल्छन। कल्पनाको आँखा अगाडी ‘प्रदिप खनाल’ हुन्छन।
केही नबोली उनी आफ्नो गति लिन्छिन, तर प्रदिपले भने पिछा गर्न छाड्दैनन। बागबजार चोकमा पुगेर पछाडी हेर्छिन, उनको पछाडी पछाडी प्रदिपले बोलाउँदै आएको देखेर उनले चोकमा बसेको पुलिसलाई “उक्त केटालाई आफुले नचिनेको र पिछा गरिरहेको” बताउँछिन।
पुलिसले केहिबेर प्रदिपलाई रोकेर सोधपुछ गर्छन, कल्पना भने आफ्नो बाटो लाग्छिन।
हिँडिरहेको बेला अचानक उनको फोनको घण्टी बज्छ, गर्मी र प्रदिपलाई देखेर रिसाएकी उनले फोन उठाउँदिनन।
तर, लगातार फोन आइरहेपछी उठाएर “हेल्लो” भन्छिन।
हिँडिरहेको उनको पाईला एक्कासि रोकिन्छ र आँखाबाट आँसुको बर्षात हुन्छ।
“चक्कर लागेजस्तो महसुस हुन्छ, मान्छेहरुले उनलाई हेरिरहेका हुन्छन।”
……… …।।

क्रमशः

(दोश्रो भागको प्रतीक्षा गर्नुहोला,
यहि बैशाख १० गते साँझ ल्याउनेछु)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार